+
+

एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १७:२५

१३ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ ।

एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर प्रचण्डले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिएका थिए ।

‘मोर्चा निर्माणका क्रममा नै हामीले समाजवाद र राष्ट्रिय स्वाधीनताको विषयलाई मुख्य बनाएका थियौं’, बैठकमा सहभागी नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले अनलाइनखबरसँग भने, ‘उहाँ (प्रधानमन्त्री) ले एमसीसी कार्यान्वयन घोषणालाई रोक्न नसकिने भनेपछि हामीले एमसीसी कार्यन्वयन पनि गर्ने, हामीसँग समाजवादी मोर्चामा पनि रहने कुराको तादम्यता मिलेन भन्यौँ । त्यसपछि आज धनगढीमा गर्ने भनिएको मोर्चाको सन्देश सभा पनि स्थगित भएको छ ।’

बैठकमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र स्थायी समिति सदस्य अनिल शर्मा उपस्थित थिए । उक्त बैठकमा मोर्चाका अध्यक्ष माधव नेपाल पनि सहभागी भएनन् । ‘उहाँले पनि आउँछु भन्नुभएको थियो । तर पछि भ्याइएन भनेर खबर पठाउनुभएको थियो । हामीले राखेको विषयमा आफू सहमत भएको उहाँको धारणा छ’, शर्माले भने ।

धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएकाे मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भयो । माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित माेर्चाका शीर्ष नेताकाे कार्य व्यस्तता कारण सभा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

प्रदेशस्तरीय सन्देश सभा हुने भएपछि पहाडी जिल्लाका नेता कार्यकर्ताहरू मंगलबार नै धनगढी आइपुगेका थिए ।

सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियाे ।

नेकपाका नेता शर्माले धनगढीको कार्यक्रम स्थगित भए पनि मोर्चा नै तोडिएको भनेर बुझ्न नहुने बताए । ‘हामीले एमसीसी पनि कार्यान्वयन गर्ने र समाजवादी मोर्चाको कार्यक्रममा पनि सँगै सहभागी हुन सम्भव छैन भन्यौं’, शर्माले भने, ‘त्यसो भए आजको कार्यक्रमलाई स्थगित गरौं र मोर्चालाई अगाडि बढाउने विषयमा पुनः छलफल गरौं भन्ने सहमति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?