+
+

‘अवार्ड र सम्मान’को खेलो, विदेश जाने मेलो

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८० भदौ १४ गते १४:४९
प्रतीकात्मक तस्वीर

साउन ६ गते अमेरिकाको टेक्सासमा आयोजना गर्ने भनिएको ११ औं ‘नेफ्टा फिल्म अवार्ड’ एकाएक रद्द भयो । उक्त अवार्डका लागि नाम सिफारिस भएका सबै ‘कलाकार’को भिसा नै लागेन । यो अवार्डका लागि ‘अमेरिका लैजाने’ भन्दै विभिन्न व्यक्ति र कलाकारसँग प्रतिव्यक्ति ३० लाख रुपैयाँसम्म असुल्ने प्रयास गरिएको आयोजकमाथि आरोप छ । पैसा असुल्ने खेल सुरु भएपछि आयोजकमध्येको एक आर्यन फिल्म्सले हात झिकिसकेको छ ।

आर्यन फिल्म्सले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अनधिकृत मान्छेको नाम थपिएको छ । अर्को कुरा लाखौंको बार्गेनिङ भइरहेको छ ।’

यसै विषयमा थप सोधीखोजी गर्दा आर्यन फिल्म्सका महाप्रबन्धक गोपाल कटुवालले भने, ‘यसपटक पनि चलचित्र प्राविधिक संघ (नेफ्टा)ले अमेरिका लैजान लागेको भनिएको ४१ जनामा झन्डै आधाजसो असम्बन्धित व्यक्ति रहेको पाएपछि विज्ञप्ति निकालेर सर्वसाधारणलाई सचेत हुन आग्रह गरेका हौं ।’

अवार्डको बहानामा सर्वसाधरणलाई अमेरिका तस्करी गर्न लागिएको सूचना आएपछि आफूहरु पछि हटेको उनले बताए । कटुवालले थपे, ‘कति पैसाको बार्गेनिङ भयो भनेर त म भन्न सक्दिन । तर मैले सुने अनुसार राम्रै पैसामा बार्गेनिङ भइरहेको रहेछ । एक जना होइन, धेरैसँग यस्तो भएको रहेछ । अमेरिकी दूतावासले पनि फेक हो भन्ने थाहा पाएर भिसा नदिएको भन्ने कुरा मैले सुनें ।’

अवार्डको नाममा जुन चलखेल भयो त्यसले आफूहरुलाई धेरै दुःखी बनाएको उनले बताए । ‘ठीक छ कार्यक्रम रोकिएको छ,’ उनले थपे, ‘तर हामीले खर्च गरेको सम्पूर्ण रकम हामीलाई फिर्ता चाहियो । कुरा यत्ति हो ।’

आर्यन फिल्म्सको विज्ञप्तिमा उल्लेख भएअनुसार भिसा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा अनधिकृत व्यक्ति रहेको भनिएको छ । यो कम्पनी फिल्म निर्माता तथा निर्देशक रमेश एमके पौडेलको हो । सो कम्पनीले होटेल सोल्टीमा अवार्डका लागि मनोनयन कार्यक्रमकामा अहिलेसम्म १५ लाखभन्दा धेरै खर्च भएको र सोही कार्यक्रमको तयारीका लागि दुई जना अमेरिका लैजाँदा भएको खर्चसमेत फिर्ता मागेको छ । फिर्ता नभए कानुनी प्रक्रियामा जाने आर्यन फिल्मस्को तयारी छ ।

मुख्य लगानीकर्ता आर्यन फिल्म्सले हात झिकेपछि आयोजकमा चलचित्र प्राविधिक संघ (नेफ्टा), यूएस खबर, फेम नेपाल, आरएन्डएस ग्लोबल फाउन्डेसन लगायत छन् । यद्यपि आयोजकमध्ये एक फेम नेपालका प्रमुख विमलकुमार पछाईंले ढिलो चाँडो कार्यक्रम हुने जिकिर गरे । उनले भने, ‘बाहिर आएका घटना निराधार छन्, केही प्राविधिक कारणले भनेको मितिमा अवार्ड हुन सकेको छैन ।’

त्यसो त केही हप्ताअघि ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ नाम दिइएको एक कार्यक्रममा अमेरिका गएकामध्ये केही अहिलेसम्म नफर्किएको स्रोत बताउँछ । गत जेठ महिनामा ‘दोस्रो स्टार म्युजिक भिडियो अवार्ड-२०२३’ का लागि भन्दै नेपालबाट करिब तीन दर्जन ‘कलाकार’ क्यानडा पुगे । टोरन्टो क्षेत्रस्थित मिसिसागाको पियर्सन कन्भेन्सन सेन्टरको एउटा सानो हलमा भएको अवार्ड समारोहमा मुख्य आयोजक संस्थाका अध्यक्ष अशोक विक भने अनुपस्थित थिए । अवार्डका लागि ‘कलाकार’ भन्दै क्यानडा गएकामध्ये कति चाहिं अहिलेसम्म फर्किएका छैनन् । स्रोतका अनुसार उनीहरु उतै काम खोज्दै र गर्दै बसिरहेका छन् ।

प्रस्तोताको रुपमा उक्त कार्यक्रम गरेर फर्किएका नरेश भट्टराईसँग यसबारे बुझ्दा उनले आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘मलाई आयोजकले अवार्ड कार्यक्रमका लागि बोलायो । म गएँ । सुख-दुःख कार्यक्रम गरें,’ भट्टराई भन्छन्, ‘अवार्ड के कसरी भयो, कति आए, कति आएनन् जस्तो प्रश्नको जवाफ मसँग छैन । आयोजकलाई सोध्नुहोला ।’

विदेशमा ‘अवार्ड’ गर्ने भन्दै ‘कलाकारलाई’ युरोप-अमेरिकालगायत मुलुकमा लैजाने र उतै छाडेर आउने प्रवृत्ति व्यापक छ ।

एक्स्ट्रा अर्डिनरी भिसा’का लागि अवार्ड र सम्मान किन्नेहरु

कला, साहित्य, मनोरञ्जन, खेलकुद, विज्ञान जस्ता क्षेत्रमा असाधरण उपलब्धि हासिल गरेका व्यक्तिलाई अमेरिकाले विशेष भिसा (एक्स्ट्रा अर्डिनरी भिसा) दिंदै आएको छ ।

यसरी एक्स्ट्रा अर्डिनरी भिसा लिएर अमेरिका जानका लागि कतिपयले अवार्ड र सम्मान किन्ने गरेको भुक्तभोगीहरु बताउँछन् । ‘त्यसैले त अवार्ड र सम्मान थाप्नेहरुको लर्कोमा कहिल्यै नचिनिएका ‘कलाकार’हरु उभिएका हुन्छन्,’ स्रोत भन्छ, ‘विभिन्न अवार्ड थापेर, आफ्नो समाचार, फोटो पत्रपत्रिकामा छपाएर सो भिसाका लागि आवेदन दिनेहरुको यहाँ थामिनसक्नु ताँती छ ।’

उनका अनुसार यो भिसाका लागि आवश्यक कागजात तयार गर्न अमेरिकामा बस्ने नेपाली वकिलले नै सहयोग गर्ने गरेका छन् । ‘नेपालमा अवार्ड र सम्मान थाप्न मरिहत्ते गर्नेहरुको पछाडि यही एउटा स्वार्थ छ,’ उनी भन्छन्, ‘यसका लागि कसैले आफ्नो नाममा किताब लेखाएका छन्, कसैले अवार्ड किनेका छन् ।’ नेपालमा बसेर कला–मनोरञ्जन वा खेल–विज्ञानमा आफूलाई स्थापित गर्नु नभई विदेश जानका लागि उनीहरुले यस्तो तारतम्य मिलाउने गरेको उनी बताउँछन् ।

यसले प्रत्यक्ष रुपमै अवार्ड आयोजना गर्नेहरुलाई हौस्याएको छ । यस्ता अवार्ड तथा सम्मान सुयोग्य व्यक्तिलाई भन्दा पनि चलखेल गर्नेहरुलाई दिइने गरेको पाइन्छ । त्यसैले त नेपालमा हुने अधिकांश अवार्डको औचित्यमाथि प्रश्न गर्नुपर्ने बेला भएको पटकथा लेखक तथा फिल्म समीक्षक सामीप्यराज तिमल्सेना बताउँछन् । उनी भन्छन्, ‘यी अवार्डहरु न विश्वसनीय छ न महत्वपूर्ण नै । विदेश जानका लागि भर्‍याङ बनाइदिने भनेर नकारात्मक सन्देश मात्र फैलिएको छ ।’

२०४३ सालमा लायन्स क्लब काठमाडौंले आयोजना गरेको समारोहलाई पहिलो चलचित्रसम्बन्धी प्रदान गरिएको अवार्डको रुपमा मान्दै आइएको छ । उक्त समारोहमा चलचित्रतर्फ कान्छी, अभिनेतातर्फ शिव श्रेष्ठ र अभिनेत्रीतर्फ शर्मिला मल्ल सर्वोत्कृष्ट घोषित भएका थिए । त्यसपछिका दिनमा यस्ता अवार्ड समारोह थपिएका थपिएकै छन् । तर यी अवार्डहरु न त राम्रो काम गर्नेका लागि हौसला बनेको छ न त समाजका लागि गरिमा नै ।

नेपालमा सरकारको तर्फबाट आयोजना गरिने राष्ट्रिय दीर्घसाधना सम्मान तथा पुरस्कार, नेपाल चलचित्र प्राविधिक संघको नेफ्टा अवार्ड, डिजिटल सिने अवार्ड, नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) राष्ट्रिय अवार्ड, कामना चलचित्र अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस चलचित्र अवार्ड, नेपाल चलचित्र कलाकार संघको फान अवार्ड, इनास अवार्ड, ग्लोबल नेपाली फिल्म अवार्डगायतका पुरस्कार तथा सम्मानहरू छन् । यसै हप्ता मात्रै सन् २०२४ को सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने खबर छ । हाल अमेरिका भ्रमणमा रहेका अभिनेता शिव श्रेष्ठ र सुनिल थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले आयोजना गरेको ‘मिट, ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजिक नाइट’ कार्यक्रममा यो अवार्ड हुने बुझिएको छ ।

नेफ्टा, ग्लोबल लगायत केही अवार्डहरु विदेशमा आयोजना हुने गरेका छन् । बाँकी धेरैजसो नेपालमै आयोजना हुने गरेका छन् । यी अवार्डमध्ये केही कोरोना महामारीपछि सुरु हुन सकेका छैनन् । अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन् । न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन् । तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन् । अवार्डपिच्छे कलाकारहरुले फरक-फरक अवार्ड पाएका हुन्छन् ।

अमेरिका होस् या नेपालमा, नेपाली फिल्मका नाममा हुने अवार्डहरुको औचित्य र अर्थ अब लगभग सकिएको टिप्पणी गर्न थालिएको छ । भद्रगोल ढंगले अनेक स्वार्थका नाममा हुने समारोहमा जो पुग्छ उसले अवार्ड पाउँछन् ।

अभिनेता तथा निर्माता दीपकराज गिरी भन्छन्, ‘अवार्ड बिक्रीभन्दा पनि सेटिङमा हुने गरेका छन् । सेटिङ पैसामा मात्रै हुन्न । अवार्डको गरिमासँग कसलाई मतलब छ यहाँ ? उद्देश्य नै अमेरिका छ भने जे उद्देश्य हो त्यो पुगे भइगो नि ।’

फिल्मकर्मी नै भन्छन्, ‘अवार्डको गरिमा नै छैन 

अभिनेता गिरी सम्बन्धित पक्षले यसबारेमा अब चासो राख्नैपर्ने नत्र अवार्ड आयोजना गर्नुको कुनै अर्थ नरहेको बताउँछन् । त्यसो त उनले अधिकांश अवार्ड बहिष्कार गरिरहेको पनि देखिन्छ । उनका अनुसार नेपालमा राम्रा फिल्मलाई अवार्ड दिइन्न, आफन्तका फिल्मलाई दिइन्छ । यस वर्ष दिइएका अवार्डको त झन् बिजोग छ, जुन फिल्मले परिवर्तन र नयाँपन दिन खोजेका छन्, ती फिल्मलाई कुनै अवार्ड छैन ।

फिल्म लेखक सामीप्यराज तिमल्सिना ग्रीन कार्डका लागि यसरी अवार्डको बिक्री वितरण भएको बताउँछन् । नेपालमा वितरण गरिने अवार्ड र अवार्ड विजेताको लिस्ट हेर्दा ती अवार्ड समारोह अमेरिका भासिन किनिने अवार्ड भएको उनको दाबी छ ।

त्यसो त पछिल्लो समय अवार्डको लेनदेन भएको विषय भने चर्को रुपमा उठ्न थालेको छ । फिल्मकर्मी र यो क्षेत्रमा रुचि राख्ने धेरैले अवार्डको हरिबिजोगका बारेमा खुलेर बोल्न थालेका छन् तर अवार्ड आयोजकले यस्ता धारणालाई आफ्नो विरोध गरेको, राम्रो कामलाई देख्न नसकेको जस्ता आरोपले आफ्ना गल्तीमा लेप लगाउने गरेका छन् । यसरी जे पायो त्यो गरेर अवार्ड वितरण गरिंदा राम्रो काम गर्न खोज्ने फिल्म मेकरलाई निरुत्साहित गर्न खोजेको धेरैको गुनासो छ ।

निर्माता तथा पत्रकार अविरल थापा भन्छन्, ‘अवार्ड समारोह गर्ने धेरै कारण छन् । साँच्चिकै चलचित्रको प्रवरद्धन गर्ने टिमले गर्न सकेको छैन । स्वार्थ समूहले गरेको छ अवार्ड, साटफेर किनबेच हुने गरेको छ । विदेश जान र अवार्डको नाममा विजनेस गर्ने गरेका छन् । कतिपय कर्पोरेट संस्थाले आफ्नो ब्राण्डको मार्केटिङको लागि गरेका छन् । तर अवार्डको इज्जत छैन ।’

निर्माता तथा निर्देशक सन्तोष सेनले अमेरिका जान लालयित चलचित्रकर्मीहरु देखेर आफू छक्क परेको बताउँछन् । अमेरिका लगायत विभिन्न देशको स्थायी नागरिक हुन अवार्ड किनबेचले समग्र अवार्डको गरिमा हराएको उनी बताउँछन् । उनी भन्छन्, ‘एउटा यस्तो अवार्ड कार्यक्रम देख्न पाइयोस्, जुन कार्यक्रमलाई हरेक चलचित्रकर्मीले गर्वले भन्न पाइयोस्, यस्तो पो अवार्ड ।’

यद्यपि कलाकार संघका अध्यक्ष मोहन निरौलाको तर्क फरक छ । अमेरिका जानका लागि भनेर कुनै पनि कलाकारहरुको कागजात नबनाएको बताउँछन् । उनले भने, ‘मलाई कलाकार संघको सदस्यमा प्रमाणित गरिदिनुस् भनेपछि त गर्नुपर्‍यो । त्यो डकुमेन्ट लिएर कलाकारहरु कहाँ जानुहुन्छ त्यो हामीलाई थाहा हुने विषय होइन । कसैलाई सम्बोधन गरेर कलाकारहरुको प्रमाणित गर्दैनौं,’ उनी भन्छन्, ‘हामीले कलाकारहरुको प्रमाणित गर्दा निकै अध्ययन गरेर मात्रै प्रमाणपत्र दिन्छौं । कुनै लेटर चाहियो भने जो जससँग सम्बन्धित छ भनेर मात्रै गर्छौं ।’

तर धमाधम कलाकारहरुको अमेरिका पलायन हुने विषयले आफू चिन्तित रहेको निरौला बताउँछन् । राम्रै कलाकारहरु पीआरको लोभमा बाहिर गइरहेको उनले बुझेका छन् । ‘यस विषयमा मुख्य सरकारको दोष छ । सर्वसुलभ रोजगारी दिन सकेको छैन । यहाँ कलाकारले असुरक्षित भविष्य देखेपछि नेपाल सरकारले सोच्नुपर्ने हो नि,’ उनी भन्छन्, ‘चलचित्र क्षेत्रको मात्रै होइन अन्य क्षेत्रबाट पनि दक्ष व्यक्ति पलायन भइरहेका छन् । राज्यले बेलैमा सोचेन भने नेपालमा क्षमतावान् मानिसको अभाव खड्किने पक्का छ ।’

नेफ्टाका अध्यक्ष पुष्कर लामाले बाहिर जानका लागि सिफारिस बनाउन धेरै आउने गरेको स्वीकारे । तर नयाँ सदस्यलाई काम गरेको दुई वर्षपछि प्रमाणित गर्ने गरेको र सिफारिस लेटर कहाँ केका लागि गराएका हुन्छन् भन्ने आफूहरुले अध्ययन गर्ने विषय नरहेको उनी बताउँछन् । ‘हामीले हाम्रा सदस्यहरुका लागि लेखिदिने पत्र जे लेख्नुपर्ने हो त्यो मात्रै लेख्छौं, फेक काम हामीबाट हुँदैन,’ उनी भन्छन् ।

अमेरिका जाने ट्रेण्डबारे आफू जानकार रहेको उनी बताउँछन् । भन्छन्, ‘अधिकांश चलचित्रकर्मी अमेरिका जान खोजेको देखेको छु । फेक डकुमेन्ट त गराउँदैनौं । गलत कि सही हो भनेर कसैले नेफ्टामा अध्ययन गर्न आयो भने स्पष्ट भन्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?