+
+

जन्मदिनमा रेखाको संकल्प : अर्को वर्ष फिल्मसँगै सरप्राइजिङ ‘उपहार’ लिएर आउँछु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १२:३८

काठमाडौं । रेखा थापासँग बहुआयामिक परिचय छन्- अभिनेत्री, नेतृ, फिल्म निर्मात्री र निर्देशक । उनै रेखा मंगलबार जन्मदिन मनाउँदैछिन् । फिल्मदेखि राजनीतिक वृत्तबाट उनलाई जन्मदिनको शुभकामना मिलिरहेको छ ।

रेखा आउँदो सातादेखि फिल्म ‘उपहार’को छायांकनमा व्यस्त हुँदैछिन् । आफ्नो ब्यानर रेखा फिल्म्सले निर्माण गर्ने यो फिल्ममा उनको पनि शीर्षमध्येको भूमिका छ । यतिबेला फिल्म, राजनीति र वैवाहिक जीवनमा व्यस्त रेखाले अनलाइनखबरसँग आफ्ना आगामी योजनाबारे गफगाफ गरेकी छन् ।

संसदीय चुनावको नतिजालाई रेखा पराजय भन्न तयार छैनन् । ‘संसदीय चुनावमा भाग लिएर मैले समाजलाई अझै नजिकबाट अध्ययन गर्ने मौका पाएँ । मान्छेलाई रेखा संसदीय चुनावमा हारी भन्ने लाग्ला, त्यो मेरो हार होइन । त्यो मेरो अध्ययनको सशक्त पाटो हो,’ उनले भनिन्, ‘समाजसँग ग्याप जुन छ त्यसलाई परिपूर्ति गर्ने पुलको रुपमा मैले लिएको छु ।’

उनले चुनावी नतिजालाई विजयको अर्को खुड्किलोको रुपमा लिएको बताइन् । ‘मान्छेले कर्म गर्न त छोड्नुहुँदैन । आत्मा, मन, मस्तिष्कमा मैले गर्नुपर्ने दायित्व देश, समाज, चलचित्र र आफैंप्रति जे छ दृढ छ । यसलाई अझै निखारेर, त्रुटिलाई सुधारेर अघि बढ्छु,’ उनी भन्छिन्, ‘हिजो चुनावमा जुन अनुभव बटुलें, यसलाई म हार मान्दिनँ । विजयको अर्को खुड्किलोको रुपमा लिएको छु । किनकि मैले चलचित्रमा पनि एउटा फिल्म फ्लप हुँदा अर्को फिल्म सुपरडुपर हिट हुन्थ्यो ।’

बर्सेनि एउटा फिल्म बनाउने पहिल्यैदेखिको योजना अनुसार आफूले ‘उपहार’ बनाउन लागेको उनले बताइन् । ‘कोरोनाकालमा दुई वर्ष ग्याप भयो । त्यतिबेला काम नगरौं भन्ने लाग्यो । ‘मालिका’पछि म छोरीका लागि बालविवाह र दहेजप्रथाविरुद्धको अभियानमा सक्रिय भएँ । त्यसपछि मेरो दुईवटा फिल्म रेडी भएर पनि कोरोना आयो । अब त्यसलाई निरन्तरता दिंदै उपहार बनाउँदैछु,’ उनी भन्छिन् ।

रेखासँग पारिवारिक योजना समेत छन् । अब अर्को वर्ष सरप्राइजिङ उपहार लिएर आउने उनको योजना छ । भन्नुको अर्थ, आउने वर्ष उनी ममी बन्ने तयारी हुन सक्छ । ‘म चाँडै नै फिल्म उपहार लिएर आउँछु । उपहारसँगै अर्को सरप्राइजिङ उपहार लिएर आउँछु । सन् २०२४ सम्ममा आइपुग्छ । पहिला मेरो उपहारलाई फ्लोरमा लान्छु, त्यहीबेला बम्पर उपहार हुन सक्छ,’ रेखा भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?