
१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २७० पालिकामा भेला सकेको छ । ६ प्रदेशको प्रशिक्षण सकेको रास्वपाले पछिल्लो दिनमा पालिका भेलालाई प्राथमिकता दिएको छ ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संगठन विस्तारक्रममा हालसम २७० पालिकामा भेला सकिएको छ । भदौको अन्तिम साता सभापति रवि लामिछाने, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदद्वय डा. स्वर्णिम वाग्ले, डा.तोसिमा कार्की लगायत गोरखा र तनहुँमा पालिका भेलामा सहभागी भए ।
असोज ६ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भेला गर्न लागिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार पार्टीको संगठन विस्तार सबै जिल्लामा भएको छ ।
अन्य प्रदेशको तुलनामा कर्णालीमा पार्टीको गतिविधि कम रहेको रास्वपाले स्वीकारेको छ । अन्य ६ प्रदेशमा प्रशिक्षण सकिए पनि कर्णालीको हुन सकेको छैन । ‘अरु ६ प्रदेशमा प्रशिक्षण सक्यौं । कर्णालीको दशैं–तिहारकोबीच तिर हुन्छ होला,’ सहमहामन्त्री बुर्लाकोटीले भने ।
विभागले पूर्णता पाउन सकेनन्
रास्वपाले विभागका प्रमुख तोके पनि पूर्णता भने पाउन सकेका छैनन् । ३६ वटा विभाग बनाइएको छ । ती मध्ये केहीमा सदस्य यसै साता थपिने सहमहामन्त्री बुर्लाकोटी बताउँछन् । ‘सबैै विभागले पूर्णता पाउने नै त होइन । केही सदस्य थपिन्छन्,’ सहमहामन्त्री बुर्लाकोटीले भने, ‘संगठन निर्माणका क्रममा धेरै व्यक्ति जोडिन बाँकी रहेकाले पूर्णता पाउनलाई समय लाग्छ ।’
केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता रास्वपाले तोकेको छ ।
प्रत्येक विभागमा प्रमुख सहित ११ जना हुने व्यवस्था छ । ३६ वटा विभागको प्रमुखमा केन्द्रीय सदस्य वा सांसदलाई मनोनित गरिएको छ ।
दस्तावेजको मस्यौदा असोज मसान्तसम्म
पार्टी गठन भएको एक वर्षमा पार्टीको दस्तावेज सार्वजनिक गर्न भनिए पनि हालसम्म बाहिर ल्याइएको छैन । महामन्त्री मुकुल ढकालको नेतृत्वको समितिले प्रस्तुत गरेको ‘नयाँ युगको संकल्प’ विवादमा परेपछि संशोधनका गर्ने निर्णय लिइएको थियो ।
दस्तावेज निर्माणका लागि १७ जनाको टोली बनाइएको छ । उक्त टोलीले ५१ जिल्ला पुगेर नागरिकका राय लिने भएको छ । नागरिक तहबाट आएका रायलाई समेत समेटेर दस्तावेज तयार हुने सहमहामन्त्री बुर्लाकोटी बताउँछन् ।
३ असोजदेखि मस्यौदा समितिका टोलीहरु फरक फरक स्थानमा पुग्न सुरु हुने बुर्लाकोटीले जानकारी दिए । असोज मसान्तसम्म पहिलो मस्यौदा आउन सक्ने बुर्लाकोटीले विश्वास व्यक्त गरे ।
केन्द्रीय सदस्य तत्काल नथपिने
साउन महिनामा केन्द्रीय सदस्य थप्ने चर्चा रास्वपामा चलेको थियो । समावेशिताको आधारमा सांसदहरु समेत केन्द्रीय समिति थप्ने गरि पार्टीमा कुरा चलिसकेको थियो । तर, हालसम्म केन्द्रीय सदस्य थपिएको छैन । सहमहामन्त्री बुर्लाकोटीका अनुसार केन्द्रीय सदस्य थप्ने गरि पार्टीभित्र गृहकार्य भएको छैन । ‘केन्द्रीय सदस्य थप्ने कुरा अहिले बहसमा छैन । थप गृहकार्य भएको छैन । अहिलेको गृहकार्य विभागका सदस्य थप्नेमा छ,’ बुर्लाकोटीले भने ।
१२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३९ जना छन् । २१ जना सांसदमा ६ जना मात्रै केन्द्रीय समितिमा छन् । डा. स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, हरि ढकाल लगायतका सांसद केन्द्रीय सदस्य बनेका छैनन् ।
प्रतिक्रिया 4