+
+

सेलिब्रेटी छैनन् सेलिब्रेटी जस्ता

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८० साउन ३२ गते १७:०५

चलचित्र ‘छड्के २’ डुब्दा निर्माताको मात्र खल्ती रित्तिएन, अनमोल केसीको बचेखुचेको स्टारडम पनि धरापमा पर्‍यो ।

हल्ला के थियो भने, उक्त फिल्मका लागि अनमोलले ५० लाख पारिश्रमिक लिए । तर, ठूलै हल्लाखल्ला गरेर चलाएको फिल्म हेर्न दर्शक नै आएनन् । हल रित्तो भयो । आखिरमा अनमोलले फेसबुकमा आत्मआलोचना गर्दै लेखे, ‘मलाई थाहा छ मैले छड्के २ मार्फत मलाई माया गर्ने दर्शकलाई निराश बनाएँ । जुन दर्शकको साथको कारण म यहाँसम्म आईपुगें, उहाँहरुलाई नै निराश गराउँदा म एकदमै दुःखी छु ।’

अनमोलका लागि यो एउटा विर्सनलायक फिल्म थियो । जबकि उनले सुरुमा सही फिल्म छनौट गर्न सकेको भए यसरी पछुतो गर्नुपर्ने अवस्था आउँदैनथ्यो ।

अनमोल मात्र होइन, अरु नायक-नायिकाको हालत पनि करिब यस्तै छ । जस्तो पायो त्यस्तै सिनेमा खेल्नका लागि हतारिने प्रवृत्तिले उनीहरुलाई मात्र डुबाइरहेको छैन, समग्र नेपाली फिल्म उद्योगलाई नै पोलियोग्रस्त बनाउँदैछ ।

कस्तो फिल्म खेल्ने र कस्तो नखेल्ने भन्ने कुरामा हाम्रा कलाकारहरु दह्रो निर्णय गर्न सक्दैनन् । फिल्म निर्माण गर्नेहरु कति सक्षम र सिर्जनशिल टिम हो ? त्यसको सोधीखोजी गर्ने ढंग र परिपाटी छैन । परिणामतः उनीहरु फिल्मबारे गतिलो काम नगरेका र गर्न नसक्नेहरुको घेरामा छिर्न पुग्छन् । किनभने यहाँ फिल्म जसरी पनि बनाउन सकिन्छ, जस्तो पनि बनाउन सकिन्छ भनेर हचुवाको भरमा लागेकाहरु बग्रेल्ती छन् ।  उनीहरु भनिरहेका हुन्छन्, ‘यो कथामा फिल्म बनाएपछि बबाल हुन्छ । यस्ता कलाकार राखेपछि आगो बाल्छ । यसरी फिल्म प्रचार गरेपछि दर्शकको ओइरो लाग्छ ।’

यस्तै गफको पछि लागेर हाम्रा सेलिब्रेटीहरु यस्ता सिनेमामा आवद्ध भइरहेका छन्, जसले उनीहरुको बचेखुचेको क्रेज पनि दाउमा राखिदिएको छ ।

‘छड्के २’ को असफलतापछि अनमोलको स्विकारोक्ती थियो, ‘एक्सन जनरामा अहिले नै हामफाल्नु ठीक थिएन ।’

रामजी ज्ञवाली

कुनैबेला दयाहाङ राईसमेतले सिनेमा छनौट गर्न नसक्दा आफु फन्दामा परेको स्विकारेका थिए । लुट, कवड्डी जस्ता सिनेमामा जोडदार भूमिका निर्वाह गरेपछि उनको क्रेज एकाएक उकासिएको थियो । तर, धेरैलाई के लाग्यो भने आफ्नो फिल्ममा दयाहाङ राईको अनुहार देखाउनसाथ दर्शकको घुँइचो लाग्छ । सुरुमा त केही दर्शक यसरी नै झुक्किए पनि । तर एकपछि अर्को कमसल फिल्ममा देखिन थालेपछि दर्शकहरु दयाहाङको फिल्म पनि अन्धधुन्ध हेर्न हुन्न भन्ने टुंगोमा पुगे ।

संघर्षको चरणमा त कलाकारले जस्तोसुकै फिल्म खेल्नुपर्ने बाध्यता पनि हो । किनभने त्यसबेला उनीहरुसँग छानीछानी फिल्म खेल्ने मौका नै हुँदैन । तर, एकाध फिल्मबाट आफ्नो करियर उचाईमा पुर्‍याएपछि भने उनीहरुप्रति दर्शकको अपेक्षा बढ्छ । उनीहरुको आफ्नै बलबूतोले आर्जन गरेको क्रेजले बजारमा माग पनि बढाइदिन्छ । तर, आफ्नो माग बढ्यो भन्दैमा जुन पायो त्यही फिल्म खेल्ने हतारोले उनीहरुलाई ‘सस्तो’ बनाइदिन्छ ।

हुन त करियरको उत्कर्षमा पुगेको बेला सेलिब्रेटीहरुलाई कुन फिल्म उपयुक्त भनी छनौट गर्ने फुर्सद र धैर्यता पनि हुँदैन । त्यसबेला उनीहरुको मनोविज्ञान के हुन्छ भने, आफुले जस्तो फिल्म खेलेपनि चल्छ । नचलेपनि द्रव्यलाभ मिल्छ ।

कस्तो फिल्ममा खेल्ने भनेर टुंगो गर्नका लागि त्यसका निर्माण पक्ष, व्यानर, निर्देशकको विगत केलाउनुपर्ने हुन्छ । त्यो भन्दा महत्वपूर्ण त स्क्रिप्ट हेर्नुपर्ने हुन्छ । तर, ससर्ती स्क्रिप्ट हेर्ने, त्यसलाई विश्लेषण गर्ने, आफुले निर्वाह गर्नुपर्ने चरित्रबारे अध्ययन गर्ने प्रवृत्ति प्राय देखिदैन । किनभने यसका लागि उनीहरु एक्लो निर्णय पनि त्यती सहज नहुन सक्छ । बरु आफ्ना सहयोगी वा भनौं म्यानेजरमार्फत यस्तो कामहरु छरितो ढंगले गराउन सक्छन् ।

हुन त अहिले हाम्रा कतिपय सेलिब्रेटीले निजी सहयोगी राखेका पाइन्छन् । राजेश हमालदेखि अनमोल केसीसम्मका अघि-पछि यस्ता सहयोगी देख्ने गरिन्छ । तर, उनीहरुबाट पनि सेलिब्रेटीले परिपक्क काम वा निर्णय लिन सकिरहेको छैन ।

यी सेलिब्रेटीहरु कहाँ जान्छन्, के गर्छन्, कसरी बोल्छन् भन्ने कुराले उनीहरु कति अव्यवस्थित र अपरिपक्क छन् भन्ने छर्लङ्ग हुन्छ । माछा पसल उद्घाटन गर्न तडकभडकसाथ पुग्नेदेखि आफ्नै अनुहारमा लोप्पा खुवाउने खालको अन्तर्वार्ता दिनेसम्मको हर्कतले उनीहरु कति अपरिपक्क छन् भन्ने देखिन्छ ।

कहाँ जाने, कहाँ नजाने, के गर्ने, के नगर्ने, के बोल्ने, के नबोल्ने भन्ने कुरामा हेक्का नपुग्दा सेलिब्रेटीहरुले ‘सेलिब्रेटी’कै मजाक उडाइरहेका छन् । हाम्रा सेलिब्रेटी कतिसम्म टिठलाग्दो छ भने उनीहरु मिडिया छनौट र कार्यक्रमको प्रकृति पनि बुझ्न सक्ने सामन्य ज्ञान देखिदैन । कुन मिडिया जिम्मेवार, जवाफदेही र संस्थागत हो ? कुन मिडिया हचुवा र भाइरलको सिकारी हो भनेर भेद छुट्याउन सकिरहेका हुँदैनन् । त्यसैले क्यामेरा र बुम देखेपछि गर्ने-नगर्ने कुरा गर्छन् र पछि आफै लाज पचाउन बाध्य हुन्छन् ।

जवाफदेही र संस्थागत मिडियालाई यस्तो काम गर्न छुट हुँदैन कि, जसले सेलिब्रेटीको धज्जी उडाओस् । किनभने त्यस्ता मिडियामा आएका सामाग्री छनौट गर्नेदेखि सम्पादन गर्नेसम्मको दक्ष टिम नै हुन्छ । र, भोलिका दिनमा कुनै झमेला आएमा के गर्ने भन्ने कुराको जवाफदेही हुन्छ ।

तर, मिडिया र पापराजीबीचको भेद छुट्याउन नसक्दा सेलिब्रेटीहरु कहिले विवादित बन्छन् भने कहिले जोकर ।

स्विकार्नुपर्छ कि एउटा सेलिब्रेटी बन्न चानचुने संघर्ष र प्रयासले पुग्दैन । उनीहरु जुन ठाउँमा छन्, त्यहाँसम्म पुग्नुका लागि पक्कै पनि कठिन बाटो छिचोलका छन् । कडा संघर्ष र लगावले उनीहरुलाई राम्रै चिनारी पनि दिलाएको छ । तर, त्यो चिनारी प्राप्त भइसकेपछि कसरी आफुलाई व्यवस्थित गर्ने भन्ने कुरामा सचेत हुन जरुरी छ । कतिपय विवादबाट टाढा रहन र हाँसोको पात्र बन्नबाट बच्नका लागि उनीहरुले आफुलाई व्यवस्थित बनाउनुपर्नेछ ।

केही समयअघि एक नायकको ‘काण्ड’ पनि सबैका लागि पाठ हुनसक्छ, कसरी खराब झुन्डमा मिसियो भने अन्ततः त्यसले आफैलाई ध्वस्त गर्छ भन्ने । हाहा–हुहुकै भरमा रमाउने हो भने त केही भन्न सकिदैन । तर, सचेत र जिम्मेवारपूर्वक फिल्मी कर्ममा लाग्ने हो भने उनीहरुले आफ्नो करियरका लागि सही टिमको छनौट गर्न सक्नुपर्छ । सक्नुपर्छ मात्र होइन जरुरी पनि छ ।

यस्तो टिम, जसले उनीहरुलाई सही ढंगले अगाडि बढ्नका लागि सकारात्मक र रचनात्मक सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?