+
+

पहिलो पटक सरकारले पनि जनताको काम गर्दोरहेछ भन्ने भएको छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १२:१०

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपहासचिव वर्षमान पुन अनन्तले देशमा पहिलो पटक सरकारले पनि जनताको काम गर्दोरैछ भन्ने सन्देश प्रवाह भएको बताएका छन् ।

गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिबार उद्घाटन गर्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए ।

भ्रष्टाचार विरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै उनले समग्र मुलुकको शद्धीकरणका लागि थालिएको बताए ।

पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरुमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी भएको पनि बताए ।

 ‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ,’ उनले भने, ‘उत्पादन, श्रम वा उद्यम/व्यवसाय गरेर कमाउने नभइ सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ । बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ ।’

पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने दाबीसमेत गरे ।

राज्यप्रति जनताको विश्वास कमजोर भइरहेको अवस्थामा राज्य मेरो अभिभावक हो भन्ने भावना पैदा नगराएसम्म जनतामा राजनीतिक  नेतृत्वले विश्वास आर्जन गर्न कठिन रहेको पुनले स्वीकार पनि गरे ।

फरक प्रसंगमा पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्याय माओवादीको एजेन्डा भए पनि पछि सबै दल सोही एजेन्डामा आएको स्मरण गरे । तर, पछिल्लो समय अभ्यासका क्रममा भएका कमजोरीले ती एजेन्डामाथि प्रश्न उठ्न थालेको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?