+
+

काम गर्ने र गरिखाने वातावरण बनाउन कांग्रेसले ध्यान दिन्छ : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते ११:२७

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् ।

पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने बताए ।

आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

उनले अब आर्थिक क्रान्तिको बेला भएकाले पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने बताए । राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए ।

केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘२०४६ साल पछिको विकास र प्रगतिलाई ख्याल नठान्नुस् ।’ हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको उनको दाबी थियो ।

कांग्रेसले इतिहास बनाउन सकेकाले इतिहासका कुरा गर्ने उनले बताए । खाली इतिहासको मात्र कुरा गर्छ भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘कांग्रेसको इतिहास छ, इतिहासको कुरा गर्छ र जनचाहना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लिएर जनतामाझ जान्छ,’ उनले भने, ‘जुन पार्टीको इतिहास नै छैन, उसले के कुरा गर्छ ?’

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका निर्वाचित जनप्रतिनिधिले गर्ने कामले कांग्रेसलाई हेर्ने धारणा तय गर्ने भएकाले जिम्मेवारपूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताइन् ।

यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ र प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे लगायतले पार्टीका हरेक नेता-कार्यकर्ताहरुले आ-आफ्नो स्थानबाट संगठन मजबुत बनाउन लाग्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?