+
+

नमुना बस्ती : विपन्न परिवार नै नबसी भत्किन थाले घर

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० असोज २ गते १२:३२

२ असोज, दाङ । विपन्न परिवारलाई नमूना बस्ती निर्माण गर्न भन्दै आर्थिक वर्ष ०७५ सालमा दाङको बंगलाचुली गाउँपालिकाका पाँच स्थानमा ३० वटा भूकम्प प्रतिरोधी प्रिफ्याव घरहरू निर्माण गरिए ।

संघीय सरकारको दुई करोड र बंगलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोड रुपैयाँको लागतमा घरहरु तयार भए । तर विपन्न परिवारको आवासका लागि भनेर निर्माण गरिएको नमुना बस्तीमा भने उनीहरु नै बस्न मानेनन् ।

केही घर बाहेक अधिकांश घरहरु खाली छोडिए । विपन्न परिवार नै बस्न नमानेपछि पाँच वर्षदेखि खाली रहेका नमुना बस्तीका अधिकांश घरहरू अहिले जीर्ण बनेका छन् । लामो समय प्रयोगविहीन भएका घर संरक्षण नपाउँदा भत्किन थालेका छन् ।

गाउँपालिकाको वडा नं. ५ अन्तर्गत मुर्कुटी र कमिरेचौरमा गरी गरेर गरिव तथा विपन्न परिवारका लागि १२ वटा घर बनाइएको थियो । दुई ठाउँमा गरी निर्माण भएका १२ घरमध्ये ६ वटामा मात्र परिवार बसे ।

बाँकी ६ वटा घरमा कोही बस्न मानेनन् । त्यसपछि खाली रहेका घरका भित्ताहरु चर्कनका साथै झ्याल र ढोका जीर्ण अवस्थामा छन् ।

त्यस्तै गाउँपालिकाको वडा नं. ८ हाँसीपुरमा बनाइएका घरहरु झनै जीर्ण छन् । त्यहाँ निर्माण भएका ६ वटा घरहरुमा अहिले झ्याल ढोका नै छैनन् ।

दुईवटा घरहरु भत्किएका छन् भने अन्य घरका झ्याल ढोका फुटाइएका छन् । विपन्नलाई बनाइएका नमुना बस्तीमा उनीहरु नै बस्न नमानेपछि घरहरु भत्किने अवस्थामा पुगेको वडा नं. ८ वडाध्यक्ष झविन्द्र गाहामगर बताउँछन् ।

‘जसका लागि घर बनाइए उनीहरु नै बस्न नमानेपछि घरहरु प्रयोग विहीन भए’ उनले भने, ‘लामो समयसम्म खाली छोडिएपछि घरले संरक्षण पाएनन्, त्यही कारण क्रमशः भत्किदै जान थाले ।’

उनले खाली रहेका अधिकांश घरका भ्याल र ढोका नभएको बताए । केही भने भत्किने अवस्थामा पुगेको उनले सुनाए । जीर्ण बनेका ती घरहरुले छिट्टै संरक्षण नपाए छिट्टै भत्किने उनी बताउँछन् ।

विपन्न नै बसेनन्

गाउँपालिकामा विभिन्न ठाउँमा गरी निर्माण भएका ३० वटा घरमध्ये अहिले ११ वटा घरहरूमा मात्रै परिवारहरु बस्ने गरेका छन् । बाँकी १९ वटा घर खाली छन् । ती घरमा विपन्न परिवार नै बस्न तयार नभएपछि खाली छन् ।

वडाध्यक्ष गाहा मगरले विपन्न परिवारको पहिचान नगरी घर बनाउँदा यस्तो अवस्था आएको बताउँछन् ।

‘पहिलो कुरा त विपन्न परिवार कति छन् भन्ने पहिचान नै गरिएन’ उनले भने, ‘दोस्रो कस्तो ठाउँमा घर बनाउने भन्ने कुरा नै ध्यान दिइएन ।’

उनका अनुसार निर्माण गरिएका घरहरु वस्ती भन्दा धेरै टाढा भएको र उपयुक्त भुगोलमा नहुँदा विपन्न परिवारहरु बस्न नमानेका हुन् ।

‘मानव बस्तीदेखि टाढा जंगलमा नजिकै घरहरु निर्माण गरिएका छन्, उनले भने, ‘बस्नलाई भुगोल उपयुक्त नहुँदा धेरै घरहरु खाली छोडिए ।’

गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी भने नमुना बस्ती योजना अन्तर्गतका घरहरु सरकारबाट निर्माण भए पनि स्थानीयले संरक्षण नगर्दा भत्किने अवस्थामा पुगेको बताउँछन् ।

‘राज्यले लगानी गरेर निर्माण गरेका घरहरु संरक्षण गर्ने दायित्व नागरिकको पनि हो’ उनले भने, ‘तर सरकार र नागरिक दाहित्यवबाट पन्छिँदा घरहरु संरक्षण पाएनन् र केही घरहरु जीर्ण अवस्थामा छन् ।’

गाउँपालिकाका वडा नं. ५ मा १२ वटा, वडा नं. २, ६ र ८ मा ६–६ वटा घरहरू निर्माण गरिएका थिए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?