+
+

पार्किङ विवादमा विराटनगरमा जसपा नेतामाथि नगर प्रहरीको हातपात

हरि अधिकारी हरि अधिकारी
२०८० भदौ २८ गते १८:२२

२८ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाको नगर प्रहरीले जनता सामाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको छ ।

पार्किङको विषयमा विवाद भएपछि बुधबार बेलुका यादवलाई कुटपिट र लछारपछार गरेको हो । यादव विराटनगरको अस्पताल चोकस्थित स्नेहा फार्मेसीका सञ्चालक हुन् ।

उनको पसल अगाडि बुधबार नो पार्किङमा रोकेको सिटी सफारीमा ह्वील लक लगाइदिएको थियो । बेलुका करिब ४ बजे पसल पुगेका यादवलाई सफारी चालकले प्रहरीले लक लगाएको र खोल्न आग्रह गर्दा नमानेको गुनासो गरे ।

‘सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि मैले नजिकै रहेको नगर प्रहरीलाई के गरेको भाइ जरिवाना लिने भए लिएर छाडिदिहाल्नु नि किन दुःख दिएको भनेँ, त्यत्तिकैमा विवाद भयो’, यादवले भने ।

त्यस क्रममा नगर प्रहरीसँग धकेलाधकेल भएको यादवले बताए । ‘नगर प्रहरीले मलाई ठेलेपछि मैले पनि धकेलिदिए, त्यसपछि नगर प्रहरीको टोली आएर लछारपछार पार्दै पसलबाट निकालेर प्रहरी कार्यालय लग्यो’, यादवले भने ।

घटनापछि नगर प्रहरीको टोलीले स्नेहा फार्मेसीबाटै यादवलाई समातेर वडा प्रहरी कार्यालय पुर्‍याएको थियो । नगर प्रहरीले आफूलाई लछारपछार पार्दै लगेको यादवले बताए । उनलाई प्रहरीले लिएर गएलगत्तै मेयर नागेश कोइराला पनि वडा प्रहरी कार्यालयमा पुगेका थिए । ‘मेयरले गल्ती गरे केटाहरुले भनेपछि मैले सामान्य रुपमा लिएँ’, यादवले भने, ‘दोकानमा अभद्र व्यवहार भयो, यो व्यवहार त राम्रो भएन ।’

नगर प्रहरीलाई पालिकाले सुधार गर्नुपर्ने उनले बताए । ‘आज मसँग यस्तो व्यवहार भयो, भोलि अरुसँग गर्ला, नगरप्रहरीलाई सुधार गर्नुपर्‍यो’, यादवले भने, ‘नगर रक्षकको नाममा भक्षक हुन भएन ।’

नगर प्रहरी स्रोतले भने यादवले हातपात गरेपछि थप टोली गएर उनलाई ल्याएको बताएको छ । ‘त्यहाँ एउटा प्रहरी खटिएको हुन्छ, नगर प्रहरीले हातपात गर्ने कुरा आउदैन’, नगर प्रहरी स्रोतले भन्यो, ‘उहाँले हातपात गरेपछि मद्दत पुगेको थियो ।’

विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले नेता यादवसँगको विवाद मिलिसकेको बताए ।

‘घटनापछि वडा प्रहरी कार्यालयमा बसेर छलफलपछि सहमति भइसकेको विषय हो’, उनले भने, ‘कसैले भिडियो आउट गरिदिएका कारण बाहिर आयो, महानगर प्रमुख र उहाँ बसेर एक अर्कामा गल्ती स्वीकारेर सटडाउन गरिसकेको विषय हो ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?