+
+

नेपालमै सम्भव छ खेलजन्य जटिल चोटको उपचार

अब कुनै पनि किशोर र युवाहरू चोटको कारण खेलबाट टाढा हुनुपर्ने अवस्था छैन । खालि राज्यका निकायहरूको नीति–निर्माण र खेल सम्बद्ध संस्थाहरूको सक्रियताबाट खेलाडीको खेल जीवन बचाउन जरूरी छ ।

डा. तिर्थेन्द्र खड्का डा. तिर्थेन्द्र खड्का
२०८० भदौ २२ गते १२:३१

खेलकुदका क्रममा चोटपटक लागेर उपचारका निम्ति अस्पताल आउनेहरूको संख्या बढ्दै गएको छ । उदाहरणका लागि भेरी अस्पतालमा उपचारका लागि आउनेहरू पश्चिम नेपालका अधिकांश जिल्लाका छन् ।

एक दशकअघि दूरबिन प्रविधि (आर्थ्रोस्कोपी)को आगमन भएयता भेरी अस्पतालले चोट लागेर घुँडाको आन्तरिक बनावटमा पुगेको क्षतिलाई अत्याधुनिक विधिबाट पुनर्संरचना गरी धेरै खेलाडीलाई पुनः खेल जीवनमा फर्किन सम्भव बनाएको छ । नेपालमै धेरै संख्यामा घुँडाको लिगामेन्टको शल्यक्रिया हुने अस्पतालहरूमा भेरी अस्पताल पनि एक हो ।

घुँडाजन्य चोट उपचारको क्रममा पङ्तिकारलाई सयौं युवा खेलाडीसँग भेट र अन्तरंग कुरा गर्ने मौका मिल्यो । कुराकानीबाट थाहा भयो, कञ्चनपुरदेखि दाङसम्मको समथर भूभागमा बसोबास गर्ने किशोर र युवाहरूमा फुटबलको जबर्जस्त क्रेज रहेको छ । यस्तै पहाडी इलाकामा भने भलिबलप्रति युवा आकर्षण देखियो । सायद फुटबलका लागि उचित खेल मैदानको अभावमा पनि यस्तो भएको हुनसक्छ ।

उपचारको निमित्त सम्पर्कमा आउनुहुने भाइबहिनीहरूको चोटको कारण खोतल्दै जाँदा मेस्सी, नेइमार, रोनाल्डो इत्यादि खेलाडीको सिको गर्ने क्रममा खुट्टा चिप्लिन गएको र त्यसपश्चात् खेल्न नसक्ने, घुँडा दुख्ने, सुन्निने र भर नहुने समस्या सृजना भएको थाहा भयो । सबैजसो युवा खेलाडीहरूको चिन्ता अनि जिज्ञासा एउटै हुन्छ, ‘अब म फुटबल खेल्न सक्छु कि सक्दिनँ डाक्टर सा‘ब ?’

कैलालीको टीकापुरबाट उपचारका लागि आएका फुटबल खेलाडी राकेश चौधरीले चेकजाँच सक्ने बित्तिकै हतारिएर प्रश्न गरेका थिए– ‘अब म फेरि फुटबल खेल्न सक्छु ?’ दाङको देउखुरीबाट आएका सुवास शाहीको प्रश्न पनि उस्तै थियो– ‘अब म कहिलेदेखि फेरि फुटबल खेल्न पाउँला सर ?’

उचित उपचार पाएपछि समस्या समाधान नहुने कुरै भएन । शल्यक्रिया गरेर गएका धेरै खेलाडीको आत्मविश्वास गज्जबले फर्केको पाएँ । एउटा चिकित्सकका लागि योभन्दा खुसीको कुरा अर्को के हुनेभयो र ?

उपचार पछि मलाई धेरै खेलाडीको फेसबुक साथी बन्न प्रस्ताव आउने गरेको छ । यी युवाहरूको फुटबल क्रेज फेसबुकको प्रोफाइलबाटै खुल्छ । कोही फरवार्ड, कोही डिफेन्डर त कोही गोलकिपर अनि अधिकांशको प्रोफाइलमा मेस्सीको फोटो ।

आजभन्दा चार दशकअघि अवस्था यस्तो थिएन । त्यसबेला घुँडाको लिगामेन्टको चोट भनेको खेल जीवनको अन्त्य थियो । मार्को रोयस, रोबर्टो बाजियो, ज्लाटन इब्राहिमोविच, जावी हर्नान्डेज लगायत थुप्रै अन्तर्राष्ट्रिय फुटबल खेलाडीको खेल जीवन घुँडाको चोटले नै समाप्त भएको थियो । घुँडाको लिगामेन्ट पुनर्निर्माण गर्ने दूरबिन प्रविधि (आर्थ्रोस्कोपी) विकसित हुँदै जाँदा खेल मैदानमा यथाशीघ्र खेलाडी फर्किन सम्भव भएको हो । अमेरिका र युरोपमा किशोर र युवाहरूमा फुटबल र अन्य खेलका कारण घुँडाको लिगामेन्टहरूमा चोट बढ्दो छ र यी देशहरूमा आर्थ्रोस्कोपीद्वारा लिगामेन्ट बनाउने शल्यक्रिया हाडजोर्नी विधाको सबैभन्दा धेरै हुने शल्यक्रिया हो । नेपालको सन्दर्भमा विगत दुई दशकदेखि आर्थ्रोस्कोपी शल्यक्रिया विकास हुने क्रममा छ ।

के घुँडाको लिगामेन्टहरू च्यातिनबाट जोगाउन सकिन्छ ?

यस विषयमा अनुसन्धानहरू जारी छन् । अहिलेसम्मको निष्कर्षमा खेलकुदका क्रममा पूर्वसावधानी अपनाउन सकेमा घुँडाको चोट र लिगामेन्टमा क्षति हुनबाट जोगाउन सकिन्छ । खासगरी निम्न कुरामा ध्यान दिन जरूरी छः

  • खेल मैदानको अवस्था विचार गर्नुपर्छ । पानी परिरहेको अवस्थामा तथा चिप्लो मैदानमा खेल्नुहुँदैन । खेलपूर्व ठेस लाग्न सक्ने ढुंगा र अन्य सामग्रीहरू हटाउनुपर्छ । धेरै भीडभाड तथा तनावको अवस्थामा जोगिनु उपयुक्त हुन्छ ।
  • बाह्रै महिना शारीरिक व्यायाम गर्नुपर्छ र शरीर स्वस्थ र चुस्त हुन जरुरी छ ।
  • खेलपूर्व वार्मअप जरूरी हुन्छ । सीधै मुख्य खेलमा हाम फाल्नुहुँदैन ।
  • थकाइ लागेको वेला खेल्नुहुँदैन ।
  • राम्रो जुत्ताको प्रयोग गर्नुपर्छ ।
  • खेलको क्रममा शरीरको सन्तुलन कायम राख्ने, घुँडा जोगाउन उफ्रिंदा, जम्प गर्दा, शारीरिक संघर्षको क्रममा ध्यान पुर्याउने ।

चोट लागिहाले के गर्ने ?

शल्यक्रियापश्चात् घुँडाको नयाँ लिगामेन्ट निको हुने प्रकिया लामो हुन्छ । साथै घुँडाको वरिपरिको मांसपेशीहरूलाई शारीरिक अभ्यासद्वारा पहिले जस्तै मजबुत बनाउनुपर्ने हुन्छ । यो प्रकिया सामान्यतया ९ महिनामा पूरा हुन्छ । तसर्थ ९ महिनापछि फुटबल खेल्दा उत्तम हुन्छ ।

खेलकुद अपरिहार्य छ । युवा पुस्ता प्रतिस्पर्धात्मक र शारीरिक सङ्घर्ष हुने खेलकुद (फुटबल)मा रमाउने हुँदा घुँडामा चोट लाग्न सक्छ । चोट लागिसकेपछि खेल मैदानमै कसरी चोट परेको भागलाई जोगाउने र थप क्षति हुनबाट बच्ने भनेर नयाँ अवधारणा (पोलिस) को विकास भएको छ ।

  • प्रोटेक्सन (पी) अर्थात् खेल्न बन्द गर्ने र चोट परेको भागलाई जोगाउने ।
  • अप्टिमल लोडिङ (ओएल) अर्थात् दुखाइ वा अप्ठेरो सहेर तुरुन्तै हिंड्न वा खेल्न प्रयास नगर्ने ।
  • आईस (आई) अर्थात् बरफले सेक्ने
  • कम्प्रेसन (सी) अर्थात् क्रेप ब्यान्डेज
  • इलिभेसन एण्ड इभ्यालुएसन (ई) अर्थात् चोट परेको भागलाई उठाएर राख्ने/विशेषज्ञसँग परीक्षण गर्ने

घुँडाको लिगामेन्टको निश्चित उपचार भनेकै दूरबिन प्रविधिद्वारा गरिने शल्यक्रिया (आर्थ्रोस्कोपी) हो । घुँडाको भित्र र बाहिर हुने ४ वटा लिगामेन्टहरू आफैं निको हुने सम्भावना न्यून हुन्छ । चोटपश्चात् खेल्न मिल्दैन । दुख्ने, सुन्निने र हिंडडुल गर्न पनि गाह्रो हुनसक्छ । यो चोटलाई एक्सरेमा देख्न सकिंदैन । लिगामेन्टको चोट लागेको शंका लागेमा एमआरआई परीक्षणबाट निर्क्योल गर्नुपर्ने हुन्छ ।

आर्थ्रोस्कोपी विधिद्वारा शल्यक्रिया गर्दा घुँडामा सानो चिराको माध्यमबाट क्यामेरा घुँडाभित्र प्रवेश गराइन्छ र दूरबिनको सहायताले लिगामेन्टको पुनर्निर्माण गरिन्छ । आजकल अत्याधुनिक प्रविधिको हड्डीमै बिलाउने र पछि निकालिरहन नपर्ने सामग्रीको प्रयोग हुने हुँदा यो प्रविधिको लोकप्रियता बढ्दो क्रममा छ ।

आर्थ्रोस्कोपी शल्यक्रिया पछि के गर्ने ?

आर्थ्रोस्कोपी प्रविधिद्वारा लिगामेन्ट पुनर्निर्माण गरेपश्चात् निश्चित अवधिसम्म शारीरिक अभ्यासको जरुरत हुन्छ । यो अभ्यास फिजियोथेरापिस्ट डाक्टरहरूको निगरानीमा गर्नुपर्ने हुन्छ ।

फुटबल कहिलेदेखि खेल्न मिल्छ ?

शल्यक्रियापश्चात् घुँडाको नयाँ लिगामेन्ट निको हुने प्रकिया लामो हुन्छ । साथै घुँडाको वरिपरिको मांसपेशीहरूलाई शारीरिक अभ्यासद्वारा पहिले जस्तै मजबुत बनाउनुपर्ने हुन्छ । यो प्रकिया सामान्यतया ९ महिनामा पूरा हुन्छ । तसर्थ ९ महिनापछि फुटबल खेल्दा उत्तम हुन्छ । तर प्रोफेशनल खेलाडीलाई शल्यक्रियाको विधि र विशिष्टीकृत रिह्याबिटेसनको माध्यमले ४ देखि ६ महिनामै खेल जीवनमा फर्काउन सकिन्छ ।

नेपालगञ्जको अनुभव

नेपालगञ्जमा विगत एक दशकमा करिब ५०० जना किशोर र युवाहरूको आर्थ्रोस्कोपी विधिद्वारा उपचार गरिएको छ । त्यसमध्ये ३०० जनाको ‘एसीएल लिगामेन्ट’को शल्यक्रिया भएको छ । यी किशोर र युवाहरूको घुँडाको लिगामेन्टको चोटको प्रमुख कारण फुटबल लगायत खेलहरू नै थिए । सबैजसो पुनः खेलकुदमा सक्रिय हुनुहुन्छ ।

केही खेलाडीले देशको नेतृत्व गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइसक्नुभएको छ । केही खेलाडीले प्रदेश र राष्ट्रियस्तरका प्रतियोगितामा पदक जितिसकेको अवस्था छ । उहाहरणका लागि राष्ट्रिय हकी टिमका जीवन आरसी, जुडो खेलाडी आकृति श्रेष्ठ, भलिबल खेलाडी भीम कार्की, फुटबल खेलाडी राकेश चौधरी र सुवास शाही लगायत खेलाडी हुनुहुन्छ जो घुँडाको जोर्नीको सफल उपचारपछि मुस्कुराउँदै खेल जीवनमा फर्किनुभएको छ ।

अब कुनै पनि किशोर र युवाहरू चोटको कारण खेलबाट टाढा हुनुपर्ने अवस्था छैन । खालि राज्यका निकायहरूको नीतिनिर्माण र खेलसम्बद्ध संस्थाहरूको सक्रियताबाट खेलाडीको खेल जीवन बचाउन जरूरी छ । खेलाडी स्वयंले पनि समयमै उचित परामर्श लिंदा घुँडालाई थप क्षति हुनबाट जोगाउन र शीघ्र खेल मैदानमा रमाउन सफलता मिल्ने अवस्था छ ।

(वरिष्ठ अर्थोपेडिक तथा आर्थ्रोस्कोपी सर्जन डाक्टर खड्का भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?