+
+

शहर उज्यालो कार्यक्रम अन्तर्गत साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १३:५६

१८ भदौ, काठमाडौं । ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको जनाएको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ ।

प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत माग बढ्ने र रातिको खेर जाने विद्युत पनि खपत हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रमा विशेष किसिमका बत्ती राख्न सर्भे र डिजाइन गरिरहेको समेत बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरिएपछि विद्युत नपुगेको ठाउँको विद्युतीकरण र शहरी सौन्दर्यलाई वृद्धि गर्न स्थानीय तहहरुसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताएका छन् ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मरहरु जडान गरिएका छन् ।

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत्को महसुल सम्बन्धित पालिकाहरुले तिर्ने छन् ।

ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काइ, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ ।

भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको छ ।

काठमाडौंसहित ३ महानगरपालिका, ३ उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ ।

सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ ।

सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी रहने छ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहने छ ।

नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहने छ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ ।

लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरिवेक्षण प्राधिकरणले गर्ने छ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने छ ।

नगरपालिकाहरुले आफैं शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?