+
+

शिक्षक सरुवा सहमतिमा पालुङटारले विभेद गरेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १६:२२

३ भदौ, काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाले शिक्षक सरुवाको सहमति दिन विभेद गरेको एक शिक्षकले गुनासो गरेका छन् । पालुङटारबाट चितवनको भरतपुर महानगरपालिकामा सरुवा हुन चाहेकी शिक्षक विमला गिरीले आफूलाई सरुवा सहमति नदिएको गुनासो गरेकी छन् ।

‘पालिकाले इकाइ (शिक्षा विकास तथा समन्वय इकाइ) लाई पठाएको पत्रमा बोधार्थसमेत दिन मिल्दैन भन्नुहुन्छ, तर यस अघिकालाई दिइसक्नुभएको छ । कसैलाई दिन मिल्ने, कसैलाई नमिल्ने हुन्छ र ?’ उनले प्रश्न गरिन् ।

सरुवा भई जान भरतपुर महानगरपालिकाको विद्यालयबाट सहमति लिइसकेको तर पालुङटारले सहमति नदिएपछि शिक्षक गिरी समस्यामा परेकी छन् ।

भरतपुर महानगरपालिकाको शिक्षा ऐनमा आफ्नो पालिकामा सरुवा भई आउने शिक्षकले सम्बन्धित पालिकाबाट सहमति लिनुपर्ने व्यवस्था गरेको छ । पालुङटारले पनि यसअघि भरतपुर नै सरुवा भएका शिक्षकलाई सहमति दिएको तर आफूलाई विभेद गरेको शिक्षक गिरीको गुनासो छ ।

पालुङटारले भरतपुर महानगरपालिकामा सरुवा भई जाने एक शिक्षकको लागि ९ साउनमा शिक्षा विकास तथा समन्वय इकाईमा सहमति पत्र पठाउँदै भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखालाई बोधार्थ उल्लेख गरेको थियो । तर पालुङटारका शिक्षा शाखा प्रमुख माधव पोखरेल भन्छन्, ‘यसअघि के भयो त्यो थाहा भएन तर अब म केही गर्न सक्दिनँ ।’

यसअघि पालुङटारले इकाइलाई पठाएको सहमति पत्रमा शाखा अधिकृत पोखरेलकै हस्ताक्षर छ । तर अहिले शिक्षा ऐनले सरुवा सहमति दिने अधिकार शिक्षा विकास तथा समन्वय इकाइलाई रहेको उनले दाबी गरे ।

भरतपुर महानगरपालिकाले पालुङटार नगरपालिकाबाट सरुवा भई आउने शिक्षकलाई पालिकाको पत्र अथवा पालिकाले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाउने सहमति पत्रमा पालिकालाई बोधार्थ उल्लेख गरेको पत्र ल्याउन भनेको थियो ।

सोही अनुसार एक शिक्षकले पालुङटार नगरपालिकाले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको सहमति पत्रमा पालिकालाई बोधार्थ उल्लेख गरेको पत्र लिएर आएपछि पालिकाले सरुवा भई आउने सहमति दिएको जनाएको छ ।

यसअघि पालुङटारले इकाईलाई पठाएको सरुवा सहमति पत्रमा महानगर शैक्षिक महाशाखालाई बोधार्थ उल्लेख गरेको आधारमा शिक्षक सरुवा भई आएको सहमति पत्र बुझेको भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका उप-सचिव महेन्द्रप्रसाद पौडेलले बताए ।

उनले भने ‘पालिकाले व्यक्ति अनुसार कसैलाई दिने कसैलाई नदिने दोहोरो व्यवस्था त हुँदैन होला ?’ भरतपुरले पालिकाको शिक्षा ऐन अनुसार सरुवा भई आउने शिक्षक सबैलाई पालिकाको सहमति पत्र अथवा महानगरलाई बोधार्थ गरिएको पत्र अनिवार्य गरेको छ ।

पालुङटारले व्यक्ति अनुसार व्यवहार गर्दा आफू समस्यामा परेको शिक्षक गिरीको भनाइ छ । पालुङटार नगरपालिकाकी उपमेयर बन्दना पाण्डेले यो विषयमा जानकार नभएको तर कानुन सबैलाई समान रुपमा लागु हुने प्रतिक्रिया दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?