+
+

‘नेपाली फिल्मलाई विश्व मञ्चमा लैजान संस्कृतिका कथा भन्न ढिलाइ गर्नुहुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १८:१४

१९ भदौ, काठमाडौं । आमा झरना थापा र छोरी सुहाना दुई पुस्ता मात्र होइन, दुई अलग समयलाई प्रतिनिधित्व गर्ने नाम पनि हुन् । न्युयोर्कको कोलम्बिया युनिभर्सिटीमा पढिरहेकी सुहाना नयाँ पुस्तासँग फिल्मलाई जोड्नुपर्छ भन्ने सोच राख्छिन् । झरनासँग दशकौं लामो फिल्मको अनुभव छ ।

मंगलबार यी दुई जनासँग आगामी फिल्म ‘एक भगवत् गीता’को सन्दर्भमा कुराकानी गर्दा साझा चासो भेटियो । उनीहरुको समान निष्कर्ष थियो– नेपाली फिल्मलाई विश्व मञ्चमा लैजाने हो भने हाम्रै संस्कृति र समाजको कथा भन्न ढिलाइ गर्न हुँदैन ।

यो तत्वबोध झरनालाई लगातार तीन हिट फिल्म दिएपछि प्राप्त भयो । ‘अनुभवले जीवनलाई चलाउँदै लैजान्छ । हामीले हाम्रै संस्कृतिभित्र रहेर फिल्म बनाउनुपर्छ । मैले फिल्म खेल्दा हिन्दी फिल्मबाट प्रभावित हुन्थ्यौं । ए मेरो हजुरको समयमा पनि हामीले त्यसरी नै काम गरेका थियौं । अब चाहिं सजग हुनुपर्छ र हामीभित्रै खोज्नुपर्छ है भन्ने लाग्यो । गर्छु पनि,’ झरनाले आगामी समयको बारेमा कुरा गरिन् ।

छोरी तथा अभिनेत्री सुहानाले नेपालको अर्को समाज बुझ्ने मौका पाइन् । ‘एक भगवत् गीता’ फिल्मका लागि उनी जनकपुरमा महिनौं बसिन् र मैथिली सिकिन् ।

‘जनकपुरमा मैथिली भाषा रहेछ । मैले कहिल्यै पनि सुनेको थिइनँ । स्कुलमा पढ्दा हाम्रो प्राथमिकता नेपाली र अंग्रेजी भाषा मात्र हुने गर्छ । मैथिली भाषा सिक्दा मलाई महसुस भयो कि हाम्रो भाषा र संस्कृतिबारे सिक्न जरुरी देखें । मलाई अहिले सिकाइदिएको भए, जनकपुरबारे धेरै थाहा हुन्थ्यो,’ उनको अनुभव छ ।

भनिन र लेखिन बाँकी नेपाली संस्कृतिमाथि फिल्म बनाउँदा यसले काम गर्ने उनको ठम्याइ छ । ‘अहिले बजार अस्थिरजस्तो लाग्छ । छिनमै चेन्ज हुने ट्रेन्ड छ । फास्ट पेस सोसाइटी भइसक्यो । पहिलादेखि नै केही कुरा स्थायी त थिएन तर एक्सपेरिमेन्ट केही दिनको छ । हामीसँग धेरै संस्कृति छ । त्यही कल्चरलाई समेटेर फिल्म बनाउँदा हाम्रो पहिचान बन्छ,’ सुहाना भन्छिन् ।

उनले प्रदर्शनको तयारीमा रहेको हलिउडको हरर फिल्म ‘नन् २’ को उदाहरण दिइन् । ‘भूतको फिल्म हेर्न जाँदा हामीले क्रिस्चियानिटी थाहा पाउँछौं । मनोरञ्जनमार्फत हामीले उनीहरुको धेरै कुरा सिकिराख्या हुन्छौं । हामीले हाम्रो कल्चरलाई समेटेर विश्वभर प्रस्तुत गर्नुपर्छ,’ उनी भन्छन् ।

रोमान्सबाट समाजतर्फको यात्रामा

झरना निर्देशित ‘ए मेरो हजुर’का तीन अघिल्ला श्रृंखला बक्स अफिसमा हिट रहे । रोमान्टिक र लार्जन द्यान लाइफ फिल्मबाट झरना एकाएक गम्भीर सामाजिक फिल्मतिर मोडिइन् । निर्देशकभित्र आएको मोड पनि हुन सक्छ, यो जुन झरनामा स्पष्ट देखिन्छ ।

यसबारे उनको आफ्नै व्याख्या छ, ‘निर्देशकको रुपमा तीन लभस्टोरी फिल्म बनाएपछि मलाई लाग्यो, नयाँ चीज दिनुपर्छ । अब समाजमा घटेको घटनालाई अघि बढाउनुपर्छ । जसको माध्यमबाट सन्देश दिन उचित लाग्यो । पैसा मात्र कमाउने भन्दा पनि सामाजिक घटनालाई उठाउन जरुरी देखें ।’

एउटै टाइपको अभिनय शैली र काम गराइले दिक्दारी मात्र दिने उनको तर्क छ । सुहानालाई बलिउड निर्देशक राजकुमार हिरानीको स्टाइल मन पर्छ ।

‘उहाँ व्यावसायिक शैलीमा गम्भीर कथा भन्नुहुन्छ । एक भगवत् गीताको चुनौती पनि कसरी कमर्सियल शैलीमा कथा भन्ने नै थियो,’ सुहाना भन्छिन्, ‘हामी सही ढंगले यसलाई मनोरञ्जक तुल्याउन चाहन्थ्यौं । हामीले पहिलोपटक विषयवस्तु बनाउँदा यो आर्ट मुभी हुँदैन कि भन्नुहुन्छ कि भनेर परिवारमा छलफल चलाएका थियौं । हामीले कथा लेख्दा भगवत् नामक बच्चाको आँखाबाट हेरेर लेख्ने प्रयास गर्‍यौं । बच्चाको नजरबाट हेर्दा विश्व सरल देखिने रहेछ ।’

समाजमा विवेक बाँड्न फिल्म ल्याएँ’

झरना अस्तिसम्म फिल्म हिट बनाउने र मनोरञ्जन दिने भन्ने कुरा सोच्थिन् । अब भने उनको उद्देश्य बदलिएको छ । ‘अहिले आएर मैले ज्ञान, बुद्धि, विवेक र समाजलाई सन्देश दिन जरुरी छ भनेर यो फिल्म ल्याएको छु,’ उद्देश्यबारे झरनाले भनिन् । तर उनको यो विचारमा सबै सहमत नहुन पनि सक्लान् ।

उनी अगाडि भन्छिन्, ‘यो फिल्म मेरो पहिलो प्राथमिकतामा छ । लोकसंस्कार, संस्कृतिमा बनेका फिल्म पनि गरेको छु । हिट फिल्म पनि दिएको छु । तर कुन फिल्म गर्दा खुसी छु र कुन फिल्म गर्दा मलाई समाजले स्याबास भन्छ भन्दा मैले भगवत् गीता भन्नुपर्छ । किनकि अस्तिसम्म मैले व्यावसायिक र मनोरञ्जन मात्र सोच्थें ।’

उनी यो फिल्मलाई धार्मिक होइन, व्यावसायिक भन्न रुचाउँछिन् । छोरी तथा अभिनेत्री सुहानाको व्याख्या अझ फराकिलो छ । यसका लागि उनले महाभारतको प्रसंग सुनाइन् । ‘युगौंदेखि भनिंदै आएको कर्मयोगमा आधारित कथा हो । कर्मयोगको अवधारणामा फिल्म बनेको छ । कृष्णजीले ज्ञान दिनुभएको नै अर्जुनले पहिचान बिर्सेर हो । यो दार्शनिक कन्सेप्टमा फिल्म बनेको छ,’ सुहाना भन्छिन् ।

झट्ट सुन्दा मान्छेलाई लाग्छ गम्भीर कथावस्तुका फिल्मको संरचना डकुमेन्ट्री हुन्छ । सुहाना यो कुरामा असहमत सुनिइन् । उनलाई लाग्छ गम्भीर कथा पनि कथानक स्वरुपमा भन्न सकिन्छ । ‘यस्ता फिल्म डकुमेन्ट्री फर्ममा मात्र आउँथे । तर यो कथानक फिल्मको जीवन्त स्वरुपमा छ । कमर्सियल भन्दैमा अनावश्यक दृश्य, कमेडी छैन,’ उनी भन्छिन् ।

विपिन कार्कीले निर्वाह गरेको कमलामाईको चरित्र अहिले यो फिल्मको केन्द्रमा छ । टिजर, ट्रेलरदेखि पोस्टरसम्म विपिन छाएका छन् । कमलामाई पात्रको रचनागर्भ निकै रोचक छ । काल्पनिक भन्दा वास्तविक कथावस्तुमै झरनाले यो पात्रको उठान गरेकी छन् । भएछ के भने, निर्माता सुनिलकुमार थापाकी आमा केदारनाथमा बेपत्ता हुँदा नेहा श्रेष्ठ नामक एक ट्रान्स–वुमनले सुनिललाई आमाको खोजीमा सघाइन् । काठमाडौं आएको बेला झरना र सुहानाले उनलाई भेटे । नेहाको पृष्ठभूमि कोट्याउँदा यसले फिल्मको आकार लियो ।

नेहाजस्ता लैंगिक अल्पसंख्यक (किन्नर समुदाय)लाई लिएर भनिने अपशब्दप्रति झरनाको आपत्ति छ । ‘उहाँहरुलाई लिएर नबुझेर अपशब्द युज गरेको सुनेको छु । वास्तवमा उहाँहरु को ? उहाँहरुको परिचय के हो ? उहाँहरुको रगत रातो छैन ? न केटा, न केटी रे । मान्छे हो भन्ने कुरा बुझाउन जरुरी छ । तर नबुझेको अवस्था छ । मैले उहाँहरुलाई सन्देश दिन भन्दा पनि समाजलाई सन्देश दिएको छु,’ झरना भनिछन् ।

फिल्म ‘एक भगवत् गीता’ भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?