+
सोमपालको एसिया कप :

‘म ब्याटिङ गरिरहेको छु, साहिन अफ्रिदी दौडिएर आइरहेको छ, अरू के चाहियो !’

२०८० भदौ  २४ गते २०:२२ २०८० भदौ २४ गते २०:२२

आज म आफ्नो सपनाको संसारमा छु, हरेक क्षणको आनन्द लिइरहेको छु । एक दिन त जाग्नुछ, जागेपछि के हुन्छ, त्यही बेला भन्छु

‘म ब्याटिङ गरिरहेको छु, साहिन अफ्रिदी दौडिएर आइरहेको छ, अरू के चाहियो !’

एकेडेमीमा जाँदा भाइहरूले बारम्बार सोधिरहन्छन्, दाइ सर्भाइभ कसरी हुने ? १० वर्ष, १५ वर्ष त क्रिकेट खेलिएला, त्यसपछि के गर्ने ?

तर मलाई के लाग्छ भने तपाईंको खुसी कहाँ छ, त्यो खोज्नुपर्छ । एक लाख, दुई लाख वा १० लाख नै कमाएर पनि तपाईं खुसी हुनुहुन्न भने त्यो कमाइको अर्थ भएन ।

म क्रिकेट खेल्छु, किनकि मलाई क्रिकेट एकदमै मनपर्छ । म हरेक क्षणको आनन्द लिन्छु । जतिखेरसम्म मेरो ममी–ड्याडी र परिवारका सदस्य खुसी रहनुहुन्छ, त्यो बेलासम्म खेल्छु ।

आज म आफ्नो सपनाको संसारमा छु, हरेक क्षणको आनन्द लिइरहेको छु । एक दिन त जाग्नुछ, जागेपछि के हुन्छ, त्यही बेला भन्छु ।

आज चाहिं मैले आफ्नो सपनाको कुरा गर्छु । त्यही सपना जुन हरेक क्रिकेटरमा हुन्छ । एसिया कप अनि त्यसमा पनि भारत र पाकिस्तान जस्ता दुई बलिया टोलीसँग खेल्ने ।

****

१० वर्ष भइसक्यो, मैले नेपालबाट क्रिकेट खेल्न थालेको । जहिले पनि एसिया कप टीभीमा हेरें । यस्तो लाग्यो, हामी डिजर्ब गर्छौं । तर जहिले पनि केही न केही भइदिने, रिजल्ट सोचे जस्तो नभइदिने चलिरह्यो । क्रिकेट हो, त्यस्तो हुन्छ ।

फाइनल्ली यो पटक एसिया कप पुग्यौं । दिल्ली जाने बेला जहिले पनि भन्थे, नेपाल भी क्रिकेट खेल्ता है क्या ! अब सबैले थाहा पाए, भारतसँग एकदमै राम्रो खेल्यौं । एकदमै खुसी छु ।

भारतसँगको खेलअघि पाकिस्तानसँग भएको पहिलो खेलको कुरा गरौं ।

१३ भदौमा मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानले टस जित्यो । यदि हामीले टस जितेको भए ब्याटिङ गर्ने योजना थियो । किनकि एक दिन पहिला अभ्यास गर्दा ६ बजेको थियो । बल कट भइरहेको, मूभमेन्ट पनि राम्रो भइरहेको थियो । मैले रोहित (कप्तान)लाई भनें, हेर हामीले ६ देखि ७/८ बजेसम्म प्राक्टिस गर्दा बल मूभ भइरहेको छ ।

तर टस हाम्रो हातमा हुँदैन । जे पाउँछ, त्यसमा राम्रो गर्ने हो । पाकिस्तानले टस जित्यो र हामीलाई फिल्डिङको निम्तो दियो ।

कप्तान रोहितले पहिलो ओभरका लागि मेरो हातमा बल थमाए ।

तपाईंहरूलाई लाग्दो हो, क्रिजमा फाखर जमान र मिसबाह उलहक जस्ता ब्याट्सम्यान छन् । टेष्ट र आईडीआईमा ५ हजारभन्दा बढी रन बनाइसकेका उलहक र उदीयमान जमानलाई बल फाल्नु अघि मेरो दिमागमा के चलिरहेको थियो ?

साँच्चै भन्नुपर्दा, त्यस्तो केही थिएन । बल हातमा आएपछि मैले आफ्नो योजनामा काम गर्छु । बाबरलाई बल फाल्दैछु कि विराट कोहलीलाई भन्ने कुराले खासै अर्थ राख्दैन ।

मैले बल फाल्दै गर्दा एउटा साइड ओपन थियो र स्वीइङ भइरहेको थियो । तर पहिलो बलमै त्यति स्वीइङ होला भन्ने लागेको थिएन । एयरमा स्वीइङ भयो र पहिलो ओभरमै दुइटा बाउण्ड्री आयो । त्यसपछि त्यहाँको कन्डिसन के छ ? हावा कस्तो चलिरहेको छ भन्ने थाहा पाएँ, अनि अव्यस्त भएँ ।

हाम्रो जहिले पनि पहिले बलिङ गर्दा १० ओभरमा ३०/३५ रन दिएर १ वा दुई विकेट पायौं भने हाम्रा लागि बोनस हुन्छ भन्ने मान्छौं । त्यो दिन पनि त्यस्तै भयो ।

२ विकेट खसिसकेको थियो, ३५ रन थियो, अनि ८ ओभर खेलिसकेका थियौं । करण (केसी) र म चाहिं हाम्रो पावर प्लेको जब (जिम्मेवारी) डन (पूरा) गरिसकेका छौं भन्नेमा थियौं ।

त्यसपछि दुई ओभरमा नो बल पनि भयो र १० ओभरमा ५५ रन बन्न गयो । तैपनि हामी ठीक थियौं, सोचे जस्तै भइरहेको थियो । तर क्रमशः ब्याटिङ गर्न सहज हुँदै गयो । बाबर (पाकिस्तानी कप्तान बाबर आजम)ले एकदमै राम्रो इनिङ खेले । तपाईंले पनि टीभीमा हेर्नुभयो होला । तपाईंले टीभीमा जति इन्जोई गर्नुभयो, त्योभन्दा बढी म ग्राउण्डको उनको ब्याटिङको आनन्द लिइरहेको थिएँ । ब्याटिङ भन्दा पनि कुनै गीत गाइरहेको जस्तो थियो, क्या मज्जाले खेलेको । उनले एउटा पनि स्वीप खेलेनन्, कभरतिर खेलेनन् । किनकि त्यो दिन विकेट फरक थियो । आफ्नो फेबरेट सर्टहरू पनि खेलेनन् । यो विकेटमा मैले कहाँ रन बनाउन सक्छु, यो बलरहरूलाई कहाँ रन बनाउन सक्छु भनेर स्मार्टली खेले ।

१४० वा त्योभन्दा माथिको बल खेल्ने बानी परेको उनलाई हामीले १३५/१३६ को गतिमा बल फालिरहेका थियौं । पेस फरक पर्दा गाह्रो हुन्छ, ब्याट अगाडि पनि जान सक्थ्यो । त्यसैले उनले सुरुमा स्क्वायरमा रन बनाए । क्रिजमा सेट भए, विकेट पनि फ्लाट भए, अनि चार्ज गर्‍यो ।

मलाई याद छ, ३८ ओभरपछि उनीहरूले खुलेर खेल्न थाले । विकेट टन्नै बाँकी थियो, रन पनि बनाउनुपर्ने थियो । अनि उनीहरूलाई थाहा थियो कि बल ब्याटमा एकदमै राम्रो आइरहेको थियो । किनकि स्लोअर फाल्दा पनि स्कीप भएर ब्याटमै गएको थियो । स्पिनरको पनि स्कीप भइरहेको थियो । ब्रेक भएको थियो । ब्याटिङ गर्न सहज थियो । बाउण्ड्रीहरू पनि टन्नै आए । घाम लागेको थियो, विकेट सुक्यो, हार्ड भयो । त्यो बेलामा सेट ब्याट्सम्यान थिए । त्यसैले उनीहरूले सिंगल डबल लिने कुरै भएन ।

अन्तिमको ओभरमा मेरो दुई विकेट आयो । मलाई लाग्छ, निकै ढिलो भइसकेको थियो । तर म खुसी पनि थिएँ । किनकि योर्करहरू फाल्छु भन्ने योजना थियो । २४ बलमा कम्तीमा १६/१७ वटा योर्करहरू फालें, त्यसमा म खुसी छु ।

****

समग्रमा भन्नुपर्दा सुरुको ३५/४० ओभर हामीले राम्रै गरेका थियौं । तर अन्तिमको १० ओभर सोचे जस्तो भएन । किनकि ५ बजेपछि विकेट पनि राम्रो भयो, ब्याटमा बल आइरहेको थियो । बल पनि पुरानो भइसकेको थियो । अनि क्रिजमा बाबर र इफ्तिखार दुवै सेट भइसकेका थिए ।

बाबरले पनि त्यही भनिरहेका थिए कि सुरुको विकेटमा गाह्रो भएको थियो । जब मैले टाइम लिएँ, सहज हुँदैगयो ।

हाम्रो फिल्डिङमा पनि सोचे जस्तो भएन । घामले मैदान सुकेका कारण बल हामीले सोचेभन्दा निकै छिटो आइरहेको थियो । उनीहरू खेलिराख्ने भएकाले फ्लाट विकेटमा कसरी रन बनाउने भन्ने आइडिया थियो । हामी पहिलो पटक खेलिरहेका थियौं, त्यसैले पनि कहीं न कहीं चुक्यौं ।

तैपनि मलाई लाग्छ, फर्स्ट इनिङमा राम्रो गरेका थियौं, तर एकदम नराम्रो किन देखियो भने हामीले राम्रो ब्याटिङ गर्न सकेनौं ।

३४३ रनको लक्ष्य लिएर मैदानमा उत्रिंदा माइण्डमा त्यही थियो कि ४० ओभरसम्म १८० पुर्‍याऔं । त्यसपछि जे पनि हुनसक्छ । त्यसका लागि सुरुवाटै सेट हुनुपर्छ, जति हुनसक्छ लैजानुपर्छ र अन्तिमको १५ ओभर चार्ज गर्नुपर्छ भन्ने थियो । किनकि हामीसँग दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल मल्ल र गुल्सन झा, जसले हिट्सहरू राम्रो हान्न सक्छन् । ब्याडलक ! हाम्रो सुरुवात राम्रो भएन । त्यसैले गर्दा जति हाम्रो क्षमता थियो, त्यसअनुसार स्कोर बनाउन सकेनौं ।

एउटा कुरा भन्छु, जतिबेला ब्याटिङका लागि गएको थिएँ, म पूर्ण रूपमा तयार पनि भइसकेको थिइनँ । एकदमै गर्मी भएकाले बलिङ सकेपछि आइस बाथ गर्न गएको थिएँ । सर (मोन्टी देसाई) ले अकस्मात् प्याड गर भन्नुभयो । म त उत्साहित भएँ वाह् ! मैले ब्याटिङ पाउने भएँ भनेर । प्याड लगाउँदा लगाउँदै दोस्रो ओभरमै विकेट खस्यो ।

सरले सोध्नुभयो, तिमी जान्छौ कि पर्खिन्छौ !

मैले छिटो छिटो बाँध्न थालें । ललितले हेल्मेट, ब्याट निकालिदियो । मैले प्याड लगाएँ, भागिहालें व्याटिङ गर्न ।

टीभीमा हेर्दा तपाईंलाई लाग्दो हो, १४/३ को अवस्थामा मैदान उत्रिंदा दबाब होला । मैले चाहिं एकदमै इन्जोई गरें ।

मेरो भूमिका मलाई थाहा थियो, ब्याटिङ मात्र गर्ने हो । मलाई यो पनि थाहा थियो, एक्स्ट्रा सर्टहरू खेल्न खोजें भने आउट गर्छन् । त्यसैले म आफ्नो बेसिक्समा बसें, बाहिरको छोड्ने हो, बाउन्सर छोड्ने हो, माथिको आयो भने कभर ड्राइभ मात्र हान्छु । मलाई यो पनि थाहा थियो कि पाकिस्तानी बलरहरूले एक्स्ट्रा गर्न जान्दछन् । त्यो बेला कहीं न कहीं रन लिक हुन्छ ।

त्यसैले मलाई त मज्जा आइरहेको थियो । म ब्याटिङ गरिरहेको छु, साहिन अफ्रिदी दौडिएर आइरहेको छ । अरू के चाहियो !

साँच्चै भन्दा डिफरेन्ट फिलिङमा थियौं । सबैले घेरेका थिए, बाउन्सर फालिरहेका छन् । एउटा बलर भएको हुनाले पनि उनीहरूले कस्तो बल फाल्छन् भन्ने अनुमान गर्न सक्थें । मलाई थाहा थियो, दुई बल पछाडि फाल्यो भने अर्को अगाडि फाल्छन् । मलाई थाहा थियो, अब एउटा यहाँ फाल्यो भने दुइटा बाउन्सर फाल्छन् । बडीमा हिट गर्न सक्छन्, योर्कर फाल्न सक्छन् । त्यसका लागि म तयार थिएँ ।

साहिन अफ्रिदीको बल मात्र मलाई खेल्न हल्का गाह्रो भयो । बाँकी पनि सजिलो त नभनौं, तर रन बनाउन गाह्रै थियो । तर इन्जोई गरिरहेको थिएँ । १३०/१३५ को स्पीडको बल फेस गर्नु र उनीहरूलाई फेस गर्नुमा अर्को फरक के महसुस गरें भने रियाक्ट गर्न पनि समय कम हुँदोरहेछ । यसलाई पुल हाल्ने हो भन्ने मलाई थाहा छ, तर समय नै नहुँदोरहेछ ।

एकाध बल फेस गरेपछि सोधें, अब यिनीहरूलाई पुस नगरौं । किनकि ३ विकेट खसिसकेको छ । अब पहिला ३० रनको साझेदारी गरौं, बढाएर ५० पुर्‍याऊँ । आरिफ (शेख) सँग त्यही कुरा भइरहेको थियो । यही बीचमा आरिफ आउट हुनपुग्यो ।

गुल्सन (झा) आयो । तर सोचे जस्तो भएन ।

ओभरको लास्ट बल थियो, मेरो मन पनि उस (हरिस राउफ) को लास्ट बल होला । त्यही बलमा एज लाग्यो । सायद त्यो ओभरमा म आउट नभएको भए स्पीनर ल्याउन सक्थें । त्यो बेला गुल्सन र मैले अझै ५० रन जोड्न सकिथ्यो कि !

खैर, राम्रो बल पर्‍यो भनौं वा मैले राम्रोसँग जज गर्न सकिनँ, आउट भएँ ।

हामी २३.४ ओभरमा १०४ रनमा अलआउट भयौं । अपसेट त्यही रह्यो कि कम्तीमा हामीले १५० रन चाहिं बनाउनुपर्ने थियो, हामीले सकेनौं ।

खेलपछि हाम्रो मूड राम्रो रहेन । सबै अपसेट थिए, कतिले त डिनर समेत छाडेका थिए । किनकि एसिया कपमा पाकिस्तानसँग खेल्न जानुभन्दा पहिला हाम्रो सल्लाहहरू धेरै थियो । कसरी रन हान्ने, कसरी विकेट लिने सोच बनाएका थियौं । त्यो पूरा गर्न नसक्दा निराश हुनु स्वाभाविक थियो ।

त्यसलाई मोन्टी सरले बुझ्नुभयो, रोहित (कप्तान)ले पनि कुरा गरेको होला । सरले केही दिन क्रिकेटबाट ब्रेक लिउँ भन्नुभयो । रिफ्रेसका लागि मन्दिरतिर लैजानुभयो, लञ्चमा लैजानुभयो । भारत-पाकिस्तानको खेल हेर्न गयौं ।

भारतसँग खेल्नु अघिल्लो दिन मात्र आइतबार (१७ भदौ) इन्डोरमा प्राक्टिस गर्‍यौं। त्यसपछि सिधा म्याच । तर म्याच अगाडि हामी सबै क्लियर थियौं, हामी के गर्न आएको भन्ने ।

मैले भनेको पनि थिएँ, पाकिस्तानसँग भएको खेललाई हेरेर हामीलाई जज नगर्नुस् । हामी युवा छौं, तर क्षमता पनि छ । पाकिस्तानको कन्डिसन फरक थियो, श्रीलंकाको फरक । श्रीलंकाको कन्डिसन नेपालको जस्तै थियो ।

थ्यांक गड, राम्रै खेल्यौं । फर्स्ट पार्टनरसिप हेरेर चाहिं मज्जा आयो ।

ए, सुरुमा टसको कुरा गरौं ।

श्रीलंकाको पाल्लिकेले क्रिकेट रंगशालामा एकदमै गर्मी थियो । फर्स्ट इनिङमा फिल्डिङ गर्दा ब्याटिङको बेलामा थकित हुन्छौं भन्ने लागेको थियो । ८ बजेपछि पानी पर्ने पक्का थियो । ब्याटिङ गरेको बेला बाहिर जाने, आउने गर्न सहज हुन्न । यस्ता कुरा हेरेर टस जिते ब्याटिङ गर्ने भन्ने थियो ।

टस त हामीले जितेनौं, तर फर्स्ट ब्याटिङ नै पायौं । सुरुवात पनि राम्रो भयो ।

म, रोहित, केसी र गुल्सन एकठाउँमा थियौं । कुशल भुर्तेलको क्याच छुटिरहेको थियो । मैले धोनी मुभीको सिन सम्झिएँ, जहाँ उसको आमा मन्दिरमा घन्टी लिएर बसिरहेकी हुन्छिन् । मैले साथीहरूलाई ठट्टा गरेर भनें, कुशलको ममी पनि आज मन्दिरमा घन्टी लिएर बसिरहनुभएको छ भनेर ।

फर्स्ट स्लिपमा छुट्यो, फेरि किपरले छोड्यो । फेरि अम्पायरले आउट दिंदा पनि रिभ्यूमा उल्टियो । त्यसैले मलाई लागिरहेको थियो, आज भुर्तेलले १०० हान्छ । आउट अफ दि पार्क एउटा छक्का हान्यो, बाउन्ड्रीहरू पनि त्यस्तै हानिरहेको थियो । साँच्चै म एकदमै इन्जोई गरिरहेको थिएँ ।

तर धेरै इन्जोई गर्न दिएन उसले । १४४/६ हुँदा म ब्याटिङमा गएँ । हरेक पटक मभित्र जानुभन्दा पहिले सरले भन्नुहुन्छ, तँ यसरी खेल्ने भनेर । त्यो दिन मलाई ४९ ओभरसम्म तिमीले खेल्नुपर्छ भन्नुभयो । मेरो माइण्ड पनि त्यही थियो, धेरै चार्ज गर्दिनँ । दीपेन्द्र सिंह ऐरी खेलिरहेको छ भने मलाई लाग्दैन मैले केही एक्स्ट्रा गर्नुपर्छ । किनकि उजस्तो प्लेयर नेपालमा छैन । अर्को खेलाडी करण केसी थियो । त्यसैले मैले पुस गर्दिनँ, बेसिक्समा खेल्छु ।

मैले स्लो स्टार्ट गरें । मलाई लाग्छ, ३० बलमा १६ रन मात्र थियो । ब्याडलक ! दिपी (दीपेन्द्र सिंह ऐरी) र म सेट भइसक्दा पानी पर्‍यो । बाहिर गएर आउँदा अगाडिको मोमेन्टम रहन्न, अभ्यस्त हुन ३/४ ओभर लाग्छ । त्यही बीचमा दिपी आउट भयो ।

जबकि १० ओभर खेल बाँकी नै थियो । सन्दीप आयो, त्यो बेला पनि मेरो सोच ४९ ओभरसम्म लैजाने र २६० बनाउने थियो । तर सन्दीपको ब्याटमा बल लागिरहेको थिएन, त्यसैले मैले डिफेन्सिभ मात्र खेलेर पुग्दैनथ्यो । तर मलाई यो पनि थाहा थियो कि सर्ट बल फाल्छन् । मलाई अगाडि दिंदैन किनकि मिड अफ, मिड अन भित्र थियो । त्यसैले सर्ट बल फाल्छन्, म ब्याट घुमाउँछु भनेर बसें । ४६ र ४७ ओभरको अन्तिम बलमा छक्का पनि आयो ।

तर अर्को ओभरको दोस्रो बलमा आउट भएँ । मलाई डर पनि (मोहम्मद) सामीको बलमा थियो । किनकि उसको बल एक्स्ट्रा बाउन्स भइरहेको थियो । सुरुवातमा टीभीमा हेर्दा उसको बल कट पनि भइरहेको छ । सिट हेर्दा आउट सिम थियो, तर कट भएर भित्र आइरहेको थियो । त्यसैले डर थियो । उसैले (मेरो विकेट) लगेर गयो ।

अर्धशतकबाट मात्र २ रन टाढा थिएँ । त्यही प्रेसरमा त आउट भइनँ भन्ने लाग्न सक्छ । तर नढाँटी भन्नुपर्दा मेरो कति रन भएको छ भन्ने थाहै थिएन । बोर्डमा यत्ति देखेको थिएँ, २२८ रन भएको छ र कसरी थप ३० रन बनाउने भन्ने थियो ।

पछिल्लो पटक पाकिस्तान एसँग खेल्दा ७५ रन हानेको थिएँ । तर मलाई मेरो स्कोर थाहै थिएन । रुममा आएपछि उमेश सर (पूर्व प्रशिक्षक उमेश पटवाल) ले फोन गर्नुभयो । ‘अबे क्या कर रहा था, दो छक्के मारता तो १०० हो जाता’ भन्नुभयो । मैले भनेँ, सर मैले आफ्नो रन नै हेरिनँ । उहाँले ठट्टा गर्नुभयो, ‘तु लेजेन्ड हि हे !’

मैले आफ्नो रनभन्दा पनि टिमको रनमा धेरै ध्यान दिएको थिएँ । मेरो सोच त्यही थियो कि ४९ ओभर, २६० रन ।

तर म टार्गेटभन्दा पहिला आउट भएँ । टिम पनि २३० मै गयो । नभए २६० मज्जाले बन्थ्यो । २६० बन्नासाथ हामीलाई यत्ति थाहा थियो, ८ बजे पानी पर्छ र ओभर कम हुन्छ ।

पानी पनि पर्‍यो, ओभर पनि घट्यो । तर हाम्रो त्यही ३० रन पुगेन । त्यो ३० रन पुगेको भए १८० पनि हुनसक्थ्यो टार्गेट ।

फिल्डिङका लागि मैदानमा जाँदा हाम्रो सोच यही थियो कि विकेट लिऊँ पहिला । गिलो विकेट थियो, स्पीनरहरूलाई ग्रिप गर्न गाह्रो भइरहेको थियो । एउटा साइड सानो थियो, रोहित शर्माले स्पीनरलाई एकदमै राम्रो खेले ।

सोचे जस्तो त भएन, फेरि पनि हामीले राम्रै गर्‍यौं भन्ने लाग्छ । किनकि हामीले २० ओभरभन्दा बढी बल फाल्यौं । हेर्दा नराम्रो प्रदर्शन गर्‍यो कि जस्तो लाग्छ, तर स्कोर बोर्ड हेर्नुस् त !

२.१ ओभरमा पानीले खेल रोकिएपछि म्याच २३ ओभरमा झर्‍यो । त्यसपछि बलिङमा राम्रो स्टार्ट गर्नै सकिएन । मलाई के लाग्छ भने ५० ओभरकै खेल भएको भए पनि सुरुवातमा विकेट निकाल्न सकिन्थ्यो । किनकि बलको मूभमेन्ट थियो । टी–२० हुनासाथ उनीहरूले मूभमेन्ट हुनै दिएनन्, रोहित शर्माले वाक गरेर खेल्न थाले । बाउन्ड्रीहरू आएपछि हामी हल्का ब्याकफूटमा पनि गयौं । एकाध क्याच समाउँछौं जस्तो थियो, त्यो पनि भएन ।

समग्रमा भन्दा बलिङ पनि राम्रै गरेको हो, तर रिजल्ट हाम्रो पक्षमा रहेन ।

एकछिन आफ्नै कुरा गरौं, भारतसँग खेल्ने क्रममा मैले सबभन्दा बढी इन्जोई गरेको क्षण भनेको विराट कोहलीसँग भएको भेट नै हो ।

सचिन तेन्दुलकर सबभन्दा मन पर्ने क्रिकेटर हो । उनीसँग भेट भएको छैन ।

त्यसपछि विराट नै हो । उनीसँग ग्राउण्ड शेयर गरिरहेको थिएँ । जतिबेला म ब्याटिङ गरिरहेको थिएँ, विराट कभरमै थिए । उनले मेरो आँखामा हेरिरहेका थिए, म उनको आँखामा हेरिरहेको थिएँ । त्यो छुट्टै फिलिङ थियो ।

उसले मलाई भनिपनि रहेको थियो, अबे क्या खाते हो, इतना तेज हो !

भन्नुहोला, विराटलाई बल त फाल्न पाइनस् नि ! अब आईपीएलमै फाल्नुपर्छ कि !

यो त भयो खेल मैदानभित्रको कुरा । अब के सिक्यौं भन्ने पनि कुरा गरौं । दुवै खेलपछि हामीले दुवै देशका कप्तान क्रमशः बाबर र रोहितसँग कुरा गर्ने अवसर पाएका थियौं ।

सुरुमा बाबरको कुरा गरौं । उसले जस्तो ब्याटिङ गर्‍यो, त्यसबाट सिक्नुपर्ने धेरै थियो । यतिकै उनलाई बादशाह भनेको होइन भन्ने बुझ्यौं । कुराकानीका क्रममा पनि भनिरहेका थिए कि पहिलो पटक आएर पनि यत्तिको खेल्यौ । अझ मिहिनेत गर्नुपर्छ । १५० को गति भएको फास्ट बलरलाई खेल्नु छ भने त्यति गतिको बल नियमित खेल्नुपर्छ । साइडआर्मले भए पनि १४०/१५० को बल फेस गर्नुपर्छ ।

रोहितसँग कुरा गर्दा पनि मलाई के फिल भयो भने हामी उनीहरूभन्दा धेरै तल छैनौं । म्याच विनिङ पर्फर्मेन्स मात्र नभएको हो ।

जब हामीले नियमित रूपमा भारत, पाकिस्तान, वेस्टइण्डिज, जिम्बाब्बे जस्ता टिमसँग खेल्न थाल्छौं, हामीले सिक्दै जान्छौं । गेम हुनुपर्‍यो, १४०/१५० को गतिमा बल फाल्ने बलर होस्, ब्याट्सम्यान पनि राम्रो बललाई पनि बाउन्ड्री हान्ने होस् । किनकि बाबर, रोहित शर्मा वा सुभमन गिलहरूले नराम्रो बललाई त हान्छन् नै, राम्रो बलमा पनि हान्छन् ।

(राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य सोमपालसँग राजकुमार श्रेष्ठले गरेको कुराकानीमा आधारित)

एसिया कप क्रिकेट नेपाल क्रिकेट पाकिस्तान भारत सोमपाल कामी

धेरै कमेन्ट गरिएका

लेखक
सोमपाल कामी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय