 
																			२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सार्वजनिक मञ्चहरूमा पनि छोटो–छोटो बोल्न रुचाउँछन् । पत्रकारहरूसँग कमै भेटघाट गर्छन् । विमानस्थल वा बैठकहरूको क्रममा हुने जम्काभेटमा केही सोधे छोटो जवाफ दिएर हिंड्छन् ।
शुक्रबार भने उनी निकै खुलेका छन् । दायाँतर्फ केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल, बायाँतिर राजनीतिक विश्लेषक पुरञ्जन आचार्य र पूर्व प्रशासक गणेश कार्कीलाई राखेर पत्रकारहरूसामु उपस्थित भए ।
अनि पार्टीको आन्तरिक जीवन, आफ्नो समूहको विवाद मात्र होइन, समग्र राजनीतिक विषयमा आफ्नो बुझाइ सुनाए । त्यसक्रममा उनले मुलुक थप अराजकतातर्फ जानसक्ने विश्लेषण सुनाए । महामन्त्री गगनकुमार थापा र आफूबीच दूरी नबढेको स्पष्टीकरण दिएकाले फेरि सभापति उठ्ने संकेत समेत गरेका छन् ।
कांग्रेस नेता डा. कोइरालाले विषय प्रवेश भने उत्तरी छिमेकी चीनले हालै प्रकाशित गरेको नक्साबाट गरे ।
नेपालले जेठ २०७७ मा कालापानी, लिपुलेक र लिम्पियाधुुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । तर हालै मात्र चीन सरकारले आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ होइन, पुरानै नक्सा देखाइएको छ । ‘नेपालले सार्वजनिक गरेको हाम्रो नक्सा भारतले त मानेकै थिएन, चीनले पनि बेवास्ता गरिदियो’ शेखरले भने, ‘प्रधानमन्त्री चीन जाँदा कसरी डिल गर्नुहुन्छ, सोच्दैछु ।’
त्यसपछि कोइराला धरानको घटनामा प्रवेश भए । आफूले विभिन्न धर्मावलम्बीसँग कुरा गरेको भन्दै उनले निष्कर्ष सुनाए, ‘देख्दा धार्मिक देखिए पनि धार्मिक होइन, बरु प्रचण्डको अभिव्यक्तिले पनि धरानको घटना उक्साउन काम गर्यो ।’
२५ साउनमा आदिवासी जनजाति दिवसको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादीलाई दुई तिहाइ दिए प्रदेशको नाम पहिचानका आधारमा राख्ने दाबी गरेका थिए । डा. शेखरले यसको सार्वजनिक रूपमै विरोध गरेका थिए ।
डा. शेखर सरकारको कामकारबाहीप्रति पनि सन्तुष्ट देखिएनन् । सचिव समेत आफू अनुकूल बनाउन नदिएको र मन्त्रीहरू काम नै गर्न नसक्ने अवस्थामा रहेको उनले सुनाए । ‘प्रधानमन्त्री र अर्थमन्त्रीले राम्रै गरिरहेको भनिरहनुभएको छ’ डा. शेखर भन्छन्, ‘त्यस्तो त छैन, अर्थतन्त्र ओरालो लागेको लाग्यै छ ।’
उनी केही दिनअघि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका रहेछन् । उनले प्रधानमन्त्रीसँग भएको संवाद पनि सुनाए । प्रधानमन्त्री प्रचण्डले अदालतलाई देखाउँदै गुनासो गरेपछि आफूले दिएको जवाफ उनले सुनाए, ‘तपाईं विधिसम्मत हिंड्नुस्, अदालत त चुप लागेर बस्छ नि ! गलत ग¥यो भने न अगाडि आउँछ !’
राज्यका अंगहरूप्रति नागरिकको अविश्वास र वितृष्णा बढेको भन्ने कांग्रेस नेता डा. कोइरालाको विश्लेषण छ । ‘पपुलिजमले झनै निराशा बढाउने काम गरेको छ । सामाजिक अभियन्ताहरूले लोकरिझाइँका लागि लेख्ने बाहेक केही लेखेको देख्दिनँ’ चिनियाँ राजदूतको पछिल्लो अभिव्यक्तिप्रति संकेत गर्दै उनले भने, ‘हुँदाहुँदै कूटनीतिज्ञले पनि लोकरिझाइँको कुरा गर्नुभयो ।’
पटक–पटक आफू मध्यमार्गी भएको सुनाएका डा. कोइरालाले दशैं–तिहारपछि मुलुक थप अराजकतामा जानसक्ने विश्लेषण सुनाए । अनि लोकप्रियताको कुरा गर्नेहरूले गलत कार्य गरे पनि प्रतिवाद हुन नसकेको गुनासो गरे । रास्वपा सभापति रवि लामिछानेको नाम नलिई उनले भने, ‘शेखर कोइरालाको ड्राइभर चुनावको बेला छतबाट खसेर मृत्यु भएको भए के लेख्नुहुन्थ्यो ?’
केन्द्र सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन नगर्दा संघीयताको विषयमा प्रश्न उठेको उनले बताए । संघीयता विरोधी नेताहरू धेरै जना भएको उल्लेख गर्दै भने, ‘हाम्रो मानसिकता नै संघीयता चल्दैन भन्ने छ । म चाहिं संघीयता हुनुपर्छ भन्ने हुँ । छरितो तरिकाको बनाउनुपर्दछ ।’ साथै अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउनसक्ने सम्भावना नभएको भन्दै डा. कोइरालाले समावेशिता कायम हुने गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए ।
मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनमा डा. शेखर र महामन्त्री गगनकुमार थापाको एउटै समूह थियो । उनीहरू अहिले पनि एकैठाउँ छन् । तर शेखरमाथि आफ्नो समूहलाई एक ढिक्का राख्न नसकेको आरोप लाग्ने गर्छ । कतिपय नेता त सभापति देउवातिर बढी ढल्किएको आशंका गर्छन् ।
डा. शेखरले भने एजेण्डाका हिसाबमा गगन र आफूबीच मतान्तर नभएको दाबी गरे । उमेरजन्य कारणले गगन र आफ्नो शैलीमा भने फरक देखिएको स्वीकार गरे । ‘उहाँ अलि आक्रामक हुनुहुन्छ । आक्रामक हुने मेरो शैली छैन’, कोइरालाले भने ।
आफ्नो समूहबाट मन्त्रीका लागि पठाएको नाममा विवाद नै नभएको दाबी गरे । महामन्त्री थापासँग दुई घण्टा छलफल गरेर आफ्नो तर्फबाट मन्त्री हुनेहरूको नाम टुंग्याएको दाबी गरे । आँखा उपचारका लागि सिंगापुर जाने क्रममा ‘मन्त्रीको नाम बुझाएको छु है’ भनेर महामन्त्रीलाई फोन गर्न भने बिर्सिएर बताए ।
उनले सञ्चारकर्मीहरूसँग गुनासो गरे, ‘कांग्रेसको आन्तरिक पोलिटिक्सलाई तपाईंहरूले धेरै महत्व दिनुहुन्छ, आन्तरिक पोलिटिक्समा छिर्न खोज्नुहुन्छ । त्यसले पनि बिगार्छ ।’
१४औं महाधिवेशनमा पाएको ४० प्रतिशत मतलाई ६० प्रतिशत पु¥याउन आफू प्रयत्नशील रहेको बताएका डा. कोइराला अभियान लिएर देश भ्रमण गर्ने योजनामा रहेको बताए । अनि, देउवासँग मिलेको भनी गरिएको प्रचारमा सत्यता नभएको उनले सुनाए । ‘देउवाले १३औं महाधिवेशनमै आफ्नो महामन्त्रीमा लड्न अनुरोध गरेका हुन् । त्यो बेला मैले कुनै बेला तपाईंसँग सभापतिमा लड्छु भनेको थिएँ’ डा. कोइरालाले भने, ‘देउवासँग म मिल्छु त ?’
त्यसो भए के गर्छन् त ? १४औं महाधिवेशनमा ‘एकैपटक यसैपटक’ भनेर सभापतिमा उठ्नुभएको थियो नि भन्ने प्रश्नमा डा. शेखर सुनिए, ‘एकैपटक भएन नि त !’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4