+
+

वीर अस्पतालमा क्याथ ल्याबबाट मुटुरोगको उपचार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १३:१०

काठमाडौं । मुटु रोगको उपचारलाई थप सहज र प्रभावकारी बनाउन वीर अस्पतालमा क्याथ ल्याब सञ्चालित छ ।  यसअन्तर्गत कोरोनरी एन्जियोग्राफी, पेसमेकर राख्ने लगायत मुटुसम्बन्धी विभिन्न उपचार गरिने मुटुरोग विशेषज्ञ डा. समीर पौडेल बताउँछन् ।

‘एन्जियोग्राफीमा मुटुको नसा कतै ब्लक भएको छ कि भनेर हेरिन्छ,’ उनी भन्छन्, ‘हृदयघात भएर आएका बिरामीको नसाहरु ब्लक भएको छ कि हेर्ने र ब्लक भएको छ भने खोल्ने, मुटुको चाल गडबडी छ भने पेसमेकर राख्ने, मुटुमा पानी जमेर पम्प गर्न सकेको छैन भने मुटुको पानी निकाल्ने लगायत मुटुसम्बन्धी सेवाहरू वीर अस्पतालले दिइरहेको छ ।’

मुटुमा मुख्य दाहिने र देब्रे दुई नसा हुन्छन् । देब्रे नसा अरू दुई नसाहरुमा विभाजित हुन्छ । यी नसाहरु कतै साँघुरिए भने बिरामीलाई हिंड्दा अलि गाह्रो काम गर्दा छाती दुख्ने, छाती भारी हुने जस्तो समस्या हुने डा. पौडेल बताउँछन् । ‘यसरी साँघुरिएको नसालाई जाली राखेर फुकाएर उपचार गरिन्छ । धेरै नसा साँघुरिएको छ भने बाइपास शल्यक्रिया गरेर पनि उपचार गरिन्छ । उपचारपछि रगतको प्रवाह राम्ररी हुन्छ र छाती दुख्ने समस्या कम हुन्छ,’ उनी भन्छन् ।

६ महिनाअघिबाट सञ्चालनमा आएको क्याथ ल्याबबाट २०० जना बिरामीले सेवा लिइसकेका छन् ।

वीर अस्पतालको क्याथ ल्याबबाट उपलब्ध सेवामध्ये एन्जियो प्लाष्टी सेवा पनि एक हो । एन्जियो प्लाष्टी सेवा भन्नाले मुटुको धमनीहरूको ब्लक खोल्ने प्रक्रिया हो । वीर अस्पतालका अर्का मुटुरोग विशेष डा. विनायक गौतम भन्छन्, ‘यो उपचारमा पहिले मुटुको नसा जाँच गरिन्छ र साँघुरिएको भागलाई औंल्याइन्छ । त्यसपछि त्यो ठाउँलाई खोल्न तारलाई नसाभित्र छिराइन्छ र साँघुरिएको भागलाई बलुनको मध्यमबाट फुलाइन्छ । फुलिसकेपछि सम्बन्धित ठाउँलाई खोली राख्न जाली कोरोनरी स्टेन राखिन्छ ।’

यसको माध्यमबाट हृदयघात भएका बिरामीदेखि दीर्घकालीन मुटुको नसा ब्लक भएका बिरामीको उपचार गरिन्छ ।

वीर अस्पतालमा भइरहेको मुटुको उपचारमा ‘पेसमेकर’ (मुटुमा ब्याट्री राख्ने) रहेको डा. कुञ्जाङ शेर्पा बताउँछन् । ‘पेसमेकर राख्ने प्रक्रिया स्थायी र अस्थायी हुन्छ । अस्थायी कुनै इमरजेन्सीको बेला राखिन्छ । कुनै बिरामीको मुटुको धड्कन एकदमै कम भएको छ भने स्थायी ब्याट्री राखिन्छ,’ उनी भन्छन् ।

‘पटक-पटक मुटुको धड्कन कम भएर बिरामी बेहोस हुन्छन् भने उनीहरूलाई स्थायी पेसमेकर राख्नुपर्छ । बुढेसकालमा अनुहार चाउरी परे जस्तै, उमेर बढ्दै गएपछि मुटुको धड्कन दिने ठाउँहरू बिस्तारै सुक्दै जान्छ र धड्कन कम हुन्,’ डा. शेर्पा भन्छन्, ‘यस्तो अवस्थामा मुटुमा पेसमेकर राखिन्छ । पेसमेकर राखेपछि मुटुको धड्कन राम्ररी चल्छ । मुटुको उपचारमा सरकारले सहुलियतको पनि व्यवस्था गरेको छ, विपन्नको उपचारका लागि एक लाख सहुलियत दिने गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?