+
+

‘द रेड सुटकेस’लाई भेनिसमा तीन मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते १९:३३

काठमाडौं । नेपाली फिल्म ‘द रेड सुटकेस’लाई प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा रेडकार्पेट प्रिमियर गरिएको छ । फेस्टिभलको होरोजान्टे विधामा छानिएको यो फिल्मलाई १३ सय क्षमताको साला डेरसेना हलमा स्क्रिनिङ गरिएको थियो ।

प्रिमियरमा निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल र शोभा थापा, कलाकारहरु सौगात मल्ल, बिपिन कार्की र सृष्टि श्रेष्ठ सहभागि रहे । डेढ घन्टा हाराहारीको फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकले फिल्मलाई तीन मिनेटको स्टयान्डिङ ओभेसन दिएका थिए ।

मन पराएको फिल्मलाई दर्शकले यसरी नै तालीले स्वागत गर्ने परम्परा फेस्टिभलमा रही आएको छ । भेनिसमै यो साल ‘पुअर थिंक्स’का लागि योर्गोस लान्थिमोसले ७ मिनेट लामो स्टयान्डिङ ओभेसन पाएको चर्चा थियो ।

फिल्मको प्रदर्शनपछिको प्रश्नोत्तर सेसन भने रोचक बन्यो । प्रदर्शनपछि दर्शकले फिल्मको कथासँग नेपाली समाजको साइनो र फिल्मभित्र निर्देशक देवकोटाले राखेका सांकेतिक दृश्यबारे जिज्ञासा राखे ।

नेपालले प्रायः युरापोली निर्मातासँग सहकार्य गरेर फिल्म बनाउने गरेको छ । तर ‘द रेड सुटकेस’ले भने श्रीलंकाका चर्चित निर्देशक विमुक्ति जयसुन्दरासँग सहकार्य गरेको हो । यो फिल्मका सम्पादक पनि श्रीलंकाली नै हुन् ।

चलचित्रले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा पेश गर्छ । ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौँ जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैन । फिल्ममा मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् ।

शुक्रबार नै फिल्मले बिसाटो डिओरो नामको अवार्ड पनि प्राप्त गरेको छ । स्वतन्त्र समीक्षकको संस्थाले प्रदान गर्ने यो अवार्ड डेब्यू फिल्म बनाउनेलाई दिइने परम्परा अनुसार फिडेल देवकोटालाई प्रदान गरिएको सर्टिफिकेटमा उल्लेख छ । भेनिसको समापन शनिबार हुँदैछ । इटालीको समयानुसार साँझ हुने समारोहमा यो वर्षका विभिन्न विधाका विजेताको घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?