+
+

विदेशी मुद्रा सञ्चिति १५ खर्ब ७३ अर्ब पुग्यो, साढे १२ महिनाको आयात धान्न पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १८:१३

३१ भदौ, काठमाडौं । आयातमा कमी र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख स्रोत रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले बाह्य क्षेत्र सबल बन्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै विदेशी विनिमय सञ्चित करिब ३४ अर्बले बढेर १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी विनियम सञ्चिति २.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा लगातार कमजोर बन्दै गर्दा नेपाली रुपैयाँमा विदेशी मुद्राको सञ्चित बढ्दै गएपनि अमेरिकी डलरमा पनि सञ्चित बढ्दै गएको छ । साउनमा विदेशी विनियम सञ्चिति ११ अर्ब ८५ अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । असारमा ११ अर्ब ७१ करोड रहेकोमा १ महिनामा १.२ प्रतिशतले बढेको हो । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको दबाब बढ्दै गर्दा २०७८ पुसपछि विदेशी मुद्रामा कडाइ गरेको थियो । तर, पछिल्लो समय वैदेशिक भ्रमणमा जानेदेखि आयात गर्न एलसी खोल्दा पाउने सुविधा समेत ढाएको छ । तर, पनि विदेशी विनियम सञ्चिति भने बढ्दै गएको छ ।

आयातमा संकुचन कायम रहेको र विदेशि मुद्रा सञ्चिति बढ्दै जाँदा सञ्चिति पर्याप्तता सूचकमा पनि उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

२०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत, कुल आयातसँगको अनुपात ८५.७ प्रतिशत, विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु २६.३ प्रतिशत रहेको छ ।

२०८० असार मसान्तमा कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २८.६ प्रतिशत, कुल आयातसँगको अनुपात ८३ प्रतिशत, विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु २५.१ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?