+
+

प्रधानमन्त्रीलाई पोखरेलीको आग्रह : पोखरा विमानस्थल र कोराला नाका एजेण्डा बनाऊ

अमृत सुवेदी अमृत सुवेदी
२०८० भदौ ११ गते २१:२१
तस्वीर सौजन्य : विनोद ढुंगाना

११ भदौ, पोखरा । चीनले पृथ्वी राजमार्ग बनाइदिएपछि मात्रै काठमाडौं र पोखरा सडक सञ्जालमा जोडियो । जानकारहरुका अनुसार पोखरादेखि मुस्ताङ कोरालासम्मै चीनकै लगानीमा सडक पुर्‍याउने योजना थियो, तर दक्षिण भारत तथा केही शक्ति समूहको विरोधका कारण बागलुङमै टुंगियो र भूपि शेरचन राजमार्ग बन्यो ।

गोरखालाई आर्थिक गतिविधिको शहर नारायणगढसँग जोड्ने सडक पनि चीनकै लगानीमा बनेको हो । गोरखकाली टायर उद्योगमा मेसिनरी सहयोगदेखि सेती जलउपयोग आयोजना निर्माणसम्म गरेको चीनकै लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर १ जनवरी २०२३ मा सञ्चालनमा आएको छ ।

पोखरालाई केन्द्रमा राखेर चीनले गरेको लगानीकै कारण पोखराले फड्को मारेको हो, तर अहिले पनि चीनकै लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केबल आन्तरिकमै सीमित हुन पुगेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन चीनसँग कुरा राख्न पोखरेलीले आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ३० भदौमा अमेरिका जान लागेका प्रचण्ड उतैबाट ५ देखि ७ असोजसम्म चीनमा रहने तय भएको छ ।

भ्रमणको काठमाडौंमा एजेण्डा र कार्यसूचीबारे काठमाडौं र बेइजिङमा जस्तै पोखरामा पनि छलफल भयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको नेतृत्वमा पोखराका विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रधानमन्त्रीले चीन भ्रमणमा उठाउनुपर्ने एजेण्डाबारे छलफलै गरेका छन् ।

चीन भ्रमणमा पोखरा र गण्डकी प्रदेशलाई मुख्य केन्द्रमा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोराला नाका सञ्चालन गर्न प्रमुख एजेण्डा बनाउन पोखरेलीले प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड १५ भदौमा समाजवादी मोर्चा घोषणा कार्यक्रममा पोखरा आउँदैछन् । त्यही मौकामा पोखरेलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, कोराला नाकामा संरचना निर्माणलगायत ५ वटा मुख्य र केही दीर्घकालीन महत्वका विषयमा चीनसँग राख्नुपर्ने एजेण्डाबारे ध्यानाकर्षण गराउने भएका हुन् ।

चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनका विभिन्न सहरमा जोड्न पनि पहल गर्नुपर्ने उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुल्मीले बताए ।

अहिलेकै रुट हुँदै चिनियाँ सहर छेन्दू–पोखरा उडान पनि भर्न सकिने र त्यो छोटो र किफायती पनि हुने मुल्मीको भनाइ छ । ‘मौजुदा रुटमा २ वटा सम्भावना छन् । एउटा छेन्दू–पोखरा र अर्को आसामको इम्फालको रुट भएर कुन्मिङ र हङकङसम्म नियमित उडान गराउने सम्भावना छ’, मुल्मीले भने, ‘यो रुट अरु रुटको तुलनामा छोटो र किफायती पनि हुने छ ।’

छेन्दू र कुन्मिङ शहरबाट नियमित उडान हुन सके पोखरालाई व्यापारिक केन्द्रका रुपमा स्थापित गर्न सकिने उनको भनाइ थियो । चीनका अरु शहर र हङकङमा पनि नियमित उडान भर्न चीनलाई सहमत गराउन सकियो भने ठूलो सफलता हुने मुल्मीले बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले चीनमात्रै नभएर हङकङका धेरै एनआरएनएहरुको चाहना पनि रहेकाले पोखरा–हङकङ उडान सफल हुने विश्वास व्यक्त गरे ।

कोराला नाका खुल्न सक्छ

मुस्ताङको कोराला नाकामा चीनतर्फ भन्सार लगायतका संरचना बनिसकेका छन् । नेपालतर्फ भने कुनै सुरसार छैन । नेपालतर्फ पनि भन्सार लगायतका संरचना बनाउन चिनियाँ पक्ष इच्छुक रहेको पोखरेली व्यवसायीहरु बताउँछन् ।

‘कोराला नाकामा जसरी चीनतर्फ आधारभूत संरचना तयार गरे । नेपालतर्फ त्यस्तै खालका पूर्वाधार तयार पार्न चीन इच्छुक देखिएको छ,’ केही दिनअघि एउटा चिनियाँ टोली कोरालासम्म पुगेर फर्केको बताउँदै मुल्मीले भने, ‘नेपाल सरकारले अनुरोध गरे यसपटक सम्झौता हुन सक्ने सम्भावना छ ।’

कोराला नाकासँगै गोरखाको रुइला नाका खोल्दा चीन र नेपाल दुबैलाई व्यापारिक लाभ व्यवसायीको भनाइ छ । केरुङ र तातोपानी नाकाभन्दा चीन र नेपाल दुबैतर्फका लागि कोरोला नाकाले व्यापारिक सम्बन्ध जोडिन सक्ने मुल्मीले बताए ।

पोखरामा महावाणिज्यदूतावास स्थापना, नेपाल र पोखरालाई चीनको भ्रमण गन्तव्यमा समावेस गर्न पोखरेली व्यवसायीले मुख्य एजेण्डा बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । पोखराको पर्यटनलाई जगाउनका लागि चिनियाँ पर्यटकलाई फ्रि भिसा गर्नुपर्ने व्यवसायी गणेशबहादुर भट्टराईले बताए ।

पोखरा चक्रपथको विषयमा पनि चीनसँग सम्झौता भयो भने दीर्घकालीन विकासमा महत्व राख्ने नेपाल उद्योग वणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले बताए । पोखरा पछिल्लो समय भूराजनीतिक स्वार्थको केन्द्र बन्न खोजिरहेको अवस्थामा चीनबाट पोखराले विशेष फाइदा लिन सक्ने व्यवासायीको भनाइ छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?