+
+
पुस्तक समीक्षा :

डम्फुको आत्मालाप : तामाङ पहिचान र संस्कृति सम्झाउने कथा

प्रेम लामा प्रेम लामा
२०८० भदौ १८ गते ८:००

मूलप्रवाहको नेपालीमा अभ्यस्त पाठकका लागि रोजाइ अनुसारको साहित्यिक कृतिहरु बजारमा छ्यापछ्याप्ती पाइन्छन् । यही भीडमा भक्त स्याङ्तानले तामाङ समुदाय केन्द्रित कथा संग्रह ‘डम्फुको आत्मालाप’ ल्याएका छन् । खस भाषामा अभ्यस्त पाठकलाई उनले प्रयोग गरेका भाषाशैली अनौठो र बुझ्न केही कठिन हुने भएपनि जीवन्त छ, प्राङ्गारिक स्वादको छ ।

०००

सरसर्ती हेर्दा ‘डम्फुको आत्मालाप’ को अर्थ डम्फुको पीडा हो भन्ने जस्तो लाग्छ । यो निर्जीव वस्तु डम्फुको पनि के पीडा हुन्छ होला भन्ने लाग्न सक्छ । तर, कथाकारले डम्फुलाई कुनै निर्जीव वस्तुमा सीमित रहन दिएका छैनन् । आमपाठकले सहजै बुझ्न नसक्ने तामाङ सभ्यताका विम्ब र चित्रलिपिहरु पुस्तकमा चित्रण गरिएको छ । तामाङ समुदायको संस्कृति, पहिचान र जरो बुझ्न सघाउने यो पुस्तक तामाङ संस्कृति अध्ययनका लागि पनि उत्तिकै उपयोगी देखिन्छ ।

लेखकले ‘डम्फुको आत्मालाप’ कथा शीर्षकमा डम्फु पात्रलाई मुख्य केन्द्रमा राखेका छन् । साम्तेन म्हेम्हे र छ्योइसाङ मामको प्रेमको प्रतीकको रुपमा डम्फुलाई देखाएर यथार्थमा तामाङ समुदायको पछिल्लो अवस्थालाई जस्ताको त्यस्तै उतारेका छन् । कथामा च्याङ्बा र डेबिड पात्र पनि छन् । उनीहरुमा तामाङ समुदायका नयाँ पुस्ताको चरित्र देखाइएको छ । जसले आफ्नो पहिचान, रीतिरिवाज, संस्कृति भुलिसकेका छन् । कथा विशेषत साम्तेन, च्याङ्बा र डम्फु वरिपरि नै घुमिरहन्छ ।

डम्फु पात्र निर्जीव भएपनि लेखकले निर्जीव वस्तुमा सीमित हुन दिएका छैनन् । डम्फुको बोलाइ र भोगाइमार्फत तामाङ समुदायको यथार्थ झल्काएका छन् । नयाँ प्रविधिको विकाससँगै डम्फु च्याङ्बाबाट करेसाबारीमा फ्याँकिनुपरेको छ । त्यतिमात्रै नभएर अपरिचित मानिसको हातमा बेचिनु परेको छ । बेचिनु परेपछि सम्तेन म्हेम्हेलाई सम्झिंदै डम्फुले गरेको स्मरणले तामाङ समुदायको संस्कृति र पहिचानलाई दर्साउँछ, झल्काउँछ । डम्फु बजाएर छेवार, विवाह, घेवा लगायतका संस्कारमा संसार उत्पत्तिको काइरन सुनाइन्छ । तामाङ जातिको इतिहास र संस्कृतिको इतिवृत्तान्त गाइन्छ । जीवन र मृत्यु, आकाश र पाताल, मान्छे र देवताबीचका अनेकन मिथकहरु खोतलिन्छ ।

डम्फुको उत्पत्तिबारे पनि लेखकले उल्लेख गरेका छन् । बोराभित्र कोचिएर बेचिनुपर्दाकोे पीडा माझ नै आफ्नो उत्पत्तिको स्मरण डम्फुले गरेका छन् । पटक–पटक बेचिंदा गैर तामाङको हातमा पर्ने त्रास डम्फुमा देखाएर तामाङ समुदायकै छातीमा तिखो सियोले चसचस घोचे झैं महसुस लेखकले गराएका छन् ।

कथामा डम्फुको भोगाइ, पीडा, वेदना, आग्रहलाई यसरी प्रस्तुत गरिएको छ,…साम्तेन म्हेम्हे ! तपाईंले धेरै पटक मसँगै तामाङ इतिहासको पीडा गाउनुभएको छ । विसं. १९१० को मुलुकी ऐनपछि तामाङ जाति मासिन्या मतुवालीमा दर्ज भएको त्यो कथा । तपाईंको आखेहरु सरकारको झाराभर्न जाँदा भोकभोकै बस्नु परेको त्यो कथा । नमासिन्या मतुवालीहरुले खाना खाजा पाउँदा मासिन्या मतुवालीलाई खाजा पनि नदिनू भनेर राणा सरकारले गरेको उर्दीको त्यो कहर । तामाङलाई माथिल्लो जातकाले कमरा बनाउन पाइने र मारेमा पनि कहीं कतै उजुरबाजुर नलाग्ने अत्याचारको ती नालीबेली । जात नै खोसिएपछि तामाङ लेख्न पाउने अधिकार पुनर्बहाली भएको त त्यही श्री ३ भीमशमशेरको पालादेखि न हो ।

म सम्झिरहने छु म्हेम्हे-तपाईंले नै सुनाउनुभएको थियो तामाङहरुलाई भारी बोक्ने पिपा बनाएको अन्यायी कानुनको कारुणिक गीत । भीमफेदीबाट राणाहरुका लागि भोकभोकै काँधमा नोल हालेर काठमाडौंमा गाडी भित्र्याउँदाको दारुण दुःखमा पनि हजुरका बाउबाजेले हाम्रा बाउबाजेलाई माया गरिरहनुभयो । झर्को मानेर कहिल्यै मिल्काउनु भएन ।

हो, म्हेम्हे मलाई बेचिनबाट बचाउनुस् । यो सोकेसबाट निकाल्नुस् । मलाई तपाईंको पापी छोरा च्याङ्बाले बेचिदिएको हो । म तपाईंसँगै रहन चाहन्छु । तपाईंकै काखीमा च्यापिएर जुगौंजुग गाइरहन चाहन्छु म । च्याङ्बाको त बुद्धि बिग्रियो बिग्रियो । तर, तपाईंकै नाति–पनातिले पनि त इतिहासको काइरन सुन्नुपर्छ नि ?

डम्फुका यी भोगाइ, पीडा, वेदना र बिलौनालाई देखाएर लेखकले तामाङ समुदायको खस्कँदो पहिचान, संस्कृति र इतिहासलाई चित्रण गरेका छन् ।

लेखकले अर्को कथा ‘याम्बुमा लाक्पाको संघर्ष’ मा लाक्पा र पाराङ दुई पात्रलाई केन्द्रमा राखेर मुलुकको पछिल्लो राजनीतिक विम्बलाई उदाङ्गो पारेका छन् । तामाङ समुदायका युवाहरुलाई राजनीतिक दलका नेताहरुले कसरी प्रयोग गर्छन् र स्वार्थपूर्ति भएपछि इन्काउन्टरको नाममा मारिन्छ भन्ने कुरालाई लाक्पामार्फत उदाङ्गो पारेका छन् ।

व्यक्तिगत वा समूहगत फाइदा वा राजनीतिक दलगत स्वार्थका लागि तामाङ युवाको इमानदारी र निडरतालाई राजनीतिक दलले भरपुर प्रयोग गर्छन् । रगतमै बसेको पहिचान वा दक्षता भनेको लडाकु स्वभाव हो । शारीरिक हिसाबले बलिया हुनु, लडभीड गर्न दरिलो, आँटिलो र बहादुर हुनु, कसैको रक्षार्थ लड्नुपरे उसलाई बचाउन इमानदारीपूर्वक लडभीड गरेर मार्न–मर्न तयार हुनु । यही इमानदारी र बहादुरीको शासक वर्गले दुरुप्रयोग गरिरहे, गरिरहेका छन् । तर यो इमानदारी र बाहदुरीलाई राज्यको हितमा लगाउने हो भने मुलुकको सम्पत्ति सावित हुनेथियो । विडम्बना, सधैं वञ्चित र किनारा लगाइएका तामाङहरुको क्षमताप्रति शासकले सधैं शंका मात्रै गरिरहे । त्यसैले सधैं तामाङ युवाहरुको क्षमताको प्रकट रुपहरु आपराधिक भइदिए ।जुन कुरा लेखकले लाक्पामार्फत ओकलेका छन् ।

परिस्थिति र प्रलोभनमा अपराधी दरिएका लाक्पाहरुको इमानदारी र बहादुरीसँग शासकहरुसधैं तर्सिरहन्छन् । कुनै पनि बेला आफूलाई असुरक्षित हुने देखेपछि एउटा नाटक रच्छन् र इन्काउन्टरको सफाइ दिन्छन् ।

लेखकले लाक्पाहरुको नियतिलाई देखाएर देशमा बदलिएको शासनले तामाङ जातिलाई कहिल्यै नछोएको र अनागरिक सरह भएर बस्नुपरेको उल्लेख गरेका छन् । समानताको ब्रान्डेड नारा लगाउनेहरुले यही असमानताको दूरी नदेखेसम्म वा देखेर पनि बेवास्ता गरिरहेसम्म शासक वर्गहरुले लाक्पाहरु जन्माइरहने छन् र डनको बिल्ला भिराइरहने छन् । लाक्पाहरुबाट भरपुग काम लिनेछन् र अन्त्यमा इन्काउन्टरमा मारिएका तथ्यांक बनाइरहनेछन् । समृद्धिको मिठो सपना फिजाउँदै उधारो भोट किनीरहन्छन् र शासन चलाइरहने छन् ।

अर्को कथा ‘लुङदर’ मा दावा र डोल्मूको प्रेमकथालाई प्रस्तुत गरेका छन् । सिन्धुपाल्चोकको हिमाली गाउँ भोताङकी डोल्मु चरम गरिबीसँग जुध्दै मेलम्चीमा आएर पढ्ने क्रममा दावासँग प्रेममा पर्छिन् । तर, दावालाई थाहै नदिई बीचैमा पढाइ छाडेर उनी माओवादी जनयुद्धमा होमिन्छिन् । पछि अयोग्य माओवादी लडाकुको बिल्ला भिरेर उनी विदेश भासिन्छिन् । दावासँग भेट्ने मिठो सपना बोकेर स्वदेश फर्किने क्रममा दुर्घटनामा परेर डोल्मूले ज्यान गुमाउँछिन् ।

लेखकले ‘छ्योर्तेन’मा आफ्नो सन्तानप्रति बुबाआमाको माया कस्तो हुन्छ भन्ने कुरा रिचेन दोर्जे, चरिमाया र साङ्गे पात्रमार्फत देखाएका छन् । छोरा (साङ्गे)को सपना साकार पार्न श्रीमती (चिरिमाया)को मृत्युपछि उनको सम्झानामा बनाएको ‘छ्योर्तेन’ रहेको जमीन समेत (बुबा) रिचेनले बेचेका छन् । तर, उच्च शिक्षा अध्ययनका लागि यम्बु (काठमाडौं) छिरेका साङ्गेले बाटो बिराउँदा उनले नै चलाएको मोटरसाइकलको ठक्करबाट रिचेन घाइते हुन पुग्छन् । यो कथाको अन्तिम प्रस्तुति अत्यन्तै मार्मिक र पीडादायी छ ।

लेखकले ‘न्होरला’ कथामा डिभोर्सी पात्रका जीवन भोगाइलाई सरल र सहज ढंगले प्रस्तुत गरेका छन् । डिभोर्सी श्रीमती (सोनिया) र श्रीमान (रामबहादुर तामाङ) पात्रलाई पुनर्मिलन गराउने प्रयास उनीहरुको एक्ली छोरी न्होरलाले गर्छिन् । रामबहादुरलाई भेट्ने तीव्र इच्छा राखेर अमेरिकाबाट सोनिया र न्होरला नेपाल फर्कन्छन् । तर उनीहरुबीच पुनर्मिलन नभई कथा सकिन्छ ।

‘छेदिङमो‘ कथामा काभ्रेको महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल नमोबुद्धको बारेमा मिहीनढंगले प्रस्तुत गरिएको छ । यो कथामाछेदिङमो र दोर्जे मुख्य पात्र छन् । जुन पात्रमार्फत लेखकले यम्बु र नमोबुद्धलाई केन्द्रमा राखेर वियोगान्त कथा प्रस्तुत गरेका छन् ।

‘बुट्टे गलबन्दी’ कथामा लेखकले कारसाङ र पाल्मोको प्रेमकथा प्रस्तुत गरेका छन् । पाल्मोले आफ्नो प्रेमिका कारसाङका लागि बुट्टे गलबन्दी बुनेकी हुन्छिन् । तर मरिण खोलाले कारसाङलाई सदाका लागि चुँडेर लैजान्छ । बुट्टे गलबन्दी कारसाङलाई उपहार दिने उनको सपना अधुरै रहन्छ । कारसाङको अस्तु सेलाउनुअघि थुन्दासोर्वा (मृतकलाई बाटो खर्च दिने संस्कृति) गर्ने क्रममा पाल्मोले उक्त बुट्टे गलबन्दी चढाउँछिन् ।

०००

तामाङ भाषा, पहिचान, संस्कृति आफैंमा समृद्ध छ । तर पछिल्लो समय यो जातिको पहिचान र संस्कृति पुस्तान्तरणको क्रम घट्दै गएइरहेको छ । जसको संरक्षणमा राज्यको ध्यान पुग्न नसकेको समयमा भक्त स्याङतानको यो पुस्तकले तामाङ जातिको पहिचान र संस्कृति संरक्षणमा टेवा पु¥याउने देखिन्छ ।

पुस्तकमा समेटिएका कथाहरुमा पात्र, तिनका चरित्र, भोगाइ, धर्म, संस्कृति र पहिचानमा तामाङ समुदायका विम्ब झल्किन्छन् । एउटा कथा भने नेवार संस्कृति र अधिकार विषय वरपर केन्द्रित छ ।

काठमाडौं उपत्यका वरिपरिका जिल्लामा बढी बसोबास गर्ने समुदाय हो तामाङ समुदाय । जुन समुदायलाई राज्यको दमनमा पारेर हरेक रुपले समाजको पिंधमा पारिएको छ । तामाङ जातिमाथिको उत्पीडनको श्रृँखलालाई लेखकले पुस्तकमा बडो सहज र सटिक ढंगले प्रस्तुत गरेका छन् ।

लेखकले कथाका पात्रहरुलाई कैयौं पटक जानी जानी दुःखको अनन्त सागरमा ठेलेका छन् । उनीहरुको प्रिय मान्छेसित अलग गराएका छन् । कैयौं पटक तिनमा अथाह साहस भरिदिएका छन् । सफलताको उन्नतिमा पुर्याएका छन् ।

सबै समुदायको आ-आफ्नै विशिष्ट परिचय र पहिचान हुन्छन् । तामाङ समुदायको पनि आफ्नै पहिचान छ, त्यो हो डम्फु । यो बाजा अरु समुदायकाले बजाउँदैनन् । तामाङको प्रत्येक संस्कारमा अघिअघि डम्फु हिंड्छ । डम्फु बजाउँदै संसारको उत्पत्तिदेखि मानव जीवनका हरेक विषयवस्तुलाई गीतकै माध्यमबाट कथावाचन गर्ने लोभलाग्दो तामाङ संस्कृति पुस्तकमा समेटिएकाछन् । ताम्बा वा डम्फुरेहरु डम्फु बजाउँदै इतिहासका मिथहरु वाचन गर्छन्, सेलो गाउँछन्। जन्मदेखि मृत्यु संस्कारसम्म डम्फुसँगै हुन्छन् । डम्फुको अनुपस्थितिमा कुनै पनि संस्कार वा पर्वको परिकल्पना गर्न सकिंदैन ।

तर आधुनिक गीतसंगीतको बजार विस्तारले तामाङ पहिचान र संस्कृतिमाथि भइरहेकोप्रहारलाई पुस्तकमा उदाङ्गो पारिएको छ ।डम्फु निर्जीव वस्तु हो । उसको कुनै भोगाइ हुँदैन । पीडा हुँदैन । तर पुस्तकमा डम्फु बोलेका छन् । आफ्नो इतिहास, संस्कृति र पहिचान स्मरण गरेका छन् । आफूलाई उत्पत्ति गराउने समुदायबाटै अपहेलित हुनुपरेको र अन्तिममा बेचिनु परेको पीडा पोखेका छन् ।

प्रतीकात्मक रुपमा डम्फुको यी बोलाइ र भोगाइ तामाङ समुदायको हो ।पछिल्लो समय यो समुदायका नयाँ पुस्ताले आफ्नो पहिचान र संस्कृति भुल्दै गएका छन् । डम्फुको उकुसमुकुसलाई देखाए यो समुदायका नयाँ पुस्तालाई आफ्नो पहिचान र संस्कृतिको संरक्षण गर्न कथाले उत्प्रेरित गरेको छ ।

अधिकांश पाठक मूलप्रवाहको नेपाली साहित्यमा अभ्यस्त छन् । वर्चस्वशाली जमातको मनोविज्ञान चिर्दै लेखकले तामाङ समुदाय केन्द्रित कथा संग्रह ल्याउनु चुनौतीपूर्ण देखिन्छ । मूलधारको साहित्यमा लामो समयदेखि गाडिएको मनोविज्ञान चिर्न लामै समय लाग्न सक्छ । भक्त स्याङतानको यो कथा संग्रहले त्यो मनोविज्ञानलाई चिरेर कसरी अगाडि बढ्ला, भविष्यले नै बताउने छ ।

लेखकले आफूले देखेका, भोगेका, भेटेका र सुनेका कथाहरूलाई लिपिबद्ध गरेर तयार पारेको यो कथा संग्रह सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो । लुङ्दर, छ्योर्तेन, न्होरला, छेदिङमो, जलजला, म्लाङगैको आपा, पेम्बाको कथा, दलुचा, डम्फुको आत्मालाप, याम्बुमा लाक्पाको संघर्ष  र बुट्टे गलबन्दी गरी ११ वटा कथा संग्रह समावेश छन् । जहाँ तामाङ समुदायका पात्र, तिनका शारीरिक संरचना, भाषिक र संस्कृति पहिचान उल्लेख छन् । २२३ पृष्ठको कथा संग्रहको मूल्य ४७५ रुपैयाँ छ ।

लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?