+
+

चारदेशीय सिरिजले बढेको आत्मविश्वास

नमिता दाहाल नमिता दाहाल
२०८० भदौ १० गते २०:०९

१० भदौ, काठमाडौं ।  आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा नेपाली टिम मलेसियामा छ । छनोटअघिको चार देशीय क्रिकेट शृंखला जितेर नेपालले छनोट प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ ।

शृंखलाको समूह चरणमा कुवेत र हङकङलाई हराएको नेपाल तेस्रो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । तर पनि रन रेटका आधारमा समूह विजेता बनेको नेपालले फाइनलमा हङकङलाई हरायो ।

छनोटमा समूह एको नेपालले घरेलु टोली मलेसियासहित भुटान, बहराइन, कतार यूएईसँग खेल्ने छ ।

समूह बीमा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्डमा छन् । हरेक समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् र फाइनल खेल्ने २ टिमले आइसीसी वुमन्स टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

नेपालको लक्ष्य ग्लोबल छनोट खेल्ने हो । ‘अहिले सुरुवात मात्रै हो, बाँकी भनेको हामीले नेपाललाई क्वालिफाइ गराउनु छ,’ चारदेशीय शृंखला जितेपछि प्रशिक्षक सामसन जंग थापाले भने, ‘यो उपाधिले टिममा आत्मविश्वास बलियो बनेको छ ।’

नेपालले समूहका सबै खेललाई फाइनल जस्तै गरी खेल्ने उनले बताए । ‘खेलाडीले हरेक डिपार्टमा आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने हामी पक्कै क्वालिफाइ हुन्छौं’, प्रशिक्षक थापाले भने ।

बलिङमा सुधार

नेपालले शृंखलालाई विश्वकप छनोटको तयारीमा रुपमा प्रयोग गरेको थियो । जसमा नेपाली टिमले ब्याटिङ र बलिङ दुवैमा परीक्षण ग¥यो । बलिङ पावर प्लेमा तीव्र गतिका कविता कुँवर र पूजा महतोको जोेडीले राम्रो प्रभाव जमायो । डेब्यू खेलमै विकेट लिने पूजा र कवितासँग छनोटका खेलमा अब अस्मिना कर्माचार्यले सहकार्य गर्ने छिन् ।

‘हामीले पावर प्लेमा बलिङ गर्ने जोडी भेट्यौं । त्यसमा अस्मिना पनि निकै राम्रो बलर हो । टिममा ३/४ जना बलर छन् । अबको अवस्थामा त्यो अपरिहार्य पनि भएको छ । हामी सधैं पुराना खेलाडीलाई मात्रै पेलान पनि गर्न सक्दैनौं’, प्रशिक्षक थापाले भने ।

डेब्युको पहिलो बलमा नै विकेट लिने खेलाडी बनेकी लेग स्पीनर खुसी डंगोलले पनि संभावना देखाएकी छन् । कुवेतसँगको खेलमा १४ औं ओभरमा बलिङ गरेकी उनले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो बलमा नै विकेट लिएकी थिइन् ।

‘डेब्युटेन्ट खुसीले निकै राम्रो गरिरहेकी छिन् । घरेलुमा पनि राम्रो खेलिरहेकी खेलाडी हुन् उनी, तर राष्ट्रिय स्तरमा पहिलो बलमा नै विकेट लिने नेपालका लागि उनी पहिलो खेलाडी हुन्’, प्रशिक्षक सामसन थापाले बताए । सामसनले खुसीलाई बागमती प्रदेशको टिमबाट नै चिनेर र निखारिरहेका छन् ।

त्यस्तै नेपालका लागि यहि सिरिजबाट डेब्यु गरेकी अलराउन्डर पुजा महतो नेपाली क्रिकेटका लागि नयाँ अनुहार हुन् । उनले कुनै पनि राष्ट्रियस्तरका कुनैपनि प्रतियोगिता नखेली नेपालका लागि अन्तर्राष्ट्रियमा डेब्यु गरेकी हुन् । उनले डेब्यु खेलमा नै ओपनर ब्याटसर र बलरको भूमिका निर्वाह गरिन् । उनले पहिलो खेलबाट नै राम्रो छाप छोडिन् । ‘पुजा नेपाली महिला क्रिकेटका लागि निकै चाहिने खेलाडी हुन् । क्रिकेटको राम्रो ज्ञान राख्ने उनीमा बलिङ र ब्याटिङ दुवैको राम्रो क्षमता छ ।’ प्रशिक्षक थापाले भने ।

चारदेशीय शृंखलामा डेब्यू गरेका पूजा र खुसीले राम्रो प्रदर्शन गरे पनि टोलीमा रहेकी नयाँ खेलाडी रुवी पोदारले भने राष्ट्रिय टिममा डेब्यु गर्न बाँकी छ ।

‘रुवीले पनि समय र आवश्यकता अनुसार डेब्यू गर्छिन् । अहिले काजोलले नै राम्रो गरिरहेकी छिन् । कतिपय अवस्थामा बेन्चमा बसेर पनि धेरै कुरा सिक्न सकिन्छ । उनी पनि सिक्दै छिन्’, प्रशिक्षक सामसनले भने ।

ब्याटिङ पुरानो पुस्तामा निर्भर

बलिङमा सुधार भए पनि ब्याटिङ समस्यामा भने कुनै समाधान भेटिएको छैन । ब्याटिङ प्रशिक्षक बनेकी देविका पालिशकरले शृंखलामा कुन खेलाडी कुन स्थानमा फिट हुन्छन् भनेर परीक्षण भने गरेकी थिइन् ।

भारतीय पूर्वखेलाडी तथा १५ वर्षयता प्रशिक्षणमा लागेकी देविका चार देशीय शृंखलाको ब्याटिङबाट भने खुसी नरहेको प्रमुख प्रशिक्षक थापाले बताए । ‘हाम्रो खेलाडीको प्रदर्शनबाट उहाँ खुसी हुनुहुन्न,’ थापाले भने, ‘उहाँको व्यावसायिक स्तर धेरै माथिको छ । हाम्रा खेलाडीलाई उहाँले रणनीति बुझाइ रहनु भएको छ । खेलाडीले सोही अनुसार खेल्न सक्नुपर्छ ।’

नेपाली महिला टिमको ब्याटिङ पुराना पुस्तामा नै निर्भर देखियो । चार खेल हेर्दा हरेकमा एक जना पुराना खेलाडीले बलियो स्कोर बनाएका छन् । यसमा प्रशिक्षक थापा भन्छन्, ‘एकैपटक नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्न सक्दैन । पुरानो पुस्ताका खेलाडीले गरेर देखाए भने उनीहरुको पथ प्रदर्शनले नयाँमा पनि हामीले देशको लागि गर्नुपर्छ । भन्ने भावनाको विकास हुन्छ ।’

शृंखलाका लागि मलेसिया जानुभन्दा केही दिनअघि मात्रै नेपाल आएकी भारतीय प्रशिक्षक देविकाले टिमसँग धेरै समय बिताउन पाएकी छैनन् । ‘अहिले नै आमुल परिवर्तन हुन सक्दैन,’ उनले मलेसिया जानुअघि नै भनेकी थिइन्, ‘तर हामीले प्राविधिक भन्दा पनि रणनीतिक योजना अनुसार क्वालिफाइ खेल्ने छौं ।’

नेपालले पहिलो खेलमा ब्याटिङका लागि पूजालाई पठाएको थियो । उनले त्यो खेलमा १८ बलमा १६ रन बनाइन् । तर दोस्रो र तेस्रो खेलमा उनले त्योभन्दा खराब प्रदर्शन गरिन् ।

तर फाइनलमा ओपनिङमा आएकी सीता राना मगरले राम्रो गरिन् । ‘ब्याटिङ प्रशिक्षक र मैले सल्लाह गरेर सीताको हिटिङ पावर राम्रो भएकोले उनलाई फाइनलमा ओपनिङ गराएका थियौं, उनले राम्रो गरिन्’, प्रशिक्षक थापाले भने ।

नेपालमा महिला क्रिकेट क्रेजलाई अघिल्लो पुस्तामा हस्तान्तरण गर्न सिनियर खेलाडीले राम्रो खेल्नु पर्ने प्रशिक्षक थापा बताउँछन् । ‘सिनियर महिला खेलाडीले राम्रो गरेको खण्डमा जुनियरलाई पनि प्रोत्साहन मिल्छ र नेपालमा महिला क्रिकेटको स्तर माथि उकासिन्छ ।’

फिटनेसमा सुधार र एक्सपोजरको अझै कमी

३० वर्षको क्रिकेट करिअरमा २०१८ यता महिला टिमको प्रशिक्षकको रुमपा पुनरागमन गरेका थापाले केही फरक अनुभव संगालेका छन् । उनको प्रशिक्षणमा नेपालले खेलेका दुवै शृंखला जितेको छ ।

‘एउटा प्रशिक्षकको रुपमा म खुसी छु । तर हाम्रो मुख्य उद्धेश्य बाँकी नै छ’, उनले भने, ‘हाम्रा खेलाडीमा ट्यालेन्टको कमी छैन तर हाम्रो खेलमा अझै पनि एक्सपोजरको कमी प्रष्ट झल्किन्छ ।’

नेपालले जेठमा मात्र मलेसियासँग सिरिज जितेर फर्किएको थियो । त्यसयता मलेसियाको बलिङ र ब्याटिङ दुवै डिर्पाटमा राम्रो फरक आएको छ, यसको कारण हो एक्सपोजर । मलेसिया गत ८ महिनायता बलिया टिमहरुसँग अभ्यास गर्दै आएको छ ।

‘म्याच प्लेअर र नेट प्लेअरमा फरक हुन्छ । एक्सपोजर दिने हो भने हामी पनि राम्रो हुन सक्छौं’, प्रशिक्षक थापाले भने ।

नेपाली महिला टिमको मुख्य कमजोरी र चुनौती रहेको फिटनेस समस्या भने केही हदसम्म सुधारिएको छ । हाल नेपाली टिममा छरितोपन भने फिल्डमा नै देखिएको छ । ‘हामीले जेठमा मलेसियासँगको सिरिज जितेर फर्कदा नै सबैलाई घरमा अरु केही नगरे पनि फिटनेसमा काम गर्न भनेका थियौं र त्यो केही हदसम्म छरितोपन देखिएको पनि छ ।’

यसको मतलब नेपाली महिला टिमको फिटनेस समस्या पूरै हटेको भने पक्कै होइन । अझै पनि रनआउट तथा केही स्लीपहरु भने फुस्किरहेका छन् ।

तर ३ महिनाअघि भन्दा खेलाडीमा छरितो पन भने देखिएको छ । ‘काजोलको पहिला र अहिलेको गेम फरक भएको छ । उनको फिटनेस सुधारिँदो अवस्थामा छ । अन्य खेलाडीमा पनि फिटनेस अहिले विशेषतः फिल्डङमा राम्रो देखिएको छ’, प्रशिक्षक थापाले भने ।

मलेसियाको वातावरण र पिच

‘नेपाली महिला टिमका लागि मलेसियाको पिच र वातावरणमा घुल्न खासै सहज भएन । तर अहिले हामीलाई यो चार खेलले निकै कुरा बुझ्न सहज बनायो,’ थापाले भने ।

नेपाली टिमले मौसमका कारण काठमाडौंमा इन्डोर र बलिङ मेसिनमा मात्रै प्रशिक्षण गरेकाले मलेसियाको मैदानमा गाह्रो भएको प्रशिक्षकले बताए । ‘हामीले इन्डोरमा मात्रै प्रशिक्षण गरेको यहाँ वर्षायाममा बल रोकिएर आउने रहेछ’, उनले भने ।

स्लो विकेटका कारण खेलाडीले बललाई हेरेर निकै संयमताका साथ खेल्नु पर्नेमा खेलाडीले ब्याट छिटो चलाउँदा पनि समस्या भएको थियो ।

ब्याटिङ प्रशिक्षक देविकाले हरेक कुरा खेलाडीलाई राम्रोसँग सम्झाएको भए पनि खेलाडीले लागु गर्नमा केही समस्या भएको प्रमुख प्रशिक्षक थापाले बताए ।

‘हामीले यो चार खेलबाट यहाँको पिच बुझेका छौं जसले गर्दा हामीलाई क्वालिफायर्समा सहयोग हुनेछ’, प्रमुख प्रशिक्षक थापाले भने ।

मलेसियाको विकेट सिमसिम पानीले खासै फरक नपर्ने हुन्छ । बायोमास ओभलमा आंशिक पानीले खेल नै प्रभावित हुँदैन । ठूलो वर्षा हुँदा मात्र खेल रोकिने हुन्छ । आंशिक वर्षाको बेला केहीबेरमा मैदान पुन सुख्खा हुने र खेल खेल्न सकिने हुने भएकाले नेपालका लागि यो चार खेलले मैदान र मौसम बुझ्न सहयोग गरेको उनले बताए ।

आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट :

३१ अगष्टः नेपाल भर्सेस मलेसिया
१ सेप्टेम्बरः नेपाल भर्सेस बहराइन
३ सेप्टेम्बरः नेपाल भर्सेस भुटान
४ सेप्टेम्बरः नेपाल भर्सेस कतार
६ सेप्टेम्बरः नेपाल भर्सेस यूएई

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?