+
+

निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब नाफा कमाए, सरकारी कम्पनीको दोब्बर

विजय पराजुली विजय पराजुली
२०८० साउन ३२ गते १४:१६

३२ साउन, काठमाडौं । नेपालमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष ०७९/८० मा ५ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको नाफा ११ प्रतिशतले बढेको छ ।

व्यवसाय विस्तार उल्लेख्य रुपमा नभए पनि निर्जीवन बीमा कम्पनीहरूको नाफामा भने केही सुधार देखिएको हो । बीमा कम्पनीहरूले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनी छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा वर्ष यो कम्पनीको नाफा शतप्रतिशतले बढेको हो । कम्पनीले आव ०७९/८० मा ६८ करोड ६४ नाफा कमाएको थियो, अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३४ करोड २७ लाख मात्रै थियो ।

यस्तै नेको इन्स्योरेन्सको नाफा १.५२ प्रतिशतको सामान्य वृद्धि हुँदा ५५ करोड ३१ लाख पुगेको छ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ८५ करोड ८३ लाख रुपैयाँ छ ।

सबै निर्जीवन बीमा कम्पनीको नाफा गत आर्थिक वर्षमा बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ५६ लाखले घाटामा रहेको नेशनल इन्स्योरेन्सले पनि गत आर्थिक वर्षमा २० करोड १८ लाख नाफा कमाएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले ४० अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा खुद बीमाशुल्क १३ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क ३९ अर्ब १६ करोड ९९ लाख आर्जन गर्दा खुद बीमाशुल्क १३ अर्ब १४ करोड ९५ लाख रुपैयाँ थियो ।

गएको दुई आर्थिक वर्षमा मर्जर भएर ६ वटा निर्जीवन बीमा कम्पनीहरूको इजाजत खारेज भएको छ । मर्जर हुनुअगाडि गाभिएको एउटा कम्पनीको वित्तीय विवरण एकीकृत वित्तीय विवरणमा नदेखिने भएकाले यो तथ्यांकमा केही तलमाथि हुनसक्छ ।

आर्थिक वर्ष २०७८/७९ मा हिमालयन र एभरेष्ट इन्स्योरेन्सले मर्जर गरी एकीकृत कारोबार सुरु गरेका थिए । गत आर्थिक वर्षमा भने १० वटा बीमा कम्पनी मर्जर भई ५ वटा भएका छन् । सानिमा र जनरल इन्स्योरेन्स मर्जर भई सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी बनेको थियो । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जर भई सिद्धार्थ प्रिमियरको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्यारेन्स मर्जर हुँदा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर हुँदा आईएमई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । यस्तै युनाइटेड र अजोड इन्स्योरेन्स मर्जर भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

गत आर्थिक वर्षमा अर्थमन्त्रीमा देखिएको मन्दीको प्रभाव निर्जीवन बीमामा पनि देखिएको सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय बताउँछन् । गत आर्थिक वर्षमा इन्जिनियरिङ बीमाको प्रिमियम संकलन केही वृद्धि भए पनि अन्य क्षेत्रमा खासै बढ्न नसकेको उनले बताए ।

बीमा कम्पनीहरूको कुल शुल्क संकलनमा एक तिहाई हिस्सा रहेको मोटर बीमा र २२.४० प्रतिशत हिस्सा रहेको सम्पत्ति बीमा लेखबाट संकलन हुने प्रिमियम खासै बढेन नसकेको उनले बताए । करिब १८ प्रतिशत हिस्सा रहेको इन्जिनियरिङतर्फको बीमालेखबाट संकलन हुने प्रिमियम भने उल्लेख्य वृद्धि भएको उनले बताए ।

कुल बीमाशुल्कमा शिखर र खुद बीमा शुल्कमा नेको अगाडि

गत आर्थिक वर्षम निर्जीवन बीमा कम्पनीले ४० अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्दा शिखर इन्स्योरेन्सले ५ अर्ब ३१ करोड ६१ लाख बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५८ करोड २० लाख बीमाशुल्क आर्जन गरेको छ भने मर्जर भएको अर्को बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।


यस्तै मर्जर भएकै युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ, आईएमई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ३८ करोड ७८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ३५ करोड ४१ लाख र नेको इन्स्योरेन्सको कुल बीमाशुल्क २ अर्ब ९२ करोड २४ लाख छ ।

गत आर्थिक वर्षमा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्सको १ अर्ब १ करोड ९० लाख मात्रै रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरूले गर्ने बीमामा जोखिम धेरै हुने भएकाले उनीहरूले आफूले धान्न नसक्ने जोखिम पुनर्बीमा कम्पनीलाई ट्रान्सफर गर्छन् भने थोरै मात्रै आफूमा राख्ने गर्दछन् । जोखिम ट्रान्सफर गरेर आफूमा राख्ने खुद बीमाशुल्क भने कुल बीमाशुल्कको तुलनामा कम हुने गर्दछ ।

गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले १३ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दा सबैभन्दा धेरै खुद बीमाशुल्क नेको इन्स्योरेन्सको छ । कम्पनीले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नेकोपछि शिखर इन्स्योरेन्सले १ अर्ब ५९ करोड २१ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ । सबैभन्दा कम खुद बीमाशुल्क सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको ३१ करोड ४ लाख रुपैयाँ छ । कम्पनीले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको तथा कोष ठुलो हुँदा त्यसबाट आउने प्रतिफलले गर्दा गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाएको हो ।

कम्पनीले कति नाफा कमायो भन्दा पनि कम्पनीले सेयरधनीलाई दिनसक्ने प्रतिफल कति हुनसक्छ भन्ने हेर्नुपर्ने हुन्छ । कुुनै कम्पनीको पूँजी धेरै भएर पनि नाफा बढी र कुनै कम्पनीको पूँजी बढी भएर पनि नाफा कम हुुनसक्छ ।

कम्पनीको प्रतिसेयर आम्दानीले उक्त कम्पनीले दिनसक्ने सम्भावित प्रतिफल आकलन गर्न सकिन्छ । प्रतिसेयर आम्दानी राम्रो भएको कम्पनीले धेरै लाभांश दिनसक्ने सम्भावना रहन्छ । पछिल्लो एक दशकमा लेखापरीक्षण हुन नसकेको र लाभांश पनि नबाँडेको राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षमा सबैभन्दा धेरै ३४३ रुपैयाँ २५ पैसा प्रतिसेयर आम्दानी छ । यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३६ पैसा छ ।

यस्तै, नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र नेपाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी युनाइटेड अजोर इन्स्योरेन्सको १० रुपैयाँ ६१ पैसा मात्रै छ ।

दि ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स विदेशी कम्पनीको रुपमा नेपालमा शाखा स्थापना गरेर कारोबार गरिरहेका छन् । यी कम्पनी नेपालमा सूचीकृत छैनन् ।

सम्पत्ति र मोटर बीमाले धानेको निर्जीवन व्यवसाय

गत आर्थिक वर्षमा ४० अर्ब कुल बीमाशुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय भने मोटर बीमा र सम्पत्ति बीमाले धानेको देखिन्छ ।

गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्कमा मोटर बीमाको हिस्सा ३३.०८ प्रतिशत छ । १३ अर्ब ३० करोड ३६ लाख रुपैयाँ बीमाशुल्क मोटर बीमाबाट मात्रै संकलन गरेका हुन् ।

सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ भने किस्तामा गाडी किन्दा बीमा अनिवार्य हुने भएकोले निर्जीवन बीमा कम्पनीको व्यवसाय पनि त्यसैले धानेको देखिन्छ । यस्तै, सम्पत्ति बीमाको हिस्सा २२.४० प्रतिशत रहेको छ ।

कम्पनीहरु सम्पत्ति बीमाबाट ८ अर्ब ७५ लाख बीमाशुल्क संकलन गरेका छन् । इन्जिनियरिङ तथा ठेक्का बीमाको हिस्सा १७.८३ प्रतिशत हुँदा ७ अर्ब १७ करोड १५ लाख बीमाशुल्क संकलन गरेको छन् ।

विविध बीमालेखबाट ४ अर्ब ४० करोड ६८ लाख, कृषि तथा बाली बीमालेखबाट २ अर्ब ३५ करोड, सामुन्द्रिक बीमालेखबाट १ अर्ब ९८ करोड २६ लाख र हवाई बीमालेखबाट १ अर्ब ९२ करोड ३ लाख बीमाशुल्क संकलन गरेका हुन् । लघु बीमालेखबाट ६ करोड ९९ लाख बीमाशुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

दुई तिहाइ व्यवसाय बागमतीमा

निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्कमध्ये दुई तिहाइभन्दा धेरै बाग्मती प्रदेशबाट नै संकलन हुने गरेको देखिएको छ ।

गत आर्थिक वर्षमा कुल बीमाशुल्क संकलनमध्ये ६७.३० प्रतिशत अर्थात् २७ अर्ब ६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन भएको हो । यस्तै ८.७५ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन लुम्बिनी प्रदेशबाट भएको छ ।

८.६२ प्रतिशत अथात् ३ अर्ब ४६ करोड ६३ लाख बीमाशुल्क कोसी प्रदेशबाट संकलन हुँदा मधेश प्रदेशबाट ६.१३ प्रतिशत अर्थात् २ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । गण्डकी प्रदेशमा ५.३६ प्रतिशत अर्थात् २ अर्ब १५ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन हुँदा सुदूरपश्चिम प्रदेशमा २.५१ प्रतिशत अर्थात् १ अर्ब ९६ लाख र कर्णाली प्रदेशमा सबैभन्दा कम १.३२ प्रतिशतले हुने ५३ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको हो ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?