+
+

आफ्नै दूतावासको उजुरीले ८७ दिन यूएईको जेलमा थुनिएँ…

एउटा स्ट्याटसका कारण यूएईमा पक्राउ परेका उमाकान्त पाण्डेको बयान

उमाकान्त पाण्डे उमाकान्त पाण्डे
२०८० भदौ १६ गते १९:०९

मैले सामाजिक सञ्जाल फेसबुकमा जम्मा ३६ शब्द लेखेको थिएँ, जसको कारण म दुबईमा पक्राउ परेँ ।

यूएईमा भिजिट भिसामा गएका नेपालीले पाएको दुःख र त्यहाँ नेपाली दूतावासले गर्ने रवैयाप्रति मेरो छोटो टिप्पणी स्ट्याटसमा थियो । त्यो पनि नेपाल सरकारका हाम्रै निकायहरुप्रति लक्षित गुनासो थियो, यूएई सरकारप्रति लक्षित होइन ।

यूएईमा जाँदा नेपालीले भोगिरहेको सास्तीबारे पनि लेखेको थिएँ । त्यसैका आधारमा यूएईस्थित नेपाली दूतवासले मेरोविरुद्ध स्थानीय प्रशासनमा उजुरी दियो र ८७ दिनसम्म जेल हाल्यो ।

म २००७ फेब्रुअरी १६ तारिखदेखि यूएईमा बस्दै आएको छु । अहिले १७ वर्ष भयो । म, मेरो श्रीमती र छोरा गरी परिवारै युएई बस्दै आएका छौं । यूएईमा म रोजगारीमा पनि संलग्न छु । बचेको समयमा म नेपाली समुदायबारे परोपकारी पत्रकारिता पनि गर्दै आएको थिएँ ।

तत्कालीन यूएईका लागि नेपाली दूतावासका नेपाली कर्मचारीले मेरोविरुद्ध उजुरी गरेका रहेछन् । जब ती कर्मचारी झुक्किएर मलाई सोधपुछ गरिरहेको कोठामा आइपुगे, त्यसबाट नै मैले यो कुरा थाहा पाएको थिएँ ।

मैले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस बिदामा नेपाल आउँदा पोष्ट गरेको थिएँ । जब यूएई फर्किंए, त्यसलगत्तै मलाई त्यहाँको प्रशासनबाट फोन आयो । त्यतिबेला त मलाई कारण भनिएको थिएन । केही जानकारी चाहिएको छ मात्र भनिएको थियो ।

तर, म जब त्यहाँ गएर सुरक्षा अधिकारीहरुलाई भेटेँ, त्यसपछि केहीबेरमै थाहा भयो कि मेरोविरुद्ध मेरै देशको दूतावासले उजुरी गरेको रहेछ । त्यसबारे मैले अघिल्लो दिन नै छनक पाएको भएपनि म त्यहाँ जानुअघि नै दूतावास जान्थेँ होला ।

मेरो स्ट्याटस व्यक्तिलाई इंगित गरेर लेखिएको थिएन । कसैलाई चित्त दुखेको भए माफी पनि माग्थेँ होला । तर, मलाई पराइ भूमिमा मेरो देशको अभिभावकीय निकायले नै त्यसबारे छनकसम्म नदिई उजुरी दिएको रहेछ ।

त्यो स्ट्याटस लेखेर फर्किएपछि पनि म कयौं पटक नेपाली दूतावास पुगेको थिएँ । तर, मलाई कसैले केही भनेका थिएनन् । यो किन लेखेको, यसबारे प्रमाण छन् कि छैनन् ? भनेर मलाई कुनै पनि अधिकारीले सोधेनन् । न त्यहाँ भनिएको कुराबारे छानबिन गर्नु जरुरी होला भन्ने नै ठानेँ ।

जब मलाई त्यहाँको अनुसन्धान ब्यूरोले बोलायो, सोधपुछका क्रममा ६/७ मिनेटपछि मैले थाहा पाएँ आफ्नै दूतावासले उजुरी हालेको रहेछ । तत्कालीन यूएईका लागि नेपाली दूतावासका नेपाली कर्मचारीले मेरोविरुद्ध उजुरी गरेका रहेछन् । जब ती कर्मचारी झुक्किएर मलाई सोधपुछ गरिरहेको कोठामा आइपुगे, त्यसबाट नै मैले यो कुरा थाहा पाएको थिएँ ।

खासमा त्यतिबेला मुद्दाका वादी र प्रतिवादी दुवैलाई बोलाइएको रहेछ क्यारे । उनी झुक्किएर आएका बेला मैले ‘उनी त मेरो साथी हो’ भनेको थिएँ । दूतावासमा जाँदा कयौं पटक उनलाई भेटेको थिएँ । उनीसँग चिनजान थियो ।

त्यतिभन्दा अनुसन्धान अधिकारीले मलाई ‘तैंले चिन्छस्, उसैको कारण त तँ यहाँ छस्’ भन्यो । लगत्तै मलाई मैले लेखेका पुराना स्ट्याटस पनि देखाइयो । दूतावासले दिएको उजुरीको कागज पनि देखाएर अरु सोधपुछ ग¥यो । नेपालमा जस्तो पक्राउ पूर्जी दिने, सोधपुछ गर्ने यूएईमा हुँदो रहेनछ ।

मेरो बुझाइमा आफ्नो राष्ट्र, राष्ट्रियता र आफ्ना नागरिकको रक्षाका लागि भनेर विदेशीमा दूतावास खोलिन्छ । आफ्ना नागरिकको प्रतिनिधिको रुपमा दूतावास रहन्छ । त्यहाँ पठाइने राजदूतले आफ्ना नागरिकहरु ज्यान मार्ने मुद्दामा परेका छन् भने पनि उनीहरुको पक्षमा पैरवी गर्नुपर्ने हाम्रो हकको कुरा हो भन्ने लाग्छ ।

तर, मेरो सन्दर्भमा आफ्नो मुलुकको प्रतिनिधि नै विपक्षमा भइदियो । मेरैविरुद्ध लागि दियो ।

म लामो समय यूएईमा बसेर पत्रकारिता गर्दै आएको छु । त्यसक्रममा म कयौं पटक दूतावास पुगेको छु । हामी नेपालीलाई हेर्ने राज्य भनेकै त्यही दूतावास हो । दूतावासलाई मैले ‘नेपाल घर’ पनि भन्ने गर्छु । पहिले पनि काम गर्दा अनेकौं पटक दूतावासमा जोडिन्थें । कहिलेकाहीँ मनमुटाव पनि हुन्थ्यो होला । तर, त्यो लामो समयसम्म रहन्नथ्यो । समाधान भइहाल्थ्यो ।

सोधपुछ गर्ने व्यक्तिहरुले पनि यो हाम्रो लागि ठूलो विषय होइन । तर, तेरो सरकारले, तेरो राज्यका प्रतिनिधिहरुले तँलाई यहाँबाट पठा, डिपोर्ट गर भनेर कडा रुपमा पत्राचार गरेको छ हेर भनेर देखाउँथे ।

हामीले गरेको पत्रकारिकता पनि सकेसम्म दूतावासलाई बलियो बनाउँ, त्यहाँको बेथितिलाई कम गरौं, हामी बलियो बनौं भन्ने नै हो । दूतावासलाई बलियो बनायौं भने हामी बलियो हुन्छौं ।

तर, दूतावास आफैंले मसँग त्यस्तो प्रतिशोध साँध्नुपर्ने, राजदूत आफैंले प्रतिशोध साँध्नुपर्ने व्यवहार मैले गरेको थिएँ जस्तो लाग्दैन । मैले जान, अञ्जानमा त्यस्तो गल्ती गरेको भएपनि मलाई भन्दा हुन्थ्यो, उहाँहरु त हाम्रो अभिभावक हो ।

तर, उहाँहरुले केही भन्नुभएन । एक्कासी पत्राचार गरेर मुद्दा हाल्नुभएको रहेछ । यतिसम्म कि मलाई मुद्दा हालेको महिनौं दिनसम्म पनि हाम्रा देशका प्रधानमन्त्री, तत्कालीन गृहमन्त्री, परराष्ट्रमन्त्रीहरु सबैलाई दूताबासले गलत ब्रिफिङ गरिरह्यो ।

हामीले उजुरी दिएकै होइन, दूतावास यस्तो गलत गतिविधिमा संलग्न नै छैन भनेर राजदूतले आफ्नो डिफेन्स गरिरहनुभयो । मलाई त्यति बेला नै म गलत रहेनछु भन्ने लाग्यो, किनभने म गलत भएको भए ‘सिधै तिम्ले यो यो कुरा गरेकाले मुद्दा हालेको हो’ भन्नुहुन्थ्यो होला ।

मैले जम्माजम्मी ८७ दिन यूएईको जेलमा विताएँ । ४ दिन हिरासतमा रहेँ । त्यसपछि आबुधाबीको केन्द्रीय कारागार, अल्बधमा लगिएको थियो । दूबईमा मुद्दा पर्दा दोहोरो बहस गर्न पनि नपाइने रहेछ । नेपालको जस्तो मुद्दा कसले हालेको भनेर पनि स्पष्ट जानकारी नपाइने । त्यस्तोमा केन्द्रीय कारागारमा लैजाँदा एकदमै डर, त्रास र भयको मनस्थितिमा थिएँ ।

मलाई यूएईमा बसेर पत्रकारिकता गर्दै गर्दा सुरुमा किन धेरै जसो नेपालीहरु जेलमा पर्छन् भन्ने लाग्थ्यो । धेरेको कथा लेखेको पनि थिएँ । तर, जब आफूलाई परियो, त्यसपछि मैले त्यसको खास दर्द बुझेँ ।

सुरुमा मार्छन् कि भन्ने डर लाग्थ्यो । मानसिक र शारीरिक रुपमा कमजोर भएर परिवारबाट पनि टाढा हुँदा मरिन्छ कि भन्ने डर लाग्दो रहेछ । ५, ६ दिन कटेपछि चाहिँ अब चाहिँ बाँचिन्छ होला भन्ने लागेको थियो । परदेश भन्नेबित्तिकै विरानो लाग्ने, त्यसमाथि त्यहाँ पनि जेल भनेपछि मनमा अनेक कुरा खेल्थे ।

घरपरिवारको याद आउँथ्यो, मेरो एउटा नाबालक छोरा यूएईमै पढ्दै थियो । उसलाई मात्र मैले म अनुसन्धान ब्यूरोमा जाँदैछु भन्न पाएको थिएँ । मैले मेरो परिवार, श्रीमती र घरपरिवारलाई पनि यो कुरा भन्न पाएको थिइनँ ।

दिनभरि म घरमा नआउँदा, साँझ परेपछि घरमा नपुग्दा, दोस्रो तेस्रो दिनसम्म मेरो परिवारलाई कस्तो भएको थियो होला ? त्यतिबेला मेरो मनमा फर्किन्छु होला भन्ने लाग्दैन्थ्यो ।

तर, एकमनमा म त्यस्तो देशमा छु, जुन देशलाई मैले १७ वर्षयता माया गर्दै पसिना बगाउँदै आएको छु । अहिलेसम्म मैले कुनै गल्ती पनि गरेको छैन । यो स्ट्याटस त झन् गल्ती हुँदै होइन भनेर मन बुझाउन खोज्थें ।

सोधपुछ गर्ने व्यक्तिहरुले पनि यो हाम्रो लागि ठूलो विषय होइन । तर, तेरो सरकारले, तेरो राज्यका प्रतिनिधिहरुले तँलाई यहाँबाट पठा, डिपोर्ट गर भनेर कडा रुपमा पत्राचार गरेको छ हेर भनेर देखाउँथे ।

मैले हाम्रो दूतावासलाई कहिल्यै नराम्रो नजरबाट हेरेको थिइनँ । दूतावास राम्रो भइदियोस् भन्ने मात्र हाम्रो अपेक्षा हुन्थ्यो । तर, जब म थुनिएँ, त्यसपछि मेरो परिवार दूतावासमा बुझ्न जानुभएको थियो ।

तर, मेरो परिवार बुझ्न जाँदा दूतावासमा आक्रमण गर्न गएको भनेर अर्को पत्र पठाइएछ । दूतावासको नेतृत्व गरेका तत्कालीन राजदूत कृष्णप्रसाद ढकालले लेखेको पत्र मैले पढ्न पाएँ ।

संस्था गलत हुँदैन, तर कहिलेकाहीँ एउटा, दुईटा त्यस्ता व्यक्तिका कारण संस्था बदनाम भइदिन्छ । मलाई एकदमै नराम्रो लाग्यो । त्यतिबेला हाम्रो देशको प्रतिनिधि भनेको त हामीविरुद्ध नै जासुसी गर्न पठाइएका प्रतिनिधि हुन् कि भन्ने रुपमा बुझेँ ।

नेपाल पत्रकार महासंघको पहिलो वैदेशिक शाखा यूएईमै स्थापना भएको थियो । महासंघमा आबद्ध २०/२१ जना पत्रकार साथीहरु छौं । नेपालका मूलधारका सञ्चारमाध्यमहरुमा उहाँहरुले लामो समयदेखि काम गर्दै आउनुभएको छ ।

मेरो राजदूतज्यूसँग व्यक्तिगत रुपमा अझै पनि कुनै प्रतिसोध वा केही छैन । तर, म जस्तो व्यक्तिलाई उहाँले यसरी दुःख दिनुभयो भने अरु कतिलाई दुःख दिनुभयो होला ।

तर, आजसम्म कसैले यसरी हिरासतसम्म पुग्नुपरेको थिएन । विचौलिया वा अरु गलत मनसाय भएका व्यक्तिले उजुरी गर्छु भनेर धम्क्याउने त गरेका थिए । तर, दूतावास आफैंंले चाहिँ उजुरी दिएको यो मैले पहिलो पटक सुनेको हो भनेर साथीहरु भन्नुहुन्छ । यूएई बसेको झण्डै दुई दशक हुन लाग्दा मलाई पनि यस्तो थाहा थिएन ।

पछिल्लो राजदूतले चाहिँ म भन्दा पहिले समस्या परेर गएका नेपालीले गेटमा टिकटक बनाएको आरोपमा, कहिले उद्दार गरिदेऊ भनेको आरोपमा, कहिले यस्ता दूतावासले काम गरेन, यस्ता दूतावासलाई बमले उडाइदिनुपर्छ भनेर सामाजिक सञ्जालमा गरेको कमेन्टको विषयलाई लिएर पनि स्थानीय प्रशासनमा उजुरी दिएका थिए ।

त्यसबारे मैले समाचार पनि लेखेको थिएँ । तर, त्यसबेला स्वयं राजदूतसँग पनि कुरा गरेको थिएँ ।

म त मिडियामा भएकाले मेरो विषयमा बोलिदिने साथीहरु हुनुहुन्थ्यो । पत्रकार महासंघले साथ दियो । तर, उहाँहरुको हकमा त बोली दिने साथीहरु पनि धेरै हुनु हुन्थेन । उहाँहरु त्यसबेला कति दुःखमा हुनुहुन्थ्यो होला भन्ने अहिले म महसुस गर्नसक्छु ।

मेरो राजदूतज्यूसँग व्यक्तिगत रुपमा अझै पनि कुनै प्रतिसोध वा केही छैन । तर, म जस्तो व्यक्तिलाई उहाँले यसरी दुःख दिनुभयो भने अरु कतिलाई दुःख दिनुभयो होला ।

मैले १० वर्षदेखि गर्दै आएको जागिर गुमाएँ । सम्पत्ति गुमाएँ । एक वर्ष मेरो त्यसै तहसनहस भएँ । मेरो जिन्दगीमा धेरै अफ्ठ्याराहरु आए । त्यसबेला शारीरिक र मानसिक रुपमा मलाई पुगेको क्षतिको त केही कुराले पूर्ति गर्न सक्दैन ।

तर, कमसेकम उहाँलाई गल्ती महसुस गराएर राज्यले कारबाही गर्नुपर्छ भन्ने लाग्छ । केही नभए मानवअधिकार आयोगदेखि अदालतसम्म पनि ढक्ढक्याउँछु भन्ने सोचेको छु ।

(यूएई बस्दै आएका पाण्डे काठमाडौं आएका बेला अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानी)

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?