+
+

रोमाञ्चक जितसहित श्रीलंका सुपर फोरमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते ८:२७
Photo Credit : AP

२० भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा श्रीलंकाले मंगलबार राति अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ । यस जितपछि श्रीलंका समूह ‘बी’ को विजेता बन्दै सुपर फोरमा पुगेको छ ।

श्रीलंकाले दुवै खेल जित्दै ४ अंक जोड्यो । एक जित र एक हारको नतिजा निकालेको बंगलादेशपछि यस नतिजापछि समूह उपविजेता हुँदै सुपर फोरमा पुग्यो । अफगानिस्तान भने दुवै खेल हार्दै समूह चरणबाटै बाहिरियो ।

अफगानिस्तान एक समय सुपर फोर नजिक थियो । तर लगातार विकेट गुमाएपछि अभागी बन्यो । लाहोरस्थित गद्दाफी स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको २९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा २८९ रनमा अलआउट भयो ।

अफगानिस्तानलाई सुपर फोरमा पुग्न श्रीलंकाले दिएको लक्ष्य ३७.१ ओभरमा पूरा गर्नुपर्ने थियो । वा ३७.४ ओभरमा २९५ रन बनाएको अवस्थामा पनि अफगानिस्तान सुपर फोरमा पुग्ने थियो । तर सफल हुन सकेन ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले आक्रमक ब्याटिङ गर्दै ३२ बलमा ६ चौका र ५ छक्कासहित ६५ रन बनाए पनि त्यो पर्याप्त भएन । यस्तै कप्तान हश्मातुल्लाह शाहिदीले ६६ बलमा ३ चौका र १ छक्कासहित ५९ रन जोडे ।

रासिद खानले १६ बलमा ४ चौका र १ छक्कासहित अविजित २७ रन बनाए । अन्तिमसम्म क्रिजमा रहेका रासिद अर्को छेउबाट विकेट गइरहँदा निराश बनेका थिए ।

श्रीलंकाका कसुन रजिथाले ४ तथा दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको थियो । श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले ८४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।

ओपनर पथुम निसांका ४० बलमा ६ चौका प्रहार गर्दै ४१ रन जोडे भने दिमुथ करुणारत्ने ३५ बलमा ६ चौका मदतमा ३२ रन बनाए । महिश थिक्सनाले २४ बलमा २८ रन बनाए । दुनिथ वेलालागे ३९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा अविजित ३३ रन बनाए ।

अफगानिस्तानका लागि गुलबादीन नइबले ४ तथा राशिद खानले २ र मुजिब उर रहमानले १ विकेट लिए ।

यस खेलपछि सुपर फोरको समीकरण पनि पूरा भएको छ । समूह्य ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सुपर फोरमा प्रवेश गरेका छन् ।

सुपर फोरमा अब राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ र शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सुपर फोर अन्तर्गत बुधबार पाकिस्तान र बंगलादेशबीच लाहोरमा खेल हुनेछ । फाइनलसहित बाँकी खेल भने श्रीलंकामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?