+
+

‘महापुरुष’ शुक्रबारदेखि सिनेमाघर एपमा रिलिज, हरिवंश भन्छन्- डिजिटल दर्शक धेरै छन्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १७:१६

काठमाडौं । बक्स अफिसमा सुपरहिट हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ शुक्रबारदेखि सिनेमाघर एपमा रिलिज भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले यसबारे जानकारी गराए ।

उक्त ओटीटी प्लेटफर्ममा यो फिल्मलाई विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइने भएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई २०० रुपैयाँ शुल्क तिरेर एपमा हेर्न सकिने जनाइएको छ ।

सिनेमाघर एपका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । हलमा दर्शकले दिएको चासोले आफूहरु उत्साहित रहेको उनले सुनाए ।

यो एपलाई अहिलसम्म सात लाखभन्दा बढी डाउनलोड गरिएको छ । युट्युबमा सित्तैंमा फिल्म हेर्ने बानी परेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बसाल्न कठिन भए पनि आफूहरुले यो प्रवृत्ति बसाल्न प्रयास गरिरहेको लामिछानेले बताए ।

अघिल्लो वर्ष यो एपमा ‘कबड्डी ४’ रिलिज भएको थियो । त्यतिबेला उच्च दर्शकीय ट्राफिकले सर्भर १२ घण्टासम्म डाउन भयो । त्यसपछि सर्भरको क्षमता बढाइएको खगेन्द्रले बताए । ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा फिल्म क्षेत्रलाई फाइदा पुग्ने उनको भनाइ छ ।

महापुरुष अभिनेता आचार्यले डिजिटल माध्यममा ठूलो संख्यामा दर्शक रहेको बताए । पहिलोपटक ओटीटीमा आफू अभिनित फिल्म रिलिज भएकोमा हरिवंश खुसी देखिन्थे । डिजिटल मार्केट फराकिलो भइसकेको र यसले जीवित बनाइराखेको भन्दै उनले यो एप नेपाली फिल्म क्षेत्रका लागि बरदान सावित भएको बताए ।

अभिनेता तथा निर्माता रविन्द्रसिंह बानियाँले हलमा छुटाएका दर्शकलाई लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गरिएको बताए । यसअघि ‘जात्रैजात्रा’ निःशुल्क रिलिज गर्दा समेत दर्शकले इन्टरनेटको पैसा तिरेकोमा निःशुल्क नभएको प्रतिक्रिया जनाएको सम्झना गर्दै अहिले परिस्थिति बदलिएको जिकिर गरे ।

यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्म हेर्न पाइने जनाइएको छ । प्रेसमिटमा महापुरुषका कलाकार राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा, निर्माता म्याक्स दीपेश खत्री सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?