+
+

चुहानडाँडा विमानस्थलको लागत १ अर्ब

अच्युत पुरी अच्युत पुरी
२०८० भदौ ३ गते १८:२८

३ भदौ, काठमाडौं । १५ फागुन २०७५ सालको हेलिकप्टर दुर्घटनासँग जोडिएको तेह्रथुम जिल्लास्थित चुहानडाँडा विमानस्थल बनाउन १ अर्ब रुपैयाँ लाग्ने भएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकप्टर यो आयोजनाको सम्भाव्यता अध्ययनका सिलसिलामा चुहानडाँडामा रोकिएको थियो । सो स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ताप्लेजुङको पाथीभरा दर्शन गरेर काठमाडौं फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा अधिकारी र यती एअरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पासहित ६ जनाको निधन भएको थियो ।

घटना भएको ५ वर्षपछि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्‍कन प्रतिवेदन तयार भएको छ, जसअनुसार  यो विमानस्थलको कुल लागत १ अर्ब रुपैयाँ रहनेछ ।

तेह्रथुम जिल्लाको अठराइ गाउँपालिका– ६ थुम्कीस्थित चुहानडाँडामा यो आयोजना बन्ने विमानस्थलले मुख्यगरी तेह्रथुम जिल्लाका अतिरिक्त पाँचथर जिल्लाको सदरमुकाम फिदिम क्षेत्रलाई सेवा पुर्‍याउँछ ।

समुद्र सतहबाट १४५० मिटर उचाइमा रहेको यो विमानस्थलमा ६४० मिटर लामो र २० मिटर चौडा धावनमार्ग बन्ने भएको छ । ३० मिटर लम्बाइ र १५ मिटर चौडाइको ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन, स्टाफ क्वार्टर, पार्किङसहितका संरचना यस आयोजनामा बन्ने भएको छ ।

यहाँ ११ हेक्टर जमिनमा विमानस्थल बन्ने प्रतिवेदनमा उल्लेख छ । यो विमानस्थलमा ट्वीनअटर तथा सो सरहका साना जहाज मात्र उडान–अवतरण गर्ने सक्नेछन् । एकपटकमा दुईवटा जहाज पार्किङ गर्नसक्ने क्षमताको पार्किङ बन्ने यो विमानस्थलले एक पटकमा ५४ जना यात्रुलाई सेवा दिन सक्नेछ ।

आयोजनाका दौरान २१ वटा संरचना हटाउनुपर्ने देखिएको छ । यो क्षेत्रको खेतीयोग्य जमिन, आवास क्षेत्र र निजी क्षेत्र अधिग्रहण गरी आयोजना निर्माण हुने प्रतिवेदनले जनाएको छ । यस भेगको धेरै खतीयोग्य जमिन अहिले बाँझो रहेको बताइएको छ । आयोजनाका लागि सामुदायिक वनबाट २४ र पोल आकारका २८६ गरी ३१० वटा रुख काट्नुपर्ने छ । जग्गा अधिग्रहणका लागि १ करोड ७ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान छ । आवाससहितका संरचनाको क्षतिपूर्तिका लागि २१ लाख १० हजार रुपैयाँ बजेट अनुमान गरिएको छ । आयोजना स्थलमा रहेको शिवमन्दिरको स्थानान्तरण, पुनर्निर्माण र चिहान व्यवस्थापनमा ५ लाख बजेट अनुमान गरिएको छ ।

वर्षैभरि जहाज चल्ने

वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनअनुसार मौसम अनुकूल हुने हुँदा चुहानडाँडा विमानस्थलमा वर्षैभरि जहाज चल्ने देखिएको छ । त्यसबाट सो भेगको व्यापार, पर्यटन, सञ्चार र यातायात सुविधा बढ्ने प्रतिवेदनमा उल्लेख छ । आयोजनाबाट स्थानीयको जीवनस्तर उकास्ने र सो भेगको आर्थिक उन्नति हुने समेत प्रतिवेदनको निष्कर्ष छ ।

यस भेगबाट नजिकको विमानस्थल ताप्लेजुङको सुकेटार विमानस्थल हो । यहाँ मौसम प्रतिकूल हुँदा वर्षैभरि जहाज चल्दैनन् । त्यसैले यो विमानस्थल पाँचथर, ताप्लेजुङ र तेह्रथुम दुवै जिल्लाका लागि हवाई मार्गको विकल्प हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रस्तावित यो विमानस्थलबाट सुकेटार ११ नटिकल माइल, चन्द्रगढी ४१ नटिकल माइल, विराटनगर ४७ नटिकल माइल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२९ नटिकल माइलमा रहेका छन् ।

यो विमानस्थल आयोजना नजिक पुष्पलाल राजमार्ग छ । सो राजमार्गबाट ४ सय मिटर लम्बाइको कच्ची सडकबाट आयोजनास्थल पुगिन्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?