+
+

पृथ्वीचोकमा पृथ्वीनारायणको सालिक राख्न माग गर्दै नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १८:१९

४ भदौ, पोखरा । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै एक समूहले पोखरा महानगरपालिका कार्यालय अगाडि आइतबार नाराबाजी गरेको छ ।

‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक सभागृह चोक हुँदै महानगर पुगेर मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह गरेको छ ।

साउन २४ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन पृथ्वीचोकमा रहेको लखन थापाको मुनि रहेको पृथ्वीनारायण शाहको प्रतिमा एक समूहले हटाइदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र पृथ्वीनारायण शाहका समर्थक आक्रोशित बनेका हुन् ।

सोही दिनदेखि पृथ्वीचोकमा लखन थापाको नभई पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले बलजफ्ती महानगरले नै प्रतिमा हटाइदिएको आरोप लगाउँदै आएका छन् ।

पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक २ वर्षअघि नै जामुनबोटमा अनावरणमेत भइसकेको छ । पृथ्वीचोकमा रहेको लखन थापासहित महानगरभित्रका सबै सालिक एक महिनाभित्र जामुनबोटमा स्थानान्तरण गरिसक्ने महानगरले जनाएको छ ।

‘प्रथम शहीद लखन थापाको सालिकसँगै रहेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्वीर तत्कालका लागि सुरक्षित साथ महानगरमा राख्ने र लखन थापाको सालिकसहित सडकमा रहेका सालिकहरूलाई एक महिना भित्र व्यवस्थापन/स्थानान्तरण गर्न राजनीतिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय तथा छलफल अघि बढाउने निर्णय भएको महानगरपालिका स्मरण गराउँदछ’, महानगरले एक विज्ञप्तिमार्फत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?