+
+

अन्टार्कटिकामा रजस्वला हुँदा वैज्ञानिक महिलाहरुले के गर्छन् ?

एजेन्सी एजेन्सी
२०८० भदौ १८ गते १३:१९

तपाईं सहकर्मीसँग बाँधिनुभएको छ, हिमनदीमा हुनुहुन्छ, बरफकै चिसो वातावरण छ र यस्तो बेला आफ्नो मासिक श्राव भएको थाहा पाउनु भयो भने के गर्नुहुन्छ ?

कुनै पनि महिला वैज्ञानिक तथा शोधकर्ताका लागि आर्कटिक तथा अन्टार्कटिका क्षेत्रको अध्ययन अनुसन्धानमा रहेकै बेला रजश्वला भयो भने त्यसको व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण हुन्छ भन्ने कुरामा दुईमत छैन ।

अझ रजश्वलाको बारेमा कुरा गर्नु त अहिले पनि ट्याबुको रुपमा रहेको छ ।

सायद त्यहीँ कारणले गर्दा युके पोलर नेटवर्कले यो विषयलाई अहिले आफ्नो एजेण्डा बनाएको छ । आफ्नो करिअरको सुरुआती अवस्थामा रहेका ४०० जना वैज्ञानिकहरुको संस्था युकेपिएनले यहीँ मुद्दाको सामना गर्नका लागि एक नयाँ कार्यशालाको पाइलटिङ गरिरहेको छ ।

युकेपिएनकी सहअध्यक्ष समेत रहेकी ध्रुवीय वैज्ञानिक २० वषिर्या इली होनान भन्छिन्, ‘मेरा धेरै साथी तथा सहकर्मीहरु छन् जसले मसँग आएर भनेका छन् कि त्यसरी काम गर्दा रजश्वला भएपछि उनीहरुले त्यसबारेमा कसैलाई पनि बताउन सकेनन्, निकै असहज महसुस गरे र डराए पनि ।’

उनका अनुसार यो विषय उठाउनुको मुख्य कारण निकै प्रष्ट छ । ऐतिहासिक रुपमा शौचालयको समस्या कुनै पनि मानिसका लागि स्थलगत कार्यमा प्रवेश गर्नका लागि मुख्य बाधाका रुपमा रहँदै आएको उनी बताउँछिन् ।

हालैको एक रिपोर्टले अष्ट्रेलियाको अन्टार्कटिका अनुसन्धान शिविरमा काम गरिरहेका महिला शोधकर्ताहरुले आफ्नो रजश्वलाका बेला व्यापक यौनिक दुर्व्यवहारलगायतका कारणले गर्दा कसरी लुकेर बस्नुपर्‍यो भन्ने तथ्यको खुलासा गरेको छ ।

उक्त रिपोर्टकी लेखिका प्राध्यापक मेरेडिथ नाशका अनुसार उनको कार्य पश्चात् ध्रुवीय स्थलगत कार्यमा रजश्वला तथा शौचालयलाई धेरै पहुँचयोग्य बनाउने दिशामा उल्लेख्य काम भएका छन् ।

कार्यशालामा विद्यार्थीहरुलाई विषम वातावरणमा रजश्वला कप तथा रजश्वला प्यान्टलगायतका सामानहरु कसरी प्रयोग गर्ने भन्ने सिकाउने गरिएको छ ।

वास्तवमा ध्रुवीय क्षेत्रमा स्थलगत कार्यका लागि जाँदा महिला शोधकर्ताले प्याडभन्दा रजश्वला कप नै लिएर जानु उपयुक्त हुन्छ । किनकि यसो गर्दा महिनौंलाई पुग्ने गरी प्याडको भारी बोक्नु पर्दैन । तर रजश्वला कप प्रयोगमा बानी नपरेका तथा हिउँक्षेत्रमा गन्तव्यमा नपुग्दैको अवस्थामा भने कप प्रयोग गर्नु असजिलो हुनसक्छ ।

२६ वर्षीया विद्यावारिधिको विद्यार्थी फोबे नोबल भन्छिन्, ‘मानिसहरुले खासै कुरा नगर्ने र ट्याबुको रुपमा रहेको रजश्वलाकै कारणले स्थलगत कार्य गर्न छाड्ने हो वा यहीं चिन्ताले विज्ञान तथा अन्वेषणको काम नगर्ने हो भने के होला ?

विषम तथा विकट वातावरणमा बाथरुमका लागि कहाँ जाने ? कहाँ गएर प्याड फेर्ने र कसरी फेर्ने भन्ने जस्ता कुराहरु सिक्नाले कार्यक्षेत्रमा कठिनाइ नआउने विश्वास कार्यशालाकी सहभागी विद्यार्थी इलीको विश्वास छ

उनले वायुमण्डलीय गतिविधिसम्बन्धी उच्चतहको विज्ञानको विषयमा काम गर्दछिन् तर शौचालय तथा रजश्वलाका विषयमा सोधिएको प्रश्नमा उनको जवाफ भने निकै भुईंतहको छ ।

उनी भन्छिन्, ‘म जब १३ वर्षकी थिएँ र स्कुलमा पढ्थें त्यतिबेला तस्करी गरेजस्तो गरेर शौचालयमा प्याड लैजानु पर्थ्यो । किनकि आफ्नो महिनावारी भएको कुरा अरु थाहा नपाउन् भन्ने चाहना हुन्थ्यो । अहिले यस्तो कार्यक्षेत्रमा जाने कुरा हुँदैछ जहाँको अवस्था कस्तो छ भन्ने कुराको पनि जानकारी हुँदैन । त्यसैले यस विषयमा खुल्ला छलफल हुनु निकै महत्वपूर्ण छ ।’

द ब्रिटिस एन्टार्टिक सर्भे अर्थात् बासले ध्रुवीय क्षेत्रमा काम गरिरहँदा महिलामा हुने रजश्वलालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उपायहरु निकाल्नका लागि एक कार्यात्मक पार्टीको घोषणा गर्दैछ ।

बासकी एक अधिकारी राच मोरिसका अनुसार ध्रुवीय क्षेत्रमा रहँदा आफ्नो सहकर्मीप्रति समझदार हुनुपर्दछ भने आत्मसम्मान, गोपनीयता तथा अन्य कुराहरुको पनि ख्याल गर्नुपर्दछ ।

अन्टार्कटिकाको विषम् परिस्थितिमा पालभित्र सहकर्मी तथा कुकुरहरुसँग रहेको बेला महिनावारीको प्याड बदल्ने बेलाको सम्झना उनलाई छ ।

त्यसबेला आफ्नो समूहलाई आफूले राम्रोसँग चिनेकोमा उनलाई गर्व थियो । यस्तो बेला आफू मानसिक रुपमा तयार हुनु तथा सहकर्मीबीच समझदारी कायम हुनु अत्यन्तै महत्वपूर्ण हुने उनी बताउँछिन् ।

बासले ध्रुवीय क्षेत्रमा रजश्वला भएको बेला महिला शोधकर्ताले प्रयोग गर्ने सामानहरुको खर्चको रकम शोधभर्ना दिन सुरु गरेको छ । साथै उसले गैरपुरुष पहिरनको विकल्पका विषयमा अनुसन्धान गर्नुका साथै सुरक्षाका कारण महिला शोधकर्तालाई समेत उठेरै पिसाब फेर्न सक्ने गरी नि:शुल्क रुपमा पिसाब फनेल समेत वितरण गर्ने गरेको छ ।

स्थलगत कार्य सुरु हुनुअघि व्यक्तिगत सरसफाइ, जलवियोजन तथा पिसाबनलीको संक्रमणलगायतको जोखिमका विषयमा छलफल गर्ने गरिएको छ । यसले अत्यधिक काम तथा लाजका कारण समेत दिसा गर्न नजाने मानिसलाई लाज हटाएर व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकतामा राख्न प्रोत्साहित गर्दछ ।

ब्रिटिस अन्टार्कटिका सर्भेकी म्यारिएल्ला जियान्कोलाका अनुसार विगतमा यस संस्थामा करिअर विकास गर्नु धेरै महिलाका लागि चुनौतीपूर्ण हुन्थ्यो किनकि अन्टार्कटिकामा भएका अनुसन्धान स्टेशनहरु केवल पुरुषका लागि मात्रै थिए ।

तर परिस्थिति बदलिइरहेको छ र धेरै महिलाहरुले ध्रुुवीय अनुसन्धानको क्षेत्रमा इन्जिनियरदेखि प्रयोगशाला व्यवस्थापकसम्मको अग्रणी भूमिका लिइरहेका छन् । अहिलेसम्म बासका १३ जना महिलालाई उनीहरुको उत्कृष्ट सफलताका लागि ध्रुवीय पदक समेत दिइएको छ ।

जियान्कोलाका अनुसार यस क्षेत्रमा ठूलो प्रगति भएको छ, तथापि अझै धेरै अगाडि जानुछ ।

विद्यावारिधि विद्यार्थीसमेत रहेका एन्ड्रु म्याक डोनाल्डले समेत कार्यशालामा भाग लिएका छन् । सो कार्यशालामा महिला मात्र नभएर सबै लिंगका सहभागीहरु उपस्थित छन् ।

उनका अनुसार कार्यक्षेत्रमा हुने रजश्वला जस्तो विषयमा एउटा कोठाभित्र महिला र पुरुष सँगै बसेर कुराकानी गर्नु निकै उपयोगी बनेको छ । यसबाट आफूले एक पुरुष सहकर्मीको रुपमा समूहका सबै सदस्यलाई कसरी सहयोग गर्ने र राम्रोसँग टिमको नेतृत्व गर्ने भन्ने विषयमा सिकने अवसर पाएको उनी बताउँछन् ।

व्यक्तिगत सरसफाइ विषयमा डेभोनको डार्टमूरमा कार्यशाला सञ्चालन भएको छ र यो चारवर्षे कार्यक्रमको पहिलो खण्ड हो । यो कार्यक्रमका लागि बेलायतभरका विश्वविद्यालयबाट छनोट गरिएका २० देखि ३० वर्ष उमेरका १६ जना ध्रुवीय अन्वेषणकर्ता सहभागी छन् ।

यसमा अधिकांश महिला छन् र ती सहभागीहरुले ऐतिहासिक रुपमा रहेको लैंगिक असन्तुलनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

सामुद्रिक जीव वैज्ञानिक रहेकी २१ वर्षीया एईमी शेर्फड भन्छिन्, ‘मैले धेरैभन्दा धेरै महिलाहरु विज्ञानको क्षेत्रमा आएको तथा आर्कटिक र अन्टार्कटिकमा गएको देख्न चाहन्छु।’

विषम तथा विकट वातावरणमा बाथरुमका लागि कहाँ जाने ? कहाँ गएर प्याड फेर्ने र कसरी फेर्ने भन्ने जस्ता कुराहरु सिक्नाले कार्यक्षेत्रमा कठिनाइ नआउने विश्वास कार्यशालाकी सहभागी विद्यार्थी इलीको विश्वास छ ।

बीबीसी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?