+
+

कमलामाई नेपाली फिल्मलाई मेरोतर्फबाट क्यारेक्टर उपहार : विपिन कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते ११:३४

काठमाडौं । भदौ १ गते भिन्न दुई फिल्मका पोस्टर रिलिज भए । चित्रण गरिएका कलाकार चाहिं एउटै। ‘एक भगवत् गीता’को पोस्टरमा विपिन कार्की पारालैंगिक चरित्र कमलामाईको अवतारमा थिए । ‘पशुपतिप्रसाद २’को पोस्टरमा चाहिं भष्मे डनको चरित्रमा ।

प्रायः फिल्मको पोस्टर आउने बेला हल्ला कमै हुने गर्छ तर, यी दुई फिल्मका पोस्टरले राम्रै चर्चा बटुले । विपिन कार्कीको एउटै पोस्टरले अन्य फिल्म र कलाकारलाई छायामा पारेको चर्चा पनि चल्यो ।

भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको ‘एक भगवत् गीता’ र दशैंमा रिलिज तयारीमा रहेको ‘भष्मे डन’ विपिनको लाइनअपका दुई प्रतीक्षित प्रोजेक्ट हुन् । ‘यी दुवै फिल्म मेरा लागि आशालाग्दा छन् । दुवैप्रति मेरो प्रेम छ । भष्मेडनमा नयाँ आयाम देखाउन पाएको छु । एक भगवत् गीतामा पूरै नयाँ चरित्र छ,’ कार्कीले अनलाइनखबरसँग भने ।

विशेषगरी कमलामाई पात्रलाई लिएर विपिन उत्साहित सुनिए । ‘यो क्यारेक्टर अझै उल्लेखनीय हुनेछ । दर्शकलाई प्रतीक्षित र रमाइलो हुने खालको छ,’ उनी भन्छन्, ‘कलाकारको रुपमा नयाँ पात्रको जन्म लिएको छु । यतिबेला डबिङ पनि भइरहेको छ । डबिङमा फिल्म हेर्दा पनि एक खालको मज्जा आइरहेको छ । इन्जोय गरिएका क्यारेक्टर रमाइला हुन्छन् । यसलाई लिएर आशावादी छु । अहिले भगवत् गीतामै फोकस छु ।’

कमलामाई पात्रले बहिष्कृत र विभेदमा परेका समलिंगी र पारालैंगिक समुदायको सन्देश दिने विपिनको कथन छ । ‘मैले त्यो समुदायको प्रतिनिधि पात्रको भूमिकामा अभिनय गरेको छु । सो समुदायका सदस्यले पनि गम्भीर रुपमा लिएको पाएको छु । कमलामाईको पात्र आफू बन्न गरेको संघर्ष हो,’ पात्रबारे उनले भने ।

उनी अगाडि भन्छन्, ‘हामीले एलजीबीटीक्यूआई समुदायलाई हाँसोको पात्र बनायौं । हामीले गहन तरिकाले हेरेनौं । पहिलोपटक नेपाली फिल्ममा मानवीय रुपमा सकारात्मक सन्देश दिने खालको क्यारेक्टर गरेको छु ।’ उनले यसमा कमलामाईको आंशिक कथालाई मात्र प्रस्तुत गरिएको बताए । यो पात्रले आफ्नो समुदायको लागि लडेको उनी बताउँछन् ।

कमलामाई पात्र आफ्नो जीवनको आर्काइभमा बस्ने उनी बताउँछन् । ‘हरि, बिन्दु, फणिन्द्र र भष्मेडनजस्तै यो चाहिं मेरो जीवनको आर्काइभमा बसेका पात्रमध्ये अग्रस्थानमै बस्छ । नेपाली फिल्म उद्योगलाई मेरो क्यारेक्टर उपहारजस्तै हुन्छ कि भन्नेमा ढुक्क छु,’ उनी भन्छन् ।

कामको कुरा गर्दा विपिनले हालै फिल्म ‘काजी’ साइन गरेका छन् भने अर्को एक प्रोजेक्टमा काम गर्नको लागि उनी चाँडै सिक्किममा जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?