+
+

जन्मिनेबित्तिकै चोरी भएको छोरालाई ४२ वर्षपछि भेट्दा…

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १३:५०

यो पीडादायी कथा एक यस्ता आमाछोराको हो जो ४२ वर्षअघि बिछोडिएका थिए । मारियाले अस्पतालमा बच्चा जन्माउने बित्तिकै अस्पतालका कर्मचारी आएर उनको बच्चालाई लिएर गएका थिए । पछि उनलाई त्यो छोरा फिर्ता दिइएन र उल्टै बच्चा मर्‍यो भनियो । तर ती शिशुको मृत्यु भएको थिएन । त्यसैले अहिले ४२ वर्षपछि आएर ती आमा छोराको भेट भएको छ ।

यो घटना दक्षिण अमेरिकी देश चिलीको भाल्डिभियामा भएको हो । जिमी लेपर्ट थेडनले ४२ वर्षको उमेरमा आफ्नी आमा मारियासँग भेट गर्ने मौका पाएका छन् । त्यो मार्मिक क्षणपछि उनले आफ्नी आमालाई ४२ वर्षको भरपाई हुनेगरी अँगालो हाले ।

जिमीले गत अप्रिलमा आफ्नो परिवारको खेाजी गर्ने अभियान सुरु गरेका थिए । उनले एउटा गैरसरकारी संस्थाको बारेमा पढेका थिए जसले धर्मसन्तानको रुपमा रहेका बच्चाहरुलाई उनीहरुका वास्तविक बुवाआमा तथा परिवारसँग भेटाउने काम गर्दथ्यो ।

उक्त संस्थाले चिलीको राजधानी सेन्टियागोस्थित एक अस्पतालमा जिमी गर्भको समय नपुग्दै जन्मिएको पत्ता लगायो । उनलाई इन्कुबेटरमा राखियो र आमालाई अस्पतालबाट घर जान भनियो । जब उनी पुनः अस्पताल आएर आफ्नो छोरा खोजिन् तब अस्पतालले शिशुको मृत्यु भएको र शवको पनि अन्त्येष्टि भैसकेको जवाफ दियो ।

अमेरिकाबाट एपीलाई दिएको अन्तरवार्तामा जिमीले भनेका छन्, ‘मसँग मलाई धर्मसन्तान बनाएर लगिएको कागज छ जसमा मेरो कोही पनि आफन्त जीवित नरहेको उल्लेख छ । मलाई केही महिनाअघि मात्रै थाहा भयो कि मेरी आमा हुनुहुन्छ र चारवटा भाइबहिनी छन् ।’

जिमीले वकालत पेसा गर्दै आएका छन् र आफूजस्तै अनाथ बालबालिकालाई सहयोग गर्दछन् । जिमीलाई उनकी आमासँग भेटाइदिएको चिलीको सो गैरसरकारी संस्थाका अनुसार सन् १९७० तथा १९८० को दशकमा दशौं हजार बच्चाहरुलाई उनीहरुका परिवारबाट छुट्ट्याइएको थियो ।

चिलीको प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा संस्थाले यस्तो ठहर गरेको छ । सो रिपोर्टमा देश छाडेर गएका तर कहिल्यै नफर्किएका बच्चाहरुको कागजपत्र तथा पासपोर्टको समीक्षा गरिएको छ ।

सो गैरसरकारी संस्थाका संस्थापक तथा निर्देशक भन्छन्, ‘वास्तविकता के हो भने ती बच्चाहरु गरिब परिवार तथा गरिब महिलाहरुबाट चोरिएका थिए जसलाई केही पनि थाहा थिएन । उनीहरु आफ्नो बचावट कसरी गर्ने भन्ने कुरा पनि जान्दैनथे ।’

उनका अनुसार पछिल्लो ९ वर्षमा संस्थाले ४५० भन्दा धेरै त्यस्ता धर्मसन्तानलाई उनीहरुका वास्तविक परिवारसँग भेट गराइदिएको छ ।

अमेरिकामा अन्य गैरसरकारी संस्थाहरुले पनि यस्तै काम गरिरहेका छन् । उनीहरुले तस्करीका सम्भावित पीडित र चिलीका अन्य बच्चाहरुका लागि निशुल्क रुपमा डीएनए परीक्षणको सुविधा उपलब्ध गराउँछन् ।

जिमीको डिएनए परीक्षण गर्दा उनी शतप्रतिशत रुपमा चिलीको बच्चा रहेको पुष्टि भयो । उनका भतिज नाता पर्ने एकजना युवकले पनि MyHeritage प्लाटर्फमको प्रयोग गर्दथे । दुवै जनाको डीएनए मिल्न पुग्यो । त्यसपछि उनले ती युवकलाई आफ्नो धर्म सन्तानवाला कागजपत्र पठाइदिए । जसमा उनलाई जन्म दिन आमाको घरको ठेगाना थियो । साथै आमाको नाम मारिया पनि लेखिएको थियो । ती युवकले आफ्नी आमाको आफन्त पर्ने एकजना महिलाको नाम पनि मारिया रहेको बताए । तर मारियाको फोन उठिरहेको थिएन । त्यसपछि जिमीले आफ्नी पत्नी र छोरीको तस्वीर पनि उनलाई पठाए । अन्ततः उनले आफ्नी आमा चिलीमा रहेको पत्ता लगाए ।

त्यसपछि उनी आफ्नी पत्नी जोन्नाह र दुई छोरीलाई लिएर चिली गए । अनि उनी आफ्नी आमाको घरमा पुगे । आमाको घरमा छिर्दा बित्तिकै उनले आमालाई ४२ वटा रङ्गीबिरङ्गी  बेलुन दिए र ती सबैलाई एक एक गरी फोडे । आमासँग बिछोडिएका ४२औं वर्षको प्रतिक थियो त्यो।

छोरालाई देख्ने बित्तिकै आमाले भनिन्, ‘छोरा तिमीलाई थाहा छैन मैले तिम्रा लागि कति महासागर भरेर आँसु बगाएँ । मैले कति रात जागेर भगवान सँग प्रार्थना गरें कि तिमी कहाँ छौं भन्ने कुरा थाहा नपाउन्जेल म नमरुँ भनेर ।’

जनरल अगस्टो पिनोशेको १७ वर्षको शासनकालमा चिलीमा बाल तस्करीलगायतका विभिन्न मानव अधिकार उल्लंघनका घटना भएको बताइन्छ ।

उनले सन् १९७३ को सेप्टेम्बरमा वामपन्थी राष्ट्रपति साल्भाडोर अलान्डेलाई सत्ताच्यूत गरी चिलीको सत्ताको बागडोर हत्याएका थिए ।

उनको तानाशाही शासनकालमा चिलीमा कम्तिमा ३ हजार ९५ जना मानिस मारिनुका साथै हजारौँलाई राजनीतिक कारणले यातना दिनुका साथै जेलमा हालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?