+
+

डान्स गरेर भाग्यमानी बनेका दीपक, एसियन गेम्समा पदक भित्र्याउने लक्ष्य

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० भदौ ११ गते ८:४७

११ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा समावेश ४५ खेलमध्ये एक खेल हो- ब्रेकडान्सिङ। यस संस्करणमा नेपालले सहभागिता जनाउने २९ खेलमा ब्रेकडान्सिङ पनि छ ।

नेपालका ब्रेक डान्सर दीपक लामाले यसमा सहभागिता जनाउँदैछन् । ब्रेकडान्सिङ एसियन गेम्समा समावेश हुनु नै सबैभन्दा ठूलो कुरा रहेको बताउने दीपक त्यसमा आफू सहभागी हुन पाउँदा उत्साहित छन् । ‘हाम्रो लागि ब्रेकडान्सिङ एसियन गेम्समा हुनु नै एकदम ठूलो कुरा हो,’ पोखरमा बसेरएसियन गेम्सको तयारी गरिरहेका दीपकले अनलाइनखबरसँग भने, ‘प्रतियोगितामा भाग लिन पाउनु नै हाम्रो लागि ठूलो उत्साह हो । म एकदमै उत्साहित छु ।’

सन् ७० को दशकमा अमेरिकन हिप हप संस्कृतिबाट सुरु भएको ब्रेकडान्सिङ पछिल्लो समय भने विभिन्न खेलकुद प्रतियोगितामा समावेश हुन थालेको छ । यसअघि सन् २०१० मा चीनमै भएको १६औं एसियन गेम्समा डान्स स्पोर्ट्सकादुईविधा स्ट्यान्डर्ड डान्स र ल्याटिन डान्स समावेश थियो । स्ट्यान्डर्ड र ल्याटिन डान्स दुवैका सबै ५-५ इभेन्टमा चीनले क्लिन स्वीप गरेको थियो ।

एसियन गेम्समा दशकअघि नै समावेश भएको ब्रेकिङडान्स विश्व स्तरमा भने सन् २०१८ मा अर्जेन्टिनामा आयोजित युथ ओलम्पिकमा परीक्षणको रुपमा समावेश गरिएको थियो । अब भने यो ओलम्पिक गेम नै बनिसकेको छ । डान्स स्पोर्टस अन्तर्गत ब्रेकिङडान्स (बी-बोईङ)लाई पेरिस ओलम्पिकमा आधिकारिक खेलका रुपमा समावेश गरिएको छ ।

दीपकले अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि तयारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीआईओसीले छात्रवृत्ति उपलब्ध गराएको छ । ओलम्पिकमा पुग्नका लागि भने उनले छनोट चरण पार गर्नुपर्नेछ ।

ओलम्पिक तयारीमै रहँदा नै एसियन गेम्स खेल्ने पाउनु उनका लागि दोहोरो अवसर हो । एसियाली खेलकुदमा सहभागी हुने निश्चित भएपछि दीपकको तयारीको रफ्तार झन् बढेको छ ।

‘एसियन गेम्सको लागि ट्रेनिङ गर्न म पोखरामा छु । मलाई कोचले बिहान र बेलुका दुई समयका लागि फरक स्थानमा ट्रेनिङको लागि छुट्याइ दिनुभएको छ । अरु खेलाडीपनि हुन्छन्’, दीपकले भने ।

ओलम्पिक छात्रवृत्तिले उनलाई एसियन गेम्सको तयारीका लागि अझ सजिलो भयो । ‘ओलम्पिक स्कलरसिपले गर्दा मलाई एकदम सहज भएको छ । मलाई चाहिने सामान, ट्रेनिङ गर्ने, ट्राभलका लागि धेरै सहज भएको छ । ट्रेनिङ फ्यासिलिटी सबै कुरामा सहज छ’,मासिक ७५० अमेरिकी डलर छात्रवृत्ति पाइरहेका उनले भने ।

यो रकमले आफू पूर्ण रुपमा डान्समै केन्द्रीत हुन पाएको उनी बताउँछन् । सुरुवाती समयमा तेक्वान्दो, जिम्न्यास्टिक, उसु लगायत खेल खेलेकाउनीभन्छन्, ‘अहिले मैले पूर्ण समय बि बोइङलाई नै दिन पाएको छु ।’

बी-बोइङ क्षेत्रमा ‘टोनी’ स्टेज नाम राखेका उनी यही नामबाट धेरै चिनिन्छन् । उनी एस्ट्रो ब्वाइज क्रूका सदस्य पनि हुन् ।

पदक जित्ने लक्ष्य

कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धाका लागि उत्रिएपछि हरेक खेलाडीको सपना पदक जित्ने नै हुन्छ । अझ त्यसमा च्याम्पियन बन्ने धेरैको लक्ष्य हुन्छ ।

पहिलो पटक एसियन गेम्स खेल्न लागेका दीपकको लक्ष्य पनि त्यही छ । तर ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा उत्तिकै दबाब र चुनौती पनि हुन्छ । त्यो उनले बुझेका छन् ।

उनले सकेसम्म राम्रो प्रदर्शन गरेरदेशको नाम राख्ने प्रयास गर्ने बताए । ‘पदक जित्ने नै भनेर ट्रेनिङ गरिराखेको छौँ । त्यही अनुसार कोचले तयार गरिरहनुभाछ । बाँकी त्यही गएपछि थाहा हुन्छ । म आफ्नो बेस्ट दिनेछु’, दीपकले आफ्नो लक्ष्यबारे सुनाए, ‘टार्गेट गोल्डकै राखेका छौं, अब के हुन्छ त्यो त खेलेपछि थाहा हुनेछ ।’

एसियन गेम्स अघि विदेशमा गएर पनि तयारी गर्ने योजना भइरहेको उनले बताए । ‘नेपालमा पनि ट्रेनिङ राम्रो भइराखेको छ । अहिले सबै प्यासिलिटीहरु उपलब्ध छन्,’ उनले भने, ‘विदेशको ट्रेनिङ पनि चाहिन्छ । त्यसका लागि पनि योजना भइरहेको छ सायद चाँडै थाहा हुन्छ होला ।’

पहिला ब्याटल अहिले खेल

एसियन गेम्समा ब्रेकिङ डान्स समावेश हुँदा अहिले समग्रमा डान्स स्पोर्ट्स-बी बोइङ समुदाय नै पूरा उत्साहित छ । मनोरञ्जनका लागि गरिने डान्स अहिले अन्तर्राष्ट्रिय खेलकै रुपमा विकास हुँदैछ । ‘पहिलो कुरा हाम्रो ब्रेकिङ खेलकुदमा पर्नु नै हाम्रो समुदायको लागि ठूला कुरा हो । त्यही अनुसार विकास पनि भइरहेको छ । यति रिकगनाइजेसन पाउनु भनेको डान्स स्पोर्ट्सको लागि ठूलो कुरा हो ।’

अहिले ओलम्पिक, एसियन गेम्स जस्ता इभेन्टमा यो खेल समावेश हुनु र नेपाली खेलाडीले ओलम्पिक तयारीका लागि छात्रवृत्ति पाउनुले बी-बोइङप्रति नेपालको अपेक्षा झन् बढ्ने विश्वास छ ।

पहिले डान्स ब्याटलको रुपमा रहेको ब्रेकिङ अब खेल नै बनिसकेको छ । नेपालमा बी बोइङ गर्नेहरुका लागि २०७५ सालमा नेपाल ब्रेकिङ एण्ड डान्स स्पोट्र्स एसोसिएसन नै स्थापना भएको छ । त्यसैमार्फत नेपालमा खेलाडीहरुले आफ्नो कला देखाउनेछन् ।

यस्तो हुनेछ एसियन गेम्समा ब्रेकिङ डान्स

गोन्शु काना स्पोर्ट्स पार्कको जिम्नासियममा हुने यस प्रतियोगिता अक्टोबर ६ र ७ मा आयोजना हुनेछ । यस पटक जम्मा दुई स्वर्णका लागि ब्रेक डान्समा प्रतिस्पर्धा हुनेछ । जसमा महिला र पुरुषतर्फ एक एक इभेन्ट हुनेछ ।

ब्रेक डान्सिङमा लागि ल्यामिनेट फ्लोरको आवश्यकता पर्नेछ । जसको मिनिमम साइज ८ बाई ८ हुनेछ । ८ मिटरको सर्कल हुनेछ ।

ब्रेक डान्सिङमा कम्पिटेसनमा रेड र ब्लु टिम हुनेछ । दुवैले पालैपालो प्रदर्शन गर्नेछन् ।

हरेकले एक पटक ब्याटल गर्नेछन् । जसलाई एक राउण्ड भनिन्छ । ब्याटल ६० सेकेण्ड भन्दा बढी हुनेछैन ।

सहभागी खेलाडीहरुको संख्याको आधारमा प्रतियोगिता विभिन्न स्टेजमा खेलाइनेछ । क्वालिफाइङ राउण्ड प्रिलिमिनारी राउण्ड नकबउट राउण्ड क्वाटरफाइनल सेमिफाइनल फाइनल हुनेछ ।

क्वालिफाइङ स्टेजमा सबै सहभागी खेलाडीलाई ४ समूहमा विभाजन गरिनेछ । हरेक खेलाडीले आफ्नो प्रदर्शनी देखाउने अवसर पाउनेछन् ।

त्यसपछि जजले हरेक खेलाडीले प्रदर्शनलाई तुलना गरेर वरीयता छुट्याउनेछन् ।

यस्तै प्रिलिमिनरी स्टेजमा क्वालिफाइङ स्टेजमा प्राप्त वरीयताको आधारमा जोडी बनाएर प्रतिस्पर्धा गराइनेछ र त्यसबाट १६ विजेतालाई राउण्ड रोविन स्टेजका लागि छनोट गरिनेछ ।

त्यसपछि खेलाडीलाई चार समूहमा चार-चार खेलाडी राखेर विभाजन गरिनेछ र हरेकले आफ्नो समूहमा अन्य खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हरेक समूहको शीर्ष दुई खेलाडी अर्को चरणमा प्रवेश गर्नेछन् । त्यसपछि नकआउट चरणका खेलहरु हुनेछ ।

नकआउट चरण र सेमिफाइनल चरणमा ३ खेल २ जीत प्रतिस्पर्धा प्रणाली लागू हुनेछ । त्यसपछि अन्तिम चरणमा प्रवेश गर्ने खेलाडीहरुले तीन राउण्डको डुएल्स पूरा गर्नुपर्नेछ र पूरा भएपछि नतिजा घोषणा गरिनेछ ।

प्राविधिक, प्रदर्शन, रचनात्मकता, विविधता, संगीत, र व्यक्तित्व जस्ता सूचकहरूका आधारमा दुवै खेलाडीहरूको प्रदर्शनलाई अंक दिनका लागि जजहरुले ‘स्कोर स्लाइडर’ को फर्ममा स्कोरिङ प्रणाली प्रयोग गर्नेछन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?