
२८ भदौ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी चुडामणि उप्रेती ‘गोरे’ केन्द्रीय कारागारको गोलघरभित्र छन् ।
कारागारको मध्यभागमा रहेको गोलघरभित्र १० वटा कोठा छन् । त्यहीमध्ये एउटामा बस्दै आएका गोरे दिउँसो प्रायः बाहिर निस्किन्छन् । गोलघरभित्र रहेको आन्तरिक प्रशासनको अनुमतिमा बाहिर निस्किएर उनले कर्तव्य ज्यान मुद्दाका आरोपी रोजन राईसँग चेस खेल्ने गरेका छन् ।
कारागार स्रोतका अनुसार, गोलघरभित्र लकअप बाहिर खाली ठाउँ छ । त्यहाँ पीपलको रुखमुनि एउटा चेस बोर्ड र दुई वटा कुर्सी राखिएको छ ।
‘त्यहीँ गोरे र राईले चेस खेल्ने गरेका छन्, कहिलेकाहीँ कैदीबन्दीबाट चुनिने आन्तरिक प्रशासनका व्यक्तिहरु पनि त्यसमा जोडिन्छन्’, कारागारभित्र रहेका एक कैदीबन्दी भन्छन्, ‘गोलघरका मान्छे त्यहाँबाट बाहिर निस्किन पाउँदैनन्, तर १० वटा सेलमा भएका मान्छे गोलघरको बीचमा रहेको खाली ठाउँमा प्रशासनको अनुमति लिएर आउन सक्छन् ।’
पहिले कुख्यात विकिनी किलर चार्ल्स शोभराज पनि गोलघरमै राखिएका थिए । त्यसबेला गोरे शोभराजसँग चेस खेल्थे । स्रोतका अनुसार, शोभराज र गोरे दुबैको प्रायः मौन रहने शैली मिल्दोजुल्दो छ । ‘दुवै जना चुपचाप चेस खेलिरहेका हुन्थे’, स्रोतले भन्यो, ‘८ पुस २०७९ मा शोभराज छुटेपछि चाहिँ उनी रोजनसँग चेस खेल्दै आएका छन् ।’
कारागार प्रशासनका अनुसार, जेलबाट भाग्न सक्ने, झगडा गर्न सक्ने विश्लेषण गरिएका पेशेवर अपराधीहरुलाई गोलघरमा राखिन्छ । गोलघरमा राखिने व्यक्तिले बाहिरका कैदीबन्दीलाई पनि भेट्न नपाउने कारागारका जेलर ललित बस्नेत बताउँछन् ।
प्रशासनका अनुसार, कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका रोजन आक्रामक शैलीका छन् । गोलघर बाहिर रहँदा उनले अरु कैदीबन्दीलाई अनाहकमा कुट्ने, पिट्ने र झगडा गर्ने गरेका थिए । ‘बाहिर राख्दा अरुलाई नै जोखिम हुने भएपछि गोलघरमा राखेका थियौं’, स्रोतले भन्यो ।
शोभराज गएपछि भने उनी गोरेसँग चेस खेलेर दिन काट्दै आएका छन् । अहिले गोलघरमा उनीहरुबाहेक एक जना मानसिक रोगी र सागर केसी पनि छन् । केसीले तेस्रो लिङ्गी बनेर महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ । चोरी मुद्दाकी कुमारी तामाङ पनि गोलघरमा छिन् ।
को हुन् गोरे ?
गोरे, सुन तस्करीका नाइके मानिन्छन् । युएईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन गायब भएपछि गोरेकै समूहले यातना दिएर तीनजनाको ज्यान लिएको थियो ।
सुन तस्करी र हत्याको यो घटनाबारे अनुसन्धान गर्न गठित विशेष छानविन समितिले गोरेलाई ८ जेठ २०७५ मा काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो । उनीबाट अन्य कैदीबन्दीलाई पनि खतरा हुनसक्ने भन्दै कारागार प्रशासनले गोलघरमा राखेको थियो ।
उनलाई भेट्न बेलाबेला पूर्वप्रहरी समेत रहेका बुबा र श्रीमती केन्द्रीय कारागार गइराख्छन् ।
मोरङका गोरे ९ माघ २०७४ मा नेपाल भित्रिएको ३३ किलो तस्करीको सुन हराएपछि खोज्नलाई परिचालित थिए । लगानीकर्ताको साढे ३३ केजी सुन बराबरको रकम तिर्नु पर्ने कि सुन लुट्ने समूह पत्ता लगाउनुपर्ने दबावबीच उनले भरियाहरुलाई यातना दिएका थिए ।
त्यसक्रममा करेन्ट लगाएर मोरङमा आर्थिक कारोबारका व्यवस्थापक एवं भरिया सनम शाक्यको हत्या भएको थियो । उनले शव व्यवस्थापन गरिदिन तत्कालीन महानगरीय अपराध महाशाखाका प्रहरी समक्ष प्रस्ताव राखेका थिए ।
महाशाखाका अधिकारी गोरेलाई पक्राउ पर्ने दाबीसहित ‘कोभर्ट अपरेशन’का लागि धरान पुगेका थिए । तर प्रहरी त्यहाँ पुग्दासम्म गोरे भागिसकेका थिए । उनी कोलकाता, नयाँ दिल्ली लगायतका ठाउँमा लुकेर बसेका थिए । तर जुनसुकै बेला मारिन सक्ने डरले उनी फर्किएर नेपाल आएका थिए र ‘आत्मसमर्पण’ गरेका थिए ।
गोरेको नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस पनि जारी भएको थियो ।
प्रतिक्रिया 4