+
+

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउँदै महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १७:२८
फाइल तस्वीर

४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विरोधका बीच दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौं महानगर भित्र नयाँ बसपार्कबाट एकद्वार रुपमा मात्रै टिक काउन्टर सञ्चालन गर्ने नीति लिएपछि धमाधम महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाइरहेको हो ।

यसअघि महानगरपालिकाकाले २६ साउनमा सूचना जारी गरेर जथाभावी रुपमा सञ्चालित काउण्टर हटाउन भनेको थियो । सोही सूचना अनुसार १ भदौदेखि टिकट काउण्टर हटाएको हो ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोंगबु क्षेत्रमा ११ अनधिकृत रुपमा चलेका काउण्टर हटिसकेको छ । कलंकी र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउण्टर हटाउन सुरु गरिएको पाण्डेले बताए ।

महानगर प्रहरीले चावहिलमा अनधिकृत रुपमा निर्माण गरिएका १० वटा काउण्टरमा डोजर समेत चलाएको थियो ।

यसअघि १ असारदेखि विना दर्ता सञ्चालित काउण्टर बन्द गर्न भनेपनि पूर्ण रुपमा बन्द नभएपछि महानगरले दोस्रो पटक १ भदौदेखि बन्द गर्ने अभियान थालेको थियो ।

टिकट बुकिङ कार्यालय सडक चोकको एक सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयअन्तर्गत मुख्य कार्यालय गोंगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि कार्यालय खोल्न नपाउने महानगरले जनाएको छ ।

बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती, यात्रु बस्ने)लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्नेलगायत व्यवस्था गरेको छ ।

काउण्टरवालाको विरोध

यात्रुहरुलाई सडकबाट नै गाडी चलाउनको लागि काउण्टर चलाउनेहरुले महानगरको कदमको विरोध गरेका छन् । दर्ता नभएका काउण्टर राखेको टहरा हटाउन डोजर सहित पुगेको महानगरको टोलीमाथि टिकट काउण्टरका कर्मचारीहरु विरोधमा उत्रेका हुन् ।

उनीहरुले आफ्नो सहमति विना नै बस सञ्चालकहरुले काउण्टर हटाउने निर्णय गरेकोले अमान्य हुने बताएपनि महानगरले बल प्रयोग गरेर काउण्टर हटाएको हो ।

‘हामी वडाका जनप्रतिनिधि र महानगरका कर्मचारी सहित गएका छौं, बस सञ्चालकहरु बसपार्कबाट मात्रै बस चलाउन राजी भइसकेको अवस्थामा विना दर्ता काउण्टर चलाउनेले विरोध गरेर केही हुँदैन,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।

काठमाडौं भित्रिने र बाहिरिने लामो दुरीका सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाउने गरी महानगरले २९ वैशाखमा महानगरपालिका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ निर्णय गरेको थियो । उक्त निर्णय अनुसार १ साउनदेखि लामो दुरीका बसले नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न नपाइने नियम छ ।

महानगरका अनुसार काठमाडौंमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन् । यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता छ । सोही बैठकले महानगरभित्रका अवैध टिकट काउण्टर हटाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?