+
+

शीर्षक विवादमा ‘एक भगवत् गीता’ निर्माताले भने- आस्थामा चोट पुर्‍याउने उद्देश्य होइन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १७:०१

काठमाडौं । फिल्म ‘एक भगवत् गीता’लाई यतिबेला शीर्षकमाथिको चर्चाले पछ्याइरहेको छ । शीर्षकमा आपत्ति जनाउँदै केही व्यक्ति र संस्थाले चलचित्र विकास बोर्डमा उजुरी पनि दिएका छन् ।

तर निर्माताले नाम नै परिवर्तन गरेपछि विरोधको अर्थ नरहने बताउँदै आएका छन् । फिल्मको ट्रेलर सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलन पनि फिल्मको शीर्षकमै केन्द्रित रह्यो ।

शीर्षकबारे मिडियाले राखेका जिज्ञासालाई निर्देशक, निर्माता र कलाकारले शान्त तुल्याउने प्रयत्न गरे । निर्माता सुनिलकुमार थापाले फिल्मको नाममा ‘एक’ थप्ने तयारी भइरहेको बताए । यसका लागि बोर्ड अध्यक्ष भुवन केसीले सोमबार बोलाएको उनले जनाए ।

सुनिलले यसबारे भने, ‘एक थप्नु कसैको विरोध आएर होइन । एकको अर्थ एकता हो । हाम्रा पहिलेका फिल्म एबाट सुरु हुन्थे । बोर्डमा एक थप्न गएको, अहिलेसम्म दिनुभएको छैन । भुवन केसीसँग कुरा हुँदा फिल्मलाई लिएर दिनहुँ जुलुस आएको भन्नुहुन्छ । अब सोमबार बोलाउनुभएको छ ।’

उनले केदारनाथ तीर्थयात्रा जाँदा आफूले एक ट्रान्स व्यक्ति भेटेको र ती व्यक्तिले बाढी प्रभावितलाई उद्धार गरेर पुण्य गरेको देखेपछि उनकै व्यक्तित्वबाट प्रभावित भएर कमलामाई पात्रको निर्माण गरेको सुनिलले बताए । ‘उहाँ सबैको आदर्श हुनुहुँदो रहेछ । उहाँलाई काठमाडौंमा झरना र सुहानाले भेटेपछि फ्यान हुनुभयो । अनि फिल्म बनेको हो,’ सुनिलले भने ।

अभिनेता विपिन कार्कीले भगवत् गीतामाथि फिल्म बनाउनु कसैको आस्था र धर्ममाथि चोट पुर्‍याउनु नरहेको बताए । ‘हाम्रो हजुरबुवा उमेरका दर्शकलाई भागवद् गीतामाथि फिल्म बनेछ, हेर्न जाऊँ न त भन्ने लाग्ला तर त्यो होइन । अहिले भगवत् गीता हो,’ विपिनले भने ।

अभिनेत्री तथा निर्मात्री सुहाना थापाले पनि यही सन्दर्भको जवाफ दिइन् । ‘भागवद् गीता ग्रन्थ त छ तर कसैको आस्थामा भोट पुर्‍याउने उद्देश्य होइन । हामी कर्मयोगबाट प्रभावित भएका हौं । कर्ममा हरेक मान्छेलाई च्वाइस हुन्छ । त्यही आधारमा अवधारणा बनाउने हो । यो धेरै ठूलो इस्यु होइन । इस्यु बनाउन पनि जरुरी छैन,’ उनले भनिन् ।

पत्रकार सम्मेलनमा निर्देशक झरना थापाले पनि यसबारे उठेका प्रश्नको जवाफ दिइन् । फिल्ममा धीरज मगरको समेत शीर्ष भूमिका छ । शुक्रबार रिलिज भएको ट्रेलरले फिल्मको कथावस्तु र चरित्र निर्माणबारे धेरै पक्षको खुलासा गर्छ ।

यो फिल्म भदौ २९ गते रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?