+
+

चीनमा २४ घण्टामै एक महिना बराबरको वर्षा, बाढीको वितण्डा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते ९:४८

११ भदौ, काठमाडौं । चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनाशकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।

जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’

आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्‍यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ’, उनले भने ।

बाढीका कारण उनको ठाउँमा भने कुनै मानवीय क्षति  हुन पाएन । वुनचाङ क्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथर भूभागबाट उचाइतर्फ स्थानान्तरण भएका थिए ।

बाली विनास हुँदा वुनचाङ मात्रै नभएर समग्र राष्ट्रले नै कठिन परिस्थिति व्यहोर्न सक्ने आकलन गरिएको छ । चीनको दक्षिण पूर्वी प्रान्तमा बाढीले धेरै क्षति पुर्‍याएकाेले खाद्य आपूर्ति श्रृंखलामै असर पुग्ने बताइएको छ । वुनचाङमा मात्रै ४० प्रतिशत धानबालीमा बाढीले क्षति पुर्‍याएको छ । यसबखत हरियाली हुनुपर्ने फाँट उजाड छन् ।

स्थानीय कृषक झाओ लुझाङ भन्छिन्, ‘हामीले रोपेको धान सबै बाढीले डुबायो । अब यो वर्ष यहाँ धान रोपाईं सम्भव छैन ।  यसको असरको मूल्यबारे कुरै नगरौं  । बाढी आउँदा निकै रोएँ’, उनले भनिन् ।

बाढीले चीनमा ८१ जनाले ज्यान गुमाएका छन् । बाँचेकाहरुलाई राज्यले सहायता गरिरहेको छ । यो वितण्डाको आर्थिक असर भने अत्यधिक नै छ । कोरोनाकालपछि अर्थतन्त्र सुधारमा अग्रसर चीनलाई यसले धक्का पुर्‍याउने जानकारहरुको मत छ । दशक यताको तथ्यांक हेर्दा चीनले गर्मीयाममा मासिक ६ देखि आठ पटक बाढी बेहोर्थ्यो । तर गत वर्षको तथ्यांक हेर्ने यो भने यो संख्या १३० पुगेको छ । जुलाइ र अगस्टमा मात्रै ८२ पटक बाढी आएको छ ।

जलवायु परिवर्तनबारे चिनियाँ विज्ञ झाओ लि भन्छिन्, ‘तापमानमा उच्च वृद्धि नै बढी बाढीको कारक हो । तापमान उच्च हुँदा वाष्पीकरण ज्यादा हुन्छ । वातावरणमा आर्द्रता बढ्दा  अझ धेरै वर्षा तथा आँधी तुफानको संभावना हुन्छ।’

राष्ट्रसंघको मापदण्ड अनुसार ग्रीन पिसले चीनमा गरेको अनुसन्धान अनुसार यो शताब्दीमा चीनमा गर्मीयाम एक महिना लम्बिने  छ र बाढीको संख्या पनि बढ्नेछ । बेइजिङ र सांघाइले सबैभन्दा बढी तापक्रमकाे सामना गर्नेछन् ।

चीनको जल तथा मौसम विज्ञान निकाय अनुसार सन् १९९० दशकको मध्यतिरबाटै चीनमा तापमान वृद्धि सुरु भएको थियो । यति हुँदा पनि मानिसहरुले नचेत्दा अहिलेको स्थिति आएको वातावरणविद् झाओ बताउँछन् । ‘चीनले अझै खराबस्थितिको सामना गर्नै बाँकी छ । सय वर्षयताकै ठूलो वितण्डता चीनले देख्नेछ’, उनी भन्छन् ।

बाढीको दिशा बदल्नका लागि प्राविधिकहरुले पूर्वाधार निर्माण गरिरहेका छन् । तर त्यसले समेत काम नगर्न सक्ने झाओको चिन्ता छ । बाढीले हाल पुर्‍याएको क्षतिको नोक्सान पूर्तिका लागि १० वर्ष लाग्ने स्थानीय व्यवसायी झाङ बताउँछन् । ‘सरकारले हामीलाई क्षतिपूर्ति देला वा नदेला निश्चित छैन तर यो नोक्सानको पूर्तिका लागि एक दशक लाग्नेछ’, उनले भने ।

गत जूनमा चीनको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि थियो । चीनमा एक महिनाको परिमाणको वर्षात् २४ घण्टामै भएको छ । ‘यस वर्षको गर्मीयाम चीनका लागि निकै कठिन छ । र जहिलेसम्म कार्बनडाइअक्साइडको परिमाण न्यूनीकरण हुँदैन चीनले झनै खराब परिस्थिति व्यहोर्दै जाने छ’, प्राध्यापक कस्केड तोलेस्को भन्छन् ।

घना आवादी र विश्वकै प्रमुख अर्थतन्त्र मध्ये एक रहेको चीनमा धेरै उद्योगहरु छन् । ती उद्योगबाट उत्सर्जन हुने हानिकारक ग्यासकै कारण चीनले खराब परिस्थितिको सामना गरिरहेको प्राध्यापक कस्केड बताउँछन् ।

चीनले कहिले लामो खडेरी त कहिले अप्रत्याशित बाढीको सामना गरिरहेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि काम नगरेमा अझै खराब परिस्थिति निम्तिन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?