+
+

खड्काको फार्ममा हुर्किरहेको नयाँ जातको किवी फल

जीवन लामा जीवन लामा
२०८० भदौ ३० गते ११:३१

३० भदौ, काठमाडौं । स्वादिलो र उपयोगी फल किवीको नामै सुन्दा पनि जो-कोहीको मुख रसाउँछ । किवी फलले परिचित दोलखामा पछिल्लो समय नेपालकै पहिलो र नयाँ जातको किवी उत्पादन सुरु भएको यहाँका एक किसानले दावी गरेका छन् ।

भीमेश्वर-६ निवासी श्याम खड्काको किवी फार्ममा गोल्डेन, रेड र मिनी जातका किवी फल उत्पादन सुरु भएको हो । खड्काले पाँच रोपनी जग्गामा लामो समयदेखि व्यावसायिक किवी खेती गर्दै आएका छन् ।

नयाँ जातको किवी फरक स्वादको छ र असोज महिनाभित्रै पाक्छ । यसको बीउ उनले स्वीट्जरल्याण्ड र जापानबाट झिकाएर खेती सुरु गरेका हुन् । ‘यी नयाँ जातको किवी नेपालमा मेरो बाहेक अरूको फार्ममा छैनन्’, उनी दावी गर्छन् ।

खड्काको घरमा स्वीट्जरल्याण्डबाट नेपाल घुम्न आएका डा. क्रिश्चेन गेसी एक महिना जति बसेका थिए । पछि आˆनो देश फर्केपछि कोसेलीस्वरुप गेसीले मिनी जातको किवी पठाएको खड्का बताउँछन् ।

२०७३ सालमा उनले उक्त किवीका बीउ लगाएका थिए । उक्त बिरुवा नेपालमा पाइने अरू किवीभन्दा तीन महिना अगाडि नै फल्ने उनले बताए ।

खड्काको बगैंचामा अहिले गोल्डेन र मिनी जातको किवी डेढ सय किलो जति फल्न सुरु गरेको छ । थोरै फलेको भए तापनि स्वाद मीठो भएकाले धेरैले रुचाउने गरेका छन् ।

त्यस्तै, रेड र मिनी जातको किवी अरूभन्दा चाँडै पाक्ने भएकाले यस फलप्रति धेरैको रुचि बढ्न सक्ने खड्काको विश्वास छ । अहिले यसका दुई वटा मात्र बोट छन्, जसको संख्या बढाउने उनको योजना छ । जापानबाट झिकाइएको मिनी जातको किवी भने खान सजिलो र अरूभन्दा मीठो हुन्छ ।

गोल्डेन जातको किवीले पनि यस वर्षदेखि फल दिन सुरु गरेको छ । गोल्डेन पनि खानलाई स्वादिलो र मीठो किवीमा पर्छ । यो पनि अरू किवीभन्दा अगावै फल्ने गर्छ । गोल्डेन किवीका ४ वटा बोटले फल दिन सुरु गरेको छ ।

यस वर्ष १५० केजी भन्दा बढी फल्ने खड्काको अनुमान छ । यसको मूल्य अरू किवीभन्दा बढी पर्न आउँछ । जिल्लामै यसको माग बढेको र प्रतिकिलो ४०० रुपैयाँमा बेच्ने योजना भएको खड्का सुनाउँछन् ।

दोलखासँगै व्यावसायिक रूपमा अन्य जिल्लामा पनि किवी खेती सुरु भएको छ । केही वर्षअघि एशियाली विकास बैंकको अनुदानमा सञ्चालित हिमाली परियोजनाले दोलखाका धेरै किसानलाई अनुदान दिएर किवीको व्यावसायिक उत्पादनमा सघाएको थियो ।

दोलखामा किवी उत्पादन गर्ने १४४ फार्म तथा समूह सूचीकृत भएका छन् । उच्च भूभागमा फल्ने भएकोले किवी उत्पादनका लागि दोलखा अनुकूल भूगोल हो । दोलखामा २३५ हेक्टर क्षेत्रफल किवी जोनले ओगटेको भए पनि हाल ६५ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रमा पर्दछ । किवीको उत्पादकत्व भने ८.५ प्रति हेक्टर रहेको छ ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?