+
+
फ्राइडे रिलिज :

प्रदर्शनमा आए ‘जय हो’, ‘महानगर’सहित चार फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १२:०६

काठमाडौं । शुक्रबार नेपाली बक्स अफिसमा चार फिल्म रिलिज भएका छन् । जसमा दुई नेपाली फिल्महरु ‘जय हो’ र ‘महानगर’ छन् । विदेशी फिल्महरु ‘ड्रिमगर्ल २’ र हलिउडको ‘ग्रान टुरिस्मो’ छन् । सेन्सर प्रक्रियाको कारण थप दुई विदेशी फिल्महरु ‘अकेली’ र ‘रेट्रिब्युसन’ शनिबार रिलिज हुँदैछन् ।

‘जय हो’को लम्बाइ १३६ मिनेट छ र चलचित्र जाँच समितिले यसलाई सबै उमेरका दर्शकले हेर्न पाउने गरी युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । टेक पौरखी राई निर्देशित फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङको शीर्ष भूमिका छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मले प्रेम सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ । धनी परिवारकी छोरी सजिना (केकी) फोटोग्राफर जय (सलोन)सँग घुम्न मुस्ताङमा जान्छिन् । यी दुई प्रेममा पर्छन् । यसबीचमा सजिनाको पूर्वप्रेमी (अशोक) आइपुग्छन् । त्यसपछि फिल्मको कथावस्तुले नयाँ मोड लिन्छ ।

‘महानगर’ फिल्मको लम्बाइ ७१ मिनेट छ । सेन्सर बोर्डबाट यू प्रमाणपत्र प्राप्त गरेको यो फिल्मलाई ड्रामा जनरामा राखिएको छ । मोहन राई निर्देशित फिल्ममा कार्म र मेनुका प्रधानको शीर्ष भूमिका छ । एकरात काठमाडौं सहरमा भेटिएका दुई अपरिचित युवायुवतीको प्रगाढ सम्बन्ध र संघर्षको कथावस्तुमा फिल्म बनेको छ ।

थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको यो फिल्मलाई गम्भीर स्वादका फिल्ममा रुचि हुने दर्शकलाई मन पर्न सक्छ ।

आयुष्मान खुराना, परेश रावल र अनन्या पाण्डेको शीर्ष भूमिका रहेको हिन्दी फिल्म ‘ड्रिमगर्ल २’ पनि शुक्रबारदेखि हलमा रिलिज भएको छ । कमेडी, ड्रामा र रोमान्स जनरामा राखिएको यो फिल्म राज सान्धिल्याले निर्देशन गरेका हुन् ।

डेभिड हार्वर, ओर्लान्डो ब्लुम स्टारर हलिउडको एक्सन–एड्भेन्चर फिल्म ‘ग्रान टुरिस्मो’ पनि शुक्रबारदेखि रिलिज भएको छ । १३५ मिनेट लामो यो फिल्मले पीजी प्रमाणपत्र प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?