+
+

हाम्रा फिल्मले शो नपाउनुमा हाम्रै कमजोरी हुन सक्छ : दयाहाङ राई

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १२:३१

काठमाडौं । अभिनेता दयाहाङ राईले विदेशी फिल्मको चेपुवामा परेर नेपाली फिल्मले शो पाउन नसकेको सन्दर्भमा टिप्पणी गरेका छन् । आफू अभिनित फिल्म ‘नांगो गाउँ’को प्रेसमिटमा बोल्दै राईले नेपाली फिल्मले गुणस्तर र प्रतिस्पर्धाबाटै शो पाउने क्षमताको विकास गर्नु जरुरी रहेको बताए ।

प्रतिस्पर्धा गर्ने अधिकार विदेशी फिल्मलाई पनि रहेको भन्दै उनले व्यवसाय गर्ने अधिकारबाट कसैलाई रोक्न नसकिने समेत बताए । ‘खुला बजारमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई छ । नेपाली फिल्म आफैंले प्रतिस्पर्धा गरेर शो पाउने क्षमताको विकास गर्नुपर्छ,’ उनले भने ।

दयाहाङ अभिनित दुई ब्लकबस्टर फिल्महरु ‘कबड्डी’ श्रृंखला र ‘जारी’ले त्यतिबेला रिलिज भएका विदेशी फिल्मलाई महिनौंसम्म चुनौती दिएका थिए । उनले खुला बजारमा बिक्री हुने चीजको पछि नै मान्छे लाग्ने भएकाले खुला बजारमा प्रतिस्पर्धा नभए मजा नहुने समेत बताए ।

पटक-पटक नेपाली फिल्मले शो नै पाउन नसकेको गुनासोतर्फ लक्षित गर्दै दयाहाङले राम्रा फिल्म बनाउनुको विकल्प नरहेको बताए । सञ्चारकर्मीले उनलाई भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको अर्को नेपाली फिल्म ‘एक भगवत् गीता’ र एक साताअघि रिलिज हुन लागेको बलिउड फिल्म ‘जवान’को रिलिजको सन्दर्भमा यो प्रश्न गरेका थिए ।

‘हामीले राम्रो शो पाउने सिनेमा बनाउनुपर्‍यो । हाम्रा सिनेमाले मात्रै शो पाउने सिनेमा बनाउनुपर्‍यो । हाम्रो सिनेमाले शो नपाउनुमा हाम्रै कमजोरी हुन सक्छ,’ दयाहाङले भने, ‘कसैलाई काखा वा पाखा गर्नुपर्छ भन्ने मलाई लाग्दैन । कोटा प्रणालीमा जाने हो भने नीतिगत निर्णय गरेर जानुपर्छ ।’

दयाहाङ आगामी फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन मंगलबार राति क्यानडामा आयोजना हुन लागेको टोरन्टो फिल्म फेस्टिभलतर्फ जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?