+
+

दशैंको मुखमा जिराको भाउ दोब्बरभन्दा बढी

१ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ २३ गते ९:०५

२३ भदौ, काठमाडौं । चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो ।

१ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । चैत २०७९ मा प्रतिकिलो ७ सय रुपैयाँ थियो । वैशाखमा जिराको मूल्य प्रतिकिलो ८५० रुपैयाँ थियो ।

अहिले होलसेलमा जिराको बिक्री मूल्य १२ सयदेखि १२ सय २५ रुपैयाँ प्रतिकिलो रहेको व्यवसायीहरु बताउँछन् । भदौ महिनाका लागि नेपाल खुद्रा व्यापार संघले जिराको थोक मूल्य १२ सय ५० रुपैयाँ तोकेको छ ।

किन बढ्यो मूल्य ?

भारतमा जिराको उत्पादनमा ह्रास आएपछि जिराको मूल्य बढेको व्यापारीहरुको दाबी छ । जिरा उत्पादन गरेर बिक्री गर्ने मुलुक भारत आफैं जिरा आयात गरिरहेको होलसेल व्यवसायीहरुको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्ता श्रेष्ठका अनुसार भारतमा मूल्य बढ्नु नै अहिलेको नेपाली बजारको समस्या हो ।

मूल्य उच्च हुनु र भन्सार मूल्यांकन कम भएका कारण भारतबाट औपचारिक रुपमा जिराको आयात नै गर्न नसकिएको गुनासो संघका आएको उनले बताए ।

‘स्टक सकियो, नयाँ जिरा महँगीका कारण ल्याउन सकिएन,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिले महँगीको कारण यही हो ।’ बजारमा मागअनुसारको वस्तु नभएपछि मूल्य बढ्नु स्वाभाविक नियम भएको उनको भनाइ छ ।

तर, अर्का एक व्यवसायीका अनुसार बजारमा अहिले भन्सार छलेर भित्रिएको जिरा ठूलो मात्रामा छ । भन्सार मूल्यांकन कम भएका कारण औपचारिक च्यानलबाट जिरा ल्याउँदा महँगो हुने भन्दै ती व्यापारी भन्छन्, ‘पोकामा आएको जिराले अहिले बजार धानिरहेको छ । मूल्य मनपरी छ ।’

तर, भन्सारको तथ्यांकमा कम देखिन्छ आयात मूल्य

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले ६ लाख ४ हजार किलो जिरा आयात गरेको छ । जसको लागत मूल्य २९ करोड १८ लाख रुपैयाँ छ । ५ करोड ४२ लख रुपैयाँ जिरामा सरकारी राजस्व लाग्दा जिराको लागत मूल्य ढुवानी र नाफाबाहेक प्रतिकिलो ५७२ रुपैयाँ छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालले ६० लाख ९७ हजार किलो जिरा औपचािरक च्यानलबाट आयात गरेको थियो । २ अर्ब २ करोड मूल्यको उक्त जिरा आयातमा सरकारले ३७ करोड २८ लाख रुपैयाँ राजस्व पाएको थियो ।

जिराको लागत, राजस्व र आयात परिमाण हेर्दा सो वर्ष जिराको कुल प्रतिकिलो लागत २९२ रुपैयाँ प्रतिकिलो मात्रै देखिन्छ । आर्थिक वर्षको चैतसम्म जिराको बिक्री थोक मूल्य ५५० रुपैयाँ किलोबाट सुरु भएर ८५० रुपैयाँसम्म पुग्यो । साउन २०७९ मा जिराको प्रतिकिलो मूल्य र लागतमा तालमेल देखिए पनि त्यसबाहेकको उपभोक्ता मूल्यमा भने ठूलो खाडल गत वर्ष नै देखिन्छ ।

त्यसो त चालु आवको पहिलो महिनामा गत वर्ष भन्दा स्वाभाविक रुपमा जिराको लागत बढेको देखिन्छ । तर, लागत वृद्धिको तुलनामा उपभोक्ता मूल्य वृद्धि झण्डै चार गुणा बढ्नुको कारण स्पष्ट छैन । जानकारहरुका अनुसार चालु आवको साउनको लागतमा ढुवानी भाडा र २० प्रतिशत नाफा जोडेर बिक्री गर्दा पनि जिराको मूल्य अधिकतम् ७ सय ५० रुपैयाँ भन्दा धेरै पर्दैन । तर, भारतमै उच्च मूल्यमा रहेको जिरा आयात गर्दा न्यून बिजकीकरण भइरहेजस्तो देखिन्छ ।

भारतमा हाल जिराको खुद्रा मूल्य ७ सयदेखि ९ सय भारतीय रुपैयाँसम्म रहेको देखिन्छ ।

वाणिज्य विभाग भन्छ : आयात नै महँगो भयो

बजार नियमन गर्ने वाणिज्य तथा आपूर्ति विभागले भने जिराको मूल्य आयात स्रोत मुलुकमै बढेको दाबी गरेको छ ।

जिराको मूल्य एक्कासी अस्वभाविक बढेको बारे विभागमा गुनासोहरु आउन थालेको विभागका निर्देशक होमनाथ भट्टराईले बताए । तर, मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजार मूल्य नै मुख्य कारण भएको उनको भनाइ छ ।

‘जिराको मूल्य अस्वाभाविक रुपमा बढेको देखिन्छ,’ विभागका सूचना अधिकारी भट्टराईले भने, ‘आयात गर्दै महँगो तिरेको कागजात हामीले देखिरहेका छौं ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?