+

बागमतीमा ढुक्क पारस, अबको नजर केन्द्रको पदाधिकारी

२०८० भदौ  १४ गते १९:४७ २०८० भदौ १४ गते १९:४७
बागमतीमा ढुक्क पारस, अबको नजर केन्द्रको पदाधिकारी

१४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ, बाग्मती प्रदेशको साधारणसभा भोलि शुक्रबार हुँदैछ । साधारणसभाले १३ सदस्यीय प्रदेश समिति चयन गर्नेछ । अध्यक्षमा पूर्व कप्तान पारस खड्का र उमेश पियाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

पिया चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष हुन् । ‘पारस भाइ पनि एउटा अठोट लिएर आउनुभएको छ’ पियाले अनलाइनखबरसँग भने, ‘म पनि सबै जिल्लालाई समान अवसर भनेर आएको छु । हेरौं चुनावमा के हुन्छ ।’

पारसलाई सहज

नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिमा जाने लक्ष्यसहित १९ साउन २०७८ मा खेलाडी जीवनबाट सन्यास लिएका पारस ३० साउनमा काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत चयन भएका थिए ।

काठमाडौंका लागि तल्लो मूलपानी, भक्तपुरका लागि सैनिक ग्राउण्ड, ललितपुरका लागि पुल्चोक, चितवनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला र मकवानपुरका लागि गौरीटार मैदान बनाउने पारसको प्रस्ताव छ ।

त्यसको १० दिनपछि ८ भदौमा चार जिल्ला क्रिकेट संघ काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरको समर्थनमा बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

पारसलाई समर्थन गरेका ललितपुर अध्यक्ष शेखर श्रेष्ठ भन्छन्, पारस क्रिकेट खेलेको, बुझेको मान्छे हो । उसको भिजन देखेर समर्थन गरेका हौं ।’ उनका अनुसार जिल्ला समितिका सदस्यहरुले अध्यक्षका आकांक्षी दुबैलाई अलग अलग रुपमा बोलाएर भिजन के छ भनेर सोधेको थियो । पारसको योजना राम्रो लागेपछि समर्थन गरेको भन्दै उनले भने, ‘यो मेरो एकल निर्णय होइन ।’

खड्काले खेलाडी उत्पादन, पूर्वाधार विकासलाई समेटेर ‘भिजन बागमती’ सार्वजनिक गरेका छन्, जसमा उनले सिनियर टिमका लागि दुई दिवसीय फम्यार्टको बागमती एलिट ट्रफी, ५० ओभरको बागमती च्यालेन्ज ट्रफी, राष्ट्रिय टी–२० फ्रेन्चाइज लिग, विदेशी टिमको टूर गर्ने बताएका छन् । पुरुषतर्फ यू–१९ र यू –१६ र महिलातर्फ सिनियर र यू–१९ टिमका लागि प्रतियोगिता गर्ने उनको योजना छ ।

हरेक जिल्लाको मैदान हुनुपर्ने भन्दै उनले सरकार र सरोकारवाला निकायसँग समन्वय गरेर काठमाडौंका लागि तल्लो मूलपानी, भक्तपुरका लागि सैनिक ग्राउण्ड, ललितपुरका लागि पुल्चोक, चितवनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला र मकवानपुरका लागि गौरीटार मैदान बनाउने प्रस्ताव गरेका छन् । नुवाकोटका जिल्लाका लागि भने मैदान टुंगो लागेको छैन ।

बार्षिक क्यालेण्डर बनाउने, खेलाडीहरुका लागि वेलेफेयर फण्ड स्थापना गर्ने, शैक्षिक छात्रवृत्ति कार्यक्रम ल्याउने, बार्षिक रुपमा अवार्ड कार्यक्रम गर्ने र क्लब वा लिगसँग समन्वय गरेर प्रदेश टिमलाई अन्तर्राष्ट्रिय टूर गर्ने उनको योजना छ । यसका लागि चाहिने स्रोत तीन तहको सरकार, विज्ञापन आदिबाट जुटाउने पूर्व कप्तान एवं अध्यक्षका उम्मेदवार खड्काले बताएका छन् ।

अध्यक्षका अर्का उम्मेदवार पिया पनि आफू योजनाका साथ आएको बताएका छन् । प्रदेशको वर्तमान कमिटीमा चितवन सबभन्दा सक्रिय जिल्ला भएको भन्दै उनले भने, ‘हाम्रो आफ्नै योजना छ, सबैलाई विकासमा अवसर दिन्छौं ।’

बागमती प्रदेशमा हाल १३ सदस्यीय कार्यसमिति छ । यसमध्ये अध्यक्ष राजु बस्न्यात र कोषाध्यक्ष अनिल अधिकारीसहित ७ जनाले पारसलाई समर्थन गरेका छन् ।

अधिकारीका अनुसार क्रिकेट गतिविधि गर्न पैसा पहिलो शर्त हो । तर केन्द्रले अपेक्षा अनुसार सहयोग गरेन, आफैं आर्थिक सहयोग जुटाउन गाह्रो छ । त्यही कारण कार्यालय समेत स्थापना गर्न नसकेको भन्दै अधिकारीले भने, ‘पारस आफैं एउटा ब्राण्ड हो र उनले प्रदेशले आफ्नै कार्यक्रम लिएर जान र फण्ड रेज गर्ने भनेपछि हामीले विश्वास गरेका हौं ।’

बागमतीको अंकगणित आफ्नो अनुकुल देखिएकाले पारस केन्द्रको सचिवमा उठ्ने तयारीमा छन् ।

चार जिल्ला र वर्तमान कार्यसमितिका ७ जनाको समर्थन कायमै रह्यो भने भोलिको चुनाव पारसलाई सहज हुने देखिन्छ । ‘३७ मतदातामध्ये २३÷२४ जनाको हामीलाई समर्थन छ’ यद्यपि चुनाव भएकाले यसै भन्न नसकिने पारसले भने ।

अध्यक्षका अर्का उम्मेदवार पिया पनि विगतमा आफूहरुतिर चार जिल्ला भएकोमा अहिले अवस्था उल्टिएको स्वीकार गर्छन् । ‘तर चुनाव के के हुन्छ भन्न सकिन्न । चितवनको चुनाव त तपाईहरुले हेर्नुभएकै छ’, चितवन जिल्लाको चुनावमा खड्का समर्थित प्यानल झिनो मतान्तरले पराजित भएको थियो ।

क्रिकेट संघको विधानअनुसार प्रदेशको साधारणसभामा जिल्ला क्रिकेट संघ भएका हरेक जिल्लाबाट चार चार जना प्रतिनिधि आउनेछन् । बागमती प्रदेशका ६ वटा जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र नुवाकोटमा जिल्ला क्रिकेट संघ छ । प्रदेशको वर्तमान कार्यसमितिका १३ कार्यसमिति सदस्यसँग पनि मताधिकार हुने भएकाले भोलिको साधारणसभामा ३७ जना मतदाता हुनेछन् ।

केन्द्रमा महत्वपूर्ण भूमिका

क्रिकेट संघको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय साधारणसभा असोज असोज ६ र ७ गते बोलाइएको छ ।

चतुरबहादुर चन्दले फेरि अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । कोषाध्यक्ष रोशन सिंह पनि अध्यक्षका आकांक्षी हुन् । त्यसअनुसार नै तल्ला कमिटीको चुनावमा सक्रिय भएका छन्, तर औपचारिक रुपमा उम्मेदवारी भने घोषणा गरेका छैनन् ।

बागमती प्रदेशको अध्यक्षका उम्मेदवार भएका पारस पनि केन्द्रमा आउन चाहन्छन्, तर प्रदेश अध्यक्ष जितेपछि केन्द्रमा पदाधिकारीको उम्मेदवार बन्न सहज हुने भएकाले औपचारिक रुपमा बोलेका छैनन् ।

‘अहिले मेरो प्राथमिकता बागमतीको निर्वाचन जित्ने हो’ उनी भन्छन्, ‘बागमतीको निर्वाचन सकिएपछि अन्य प्रदेशसँग छलफल गरेर अघि बढ्छौं ।’

बागमतीको अंकगणित आफ्नो अनुकुल देखिएकाले उनी केन्द्रको तयारीमा जुटिसकेका छन् । स्रोतका अनुसार पारस क्रिकेट संघको केन्द्रीय सचिव उठ्ने सम्भावना छ ।

आफ्नो खेल करियरका क्रममा क्रिकेटमा देश एकढिक्का बनेको देखेका उनी व्यवसायिक उडान दिन सकिन्छ भन्ने दृढ विश्वासमा छ ।

नेपाल क्रिकेट नेपाल क्रिकेट संघ पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय