+
+

बेनी-जोमसोम सडक ५ दिनपछि खुल्यो

रासस रासस
२०८० भदौ ६ गते १४:१८

६ भदौ, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर आज बिहान सडक खुलाइएको जानकारी दिए ।

‘कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिराले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ’, उनले भने, ‘चार डोजर, मलगायत आयोजनाका इञ्जिनियर र प्राविधिकहरुको टोली पाँच दिनदेखि खटेर सडक खुलाएका छौँ ।’

सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण यात्रु पैदलयात्रा गर्न बाध्य भएका थिए ।

सडक मर्मतका क्रममा गुँइठेको भीरबाट खसेको ढुङ्गाले चोट लागेर सडक विभागका डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल घाइते भएका आयोजना प्रमुख प्रजापतिले जानकारी दिए ।

आयोजना प्रमुख प्रजापति, इञ्जिनियर विष्णु चापागाइँ, सवारी चालक अजय स्याङ्ताङ, सुपर भाइजर इन्द्रसिंह शेरचनसहितको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन भएको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोको जोखिम रहेकाले रातको समयमा र अत्यावश्यक काम नपरी यात्रा नगर्न सूचना प्रकाशन गरेर यात्रुहरुलाई अनुरोध गरेको बताए ।

गत साउन २४ गते बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ र ३ को सीमा क्षेत्रमा पर्ने बैसरी अँधेरीखोलामा पहिरो खसेर घाइते भएका गाडी चालक अन्नपूर्ण-७ महभीरका ४० वर्षीय लुप्सन शेरपुजाको मृत्यु भएको थियो ।

बैसरीमा १२ दिन अवरुद्ध भएको सडक साउन ३१ गते खुलाइएको थियो । बैसरीको पहिराको समस्या समाधान भए पनि जलथले-दुवारी खण्डमा पहिराले दुःख दिन थालेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?