+
+

ठूलालाई कानुन लाग्दैन भन्ने बुझाइ यो सरकारले बदलेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते १८:४३

२३ भदौ, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिब र निमुखालाई मात्र कानुन लाग्छ भन्ने बुझाइ अहिलेको सरकारले बदलेको टिप्पणी गरेका छन् ।

शनिबार गोरखाको सिरानचोकमा स्थानीय बासिन्दासँगको भेटघाटमा उनले दोषी छ भने नेता, मन्त्री, कर्मचारी कसैले पनि छुट पाउन सक्दैन भन्ने सरकारले प्रमाणित गरेको दाबी गरेका हुन् ।

‘गरिब र निमुखालाई मात्र कानुन लाग्छ । ठूला नेताहरुलाई मन्त्रीहरु, सचिवहरु या ठूला पदाधिकारीहरुलाई कानुन लाग्दैन भन्या जस्तो जुन बुझाइ थियो, त्यसलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ’, प्रचण्डले भने, ‘यदि कोही दोषी छ भने त्यो मन्त्री भएपनि, नेता भएपनि, कर्मचारी भएपनि छुट पाउन सक्दैन ।’

कतिपयले सरकारले आफ्ना मान्छेलाई जोगाएको भनेपनि त्यो अनर्गल प्रचार भएको उनको जिकिर छ । ‘अनुसन्धानकर्ताहरुलाई मैले भने तपाईंहरुले दोषी पत्ता लगाउँदै जाँदा, भष्ट्राचारका विरुद्ध, सुशासनको पक्षमा अनुसन्धान गर्दै जाँदा त्यहाँ प्रचण्ड देखिए पनि, मलाई भएपनि तपाईंहरुले बयान पनि लिनुपर्छ । जरुरी परे गिरफ्तार पनि गर्न सक्नुपर्छ निर्देशन दिएको छु’, प्रधानमन्त्री प्रचण्डले भने ।

भ्रष्टाचारले न्याय र समानतालाई कमजोर बनाएको भन्दै उनले माथिदेखि तल्लसम्म भष्ट्राचार जालो नतोडेसम्म सुशासन स्थापित नहुने बताए । देशमा ललिता निवासजस्तै अरु सरकारी जग्गाहरु पनि व्यक्तिको नाममा गएको हुन सक्ने भन्दै उनले सरकारले त्यसको खोजी गर्ने बताए । ललिता निवास जग्गा प्रकरणमा पनि कसैलाई फसाउने उद्देश्य नराखेको प्रचण्डले बताए ।

‘ललिता निवास एक सुरुवात मात्र हो, त्यहाँ हामीलाई फसाउने कुनै उदेश्य छैन् । हाम्रो उदेश्य सरकारको जग्गा सरकारकै हुनु पर्छ भन्ने हो’, उनले भने, ‘यस्ता हजारौं फाइलहरु खोल्दै जानुपर्छ । राज्यको सम्पत्ति जाली झेली गर्नेहरु कानुनको दायरामा ल्याउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?