 
																			१ असोज, पोखरा । सन् १९९८ मा पोखरामा खुलेको फूलबारी रिसोर्ट दक्षिण एसियाकै नमूना मानिएको थियो । त्यहाँको क्यासिनोमा विश्वका विभिन्न देशका पर्यटक जुवा खेल्न आउँथे ।
अर्को पाँचतारे होटल ग्राण्डमा २०६५ सालदेखि भ्याली लिंक प्रालिले सञ्चालन गरेको क्यासिनो पनि नेपालकै अग्रणी मानिएको थियो । तर सरकारले तोकेको रोयल्टी तिर्न नसकेको कारण देखाएर २०७० सालमै बन्द भयो । त्यसयताका १० वर्ष क्यासिनोविहीन भएको पोखरामा २९ भदौदेखि पुनः क्यासिनो सञ्चालनमा आएको छ ।
लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा क्यासिनो ताज सञ्चालनमा आएको पर्यटन विभागका प्रवक्ता तथा आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीबहादुर भट्टराईले जानकारी दिए । पाँच तारे होटलमा फुल क्यासिनो र ४ तारे होटलमा मिनि क्यासिनो चलाउन पाउने सरकारी नीति रहेको र पोखरामा अनुमति पाएको मिनी क्यासिनो भएको उनले बताए ।
सन् २००९ देखि सञ्चालनमा आएको रिसोर्टमा क्यासिनो सञ्चालनको अनुमति पाएपछि २९ भदौमा सफ्ट ओपनिङ गरिएको थियो । आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट खेलाइने ‘मिनी क्यासिनो’ मा २१ करोड रूपैयाँ लगानी भएको र केही दिनमै औपचारिक उद्घाटन गर्ने तयारी रहेको सञ्चालकको भनाइ छ ।
स्वीस इन्टरनेसनलले पाएन अनुमति
स्वीस इन्टरनेसनलले होटेल सरोबरमा क्यासिनो सञ्चालन गर्न पर्यटन विभागसँग अनुमति मागेको थियो । २०७६ साल जेठमा सञ्चालनमा आएको होटलको पार्किङ रहेको ठाउँमा क्यासिनो सञ्चालन गर्न भौतिक पूर्वाधार निर्माणसमेत सुरु भइसकेको थियो ।
महानगरले तोकको मापदण्ड विपरीत निर्माण भएको भन्दै आलोचना खेपेको होटलले पार्किङका लागि अनुमति लिएर क्यासिनो चलाउन खोजेपछि विभागले अनुमति दिन अस्वीकार गरेको हो ।
‘उहाँहरुले क्यासिनो चलाउन निवेदन दिनुभएको थियो । हामीले गएर गर्दा पार्किङका लागि अनुमति लिँदै महानगरबाट नक्सापास गराएर क्यासिनो चलाउन लागेको जानकारी पायौं’, त्योबला पर्यटन विभागको होटेल शाखामा कार्यरत अधिकृत उमेश दाहालले भने, ‘एउटा प्रयोजन खुलाएर अर्को व्यवसाय सञ्चालन गर्न नम्लिने भएकाले अनुमति नदिएको हो ।’
अन्य २ क्यासिनो सञ्चालनको प्रक्रियामा
पोखरामा अरु २ वटा क्यासिनो सञ्चालनका लागि तयारी भइरहेको छ । पोखरा–६ मा रहेको हेरिटेज होटेल स्वीट्स एन्ड स्पामा भेन्टेन इन्टरटेनमेन्टले क्यासिनो सञ्चालन गर्ने चर्चा यसअघि नै चर्चामा थियो ।
पोखरामा क्यासिनो सञ्चालन गर्ने गरी गत साल नै कम्पनी दर्ता गरेको भए पनि क्यासिनो सञ्चालनको प्रक्रियामै रहेको र स्वीकृती भने लिइसकेका छैनन् ।
यसैगरी पोखरा हल्लनचोकको हल होराइजन मलमा पनि क्यासिनो सञ्चालनको लागि तयारी भइरहेको छ । हल्लनचोकमा रोम रिजेन्सी होटल एन्ड क्यासिनो सञ्चालनमा आउन लागेको हो । कम्पनीले मल भाडामा लिएर अहिले बोर्डसमेत टाँगिसकेको छ ।
‘क्यासिनो पनि धनाड्य देशका मान्छे आएर खर्च गर्ने ठाउँ हो । सरकारी नीतिका कारण खुल्ने बन्द हुने भइरहेका छन्’, भट्टराईले भने, ‘भारतीय र चाइनिजहरु पोखरा आउन सक्छन् । क्यासिनोहरु खुल्नु पोखरेलीका निम्ति सुखद् हो । अझै निम्चित मापदण्ड राखेर नेपालीका निम्ति पनि खुला गर्ने हो भने अझै फाइदाजनक हुने छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4