+
+

४०० करोड भारुको दौडमा ‘गदर २’, ‘ओएमजी २’ पुग्यो करोड क्लबमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १८:०१

काठमाडौं । फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा शनिबार उछाल कमाइ गरेको छ । शनिबार फिल्मले ३१.०७ करोड भारु कमायो । यो आँकडा आफैंमा ऐतिहासिक हो । नौ दिनमा फिल्मको कमाइ ३३६.२० करोड भारु पुगेको छ ।

करिब ७० देखि ८० करोड भारुमा बनेको यो फिल्म अब ४०० करोड क्लबमा सामेल हुने तयारीमा छ । अर्कोतर्फ, अक्षय कुमार स्टारर ‘ओएमजी २’ ले बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको छ । फिल्मले शनिबार १०.५३ करोड भारु कमायो । यो फिल्मको कुल कलेक्सन १०१.६१ भारु पुगेको छ ।

‘गदर २’ ले दिनहुँ नयाँ कीर्तिमान बनाइरहेको छ । यो फिल्म दोस्रो शनिबार सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसअघि यो कीर्तिमान ‘बाहुबली २’ को नाममा थियो । ‘बाहुबली २’ को हिन्दी संस्करणले रिलिजको दोस्रो शनिबार २६.५ करोड भारु कमाएको छ ।

‘कश्मीर फाइल्स’ २४.८ करोड भारुको साथ दोस्रो नम्बरमा थियो । ‘पठान’ २२ करोड भारु कलेक्सनका साथ तेस्रो नम्बरमा थियो । अब ‘गदर २’ (३१.०७ करोड) यो सूचीमा पहिलो नम्बरमा आएको छ ।

‘गदर २’ शुक्रबार नै ३०० करोड क्लबमा सामेल भएको थियो । यसले अब ऋतिक रोशनको ‘वार’ र सलमान खानको ‘बजरंगी भाइजान’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ । आइतबार ‘गदर२’ ले टाइगर जिन्दा हे, पीके र सञ्जु जस्ता फिल्मलाई ठूलो अन्तरले पछाडि छोड्नेछ ।

हिन्दी फिल्म इतिहासमा ११ फिल्मले मात्र ३०० करोड कमाउन सफल भएका छन् । ‘गदर २’ यस्तो कमाइ गर्ने १२ औं फिल्म हो । ‘पठान’ ५४३.०५ करोड भारुसहित सूचीको शीर्षस्थानमा छ । ‘बाहुबली २’ र ‘केजीएफ २’ को हिन्दी संस्करण दोस्रो र तेस्रो नम्बरमा छन् । ‘गदर २’ ले जसरी कमाइ गरिरहेको छ, त्यसअनुसार यो सूचीमा फिल्म शीर्ष तीनमा पुग्ने सम्भावना छ ।

सामाजिक सञ्जालका केही विज्ञले ‘गदर २’ पठानको रेकर्डसम्म पुग्न सक्ने अनुमान गरेका छन् । यो गाह्रो छ, तर असम्भव छैन । विशेष कुरा के छ भने पठान सोलो रिलिज भएको हो । यसबाहेक यसको स्क्रिन काउन्ट पनि गदर २ भन्दा बढी थियो । यति हुँदाहुँदै पनि गदर २ पठानको नजिक पुग्यो भने त्यो आफैंमा ऐतिहासिक हुनेछ ।

‘गदर २’ विदेशमा पनि राम्रो चलिरहेको छ । इन्डस्ट्री ट्रयाकर सक्निल्कका अनुसार फिल्मले विश्वभर ४०० करोड भारुभन्दा बढीको व्यापार गरेको छ । फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो व्यापार गरिरहेको छ ।

‘गदर २’ सँग भारी टक्कर भए पनि ‘ओएमजी २’ ले १०० करोड भारु कमाउन सफल भएको छ । शुक्रबारको तुलनामा शनिबार फिल्मको कलेक्सन ५० प्रतिशतले बढेको छ । फिल्मको कुल कलेक्सन १०१.६१ भारु छ । आइतबार पनि फिल्मले १० करोडभन्दा बढी कमाउन सक्छ ।

विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने ‘ओएमजी २’ फिल्मले १२९ करोड भारु कमाएको छ । फिल्मले विदेशी बक्स अफिसबाट मात्र २८ करोड भारु कलेक्सन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?