
२१ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको कि होइन भनेर सरकारलाई प्रश्न समेत गरे ।
‘जानकारी गराइसकेको भए एक्लाएक्लै अनौपचारिक रुपमा गरिएको हो कि ? नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा पूर्व परराष्ट्रमन्त्रीजीले जानकारी गराउनुभएको हो’ नेपालले भने, ‘यदि गराउनुभएको हो भने परराष्ट्र मन्त्रालयबाट कसै न कसैको उपस्थिति भएको हुनुपर्दछ । यदि परराष्ट्र मन्त्रालयमा कुनै कर्मचारीको उपस्थिति थियो भने, कुनै अधिकारीको उपस्थिति थियो भने त्यसको रेकर्ड राख्ने गरेको चलन छ कि छैन ? के के कुराहरु भयो भन्ने राख्ने गरिन्छ कि गरिंदैन ? त्यो पनि एउटा जिज्ञासा छ । हाम्रो सिस्टमले कत्तिको काम गरिरहेको छ ? आधिकारिक रुपमा सबै सूचना, तथ्य, तथ्यांकहरु रहने गरिएको छ कि छैन ? छ भने त्यसको बारेमा पनि जानकारी होस् ।’
परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्याउन नसकेको पनि नेपालले बताए ।
उनले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समीक्षा गर्दै त्यस्ता कमजोरी आगामी दिनमा दोहोरिन नहुने बताए ।
प्रतिक्रिया 4