+
+
एक्सप्लेनर :

के हो ‘नेप्से ३० इन्डेक्स’ ?

नेप्से– ३० इन्डेक्स ‘निफ्टी– ५०’ वा ‘एस एन्ड पी ५००’ जस्तै इन्डेक्स हो, जसले उत्कृष्ट ३० कम्पनीका सेयर घटबढ हेर्ने मात्रै होइन, भविष्यमा यही इन्डेक्सकै कारोबार पनि गर्न सकिनेछ ।

विजय पराजुली विजय पराजुली
२०८० असोज २ गते १७:१२

२ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बजार विकासको नयाँ पाइलका रुपमा ‘नेप्से ३० इन्डेक्स’ ल्याउन लागेको बताएपछि यसप्रति लगानीकर्ताहरूमा चासो बढेको छ ।

तत्कालका लागि यस्तो इन्डेक्स उत्कृष्ट ३० कम्पनीको कारोबारका आधारमा नेप्से इन्डेक्सजस्तै गणना मात्रै गर्ने र भविष्यमा कुनै कम्पनीको धितोपत्र किनबेच गरेजस्तै ‘नेप्से ३०’ कै कारोबार पनि गर्न मिल्ने औजारको रुपमा नै यसलाई विकास गर्ने योजना नेपाल स्टक एक्सचेञ्जको छ । विश्वको धेरै धितोपत्र बजारमा सूचीकृत कम्पनीका इक्विटी मात्रै नभएर यस्ता इन्डेक्स फण्डकै कारोबार गर्न सकिन्छ ।

अहिलेलाई भने कारोबार गर्ने औजारको रुपमा नभई बजारको घटबढ हेर्ने एउटा सूचकको रुपमा मात्रै यसको विकास गर्न लागिएको नेप्सेले जनाएको छ ।

धितोपत्रको इन्डेक्स के हो ?

विश्वमा इन्डेक्सको गणना मूल्यको भारको आधारमा र अर्को बजार पूँजीकरण भारको आधारमा हुँदै आएको छ । मूल्यभारको आधार गणना हुने इन्डेक्स सूचीकृत कम्पनीहरूको मूल्य तलमाथि हुँदा त्यसका आधारमा परिवर्तन हुन्छ । यस्तै, बजार पूँजीकरण भारको आधारमा गणना हुने इन्डेक्स सूचीकृत कम्पनीहरूको बजार पूँजीकरण तलमाथि हुँदा घटबढ हुने गर्छ ।

नेप्से बजार पूँजीकरण भारको आधारमा गणना हुने इन्डेक्स हो । नेप्सेले ल्याउन लागेको ‘नेप्से ३० इन्डेक्स’ पनि सोही आधारमा गणना हुने इन्डेक्स हो । नेप्सेले सूचीकृत कम्पनीमध्ये सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी उत्कृष्ट ३० वटा कम्पनी छनोट गरेर त्यसको आधारमा धितोपत्र बजारमा मुभमेन्ट मापन गर्नेगरी ‘नेप्से ३०’ सुरु गर्न लागेको हो । यो गणना गर्दा दोस्रो बजारमा कारोबारयोग्य सेयरको कुल बजार पूँजीकरणको आधारमा गणना हुने गर्दछ । यसमा नेप्सेले तोकेको मापदण्ड पुगेका कम्पनीहरू मात्रै छनोट हुने भएकाले उक्त इन्डेक्स पनि विश्वसनीय हुने नेप्सेको अधिकारीहरूको दाबी छ ।

आगामी दिनमा यसलाई इन्डेक्स फण्डको रुपमा पनि कारोबार गर्न सकिन्छ । अहिले नेप्सेमा सूचीकृत भएका कम्पनीको मात्रै कारोबार हुने गर्दछ । इन्डेक्स फन्डको कारोबार हुने भनेको ‘नेप्से– ३०’ कै कारोबार गर्ने हो । सेयर मूल्यमा तलमाथि हुँदा लगानीकर्ताले नाफा–घाटा भएजस्तै ‘नेप्से ३० इन्डेक्स’ मा घटबढ हुँदा पनि लगानीकर्तालाई नाफा वा घाटा हुन सक्छ । ‘निफ्टी ५०’, ‘एस एण्ड पी ५००’ जस्ता इन्डेक्स फण्ड हुन् ।

नेप्से इन्डेक्स र नेप्से ३० बीच के फरक छ ?

नेप्सेमा सूचीकृत संस्थापक र साधारण दुवै सेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यको आधारमा ‘नेप्से परिसूचक’ गणना गरिन्छ । सार्वजनिक निस्कासन भएका सबै कम्पनीको बजार पूँजीकरणका हिसाबमा नेप्से परिसूचक गणना हुन्छ । तर, ती सबै सेयर कारोबारयोग्य हुँदैनन् अर्थात् सूचीकृत भएका निश्चित सेयरको मात्रै कारोबार हुन्छ । त्यसैले नेप्सेमा यथार्थ बजार कारोबारको अवस्था झल्काउने अर्को सबइन्डेक्स पनि देखिन्छ, त्यो हो ‘फ्लोट इन्डेक्स’ । ३० भदौ २०६५ देखि सुरु गरिएको यो इन्डेक्समा कारोबारयोग्य सेयरको आधार मूल्य र वर्तमान बजार मूल्यको आधारमा परिसूचक गणना गरिन्छ । ‘फ्लोट इन्डेक्स’लाई यथार्थपरक मानिन्छ ।

नेप्सेले १७ पुस २०६३ देखि ‘सेन्सेटिभ इन्डेक्स’ पनि गणना गर्दै आएको छ । ‘सेन्सेटिभ इन्डेक्स’ मा चुक्ता पूँजी कम्तीमा २ करोड रहेको, सेयरधनी संख्या कम्तीमा १००० जना रहेको, कम्तीमा तीन वर्षदेखि लगातार नाफामा रहेको कम्पनीहरु समावेश हुँदै आएका छन् । यस्तै, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आव समाप्त भएको ६ महिनाभित्र उक्त आवको आय व्यय विवरण पेश गरेका कम्पनीलाई सेन्सेटिभ समूहमा राखिन्छ । नेप्सेले ३० भदौ २०६५ देखि ‘सेन्सेटिभ इन्डेक्स’मा समावेश भएका कम्पनीहरूको कारोबारयोग्य सेयरको आधार मूल्य र वर्तमान बजार मूल्यको आधारमा ‘सेन्सेटिभ फ्लोट इन्डेक्स’ गणना गर्दै आएको छ ।

कसरी बनाइन्छ नेप्से ३० इन्डेक्स ?

नेप्सेले ‘सेन्सेटिभ इन्डेक्स’ र ‘सेन्सेटिभ फ्लोट इन्डेक्स’ ल्याएको १५ वर्षपछि ‘नेप्से ३० इन्डेक्स’ ल्याउन लागेको हो । नेप्सेले डेरिभेटिभ औजारको रुपमा समेत कारोबार गर्न सक्ने गरी ‘नेप्से ३० इन्डेक्स’ ल्याउन लागेको हो । नेपाल स्टक एक्सजेञ्जको सञ्चालक समितिले २५ भदौमा ‘नेप्से–३० इन्डेक्स’को कार्यविधि स्वीकृत गरिसकेको छ । असोजभित्रै ‘नेप्से ३० इन्डेक्स’ लाइभ गर्नेगरी तयारी भइरहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

‘नेप्से– ३० इन्डेक्स’ नेप्सेका उत्कृष्ट ३० वटा कम्पनीहरू मात्रै समवेश हुनेछन् । त्यसमा पर्ने कम्पनी छनोटका लागि ६ वटा मापदण्ड तोकिएको छ । त्यही मापदण्डबाट छनोट भएको ३० वटा कम्पनीको फ्रि–फ्लोट सेयरको हालको बजार पूँजीकरणलाई तिनै कम्पनीहरूको फ्रि–फ्लोट सेयरको आधार बजार पूँजीकरणले भाग गरेर १०० ले गुणन गरी इन्डेक्स गणना गर्ने व्यवस्था गरेको छ । सूचकका लागि आधार बजार पूँजीकरणका रुपमा ३० पुस २०७९ को फ्रि–फ्लोट बजार पूँजीकरणलाई प्रयोग गरिने कार्यविधिमा उल्लेख छ । यस्तै, उक्त इन्डेक्सलाई प्रत्येक वर्षको भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रबार पुनर्समायोजन गरी कम्पनी थप–घट गरिने नेप्सेले जनाएको छ ।

नेप्सेले तत्काललाई बजार मुभमेन्ट हेर्नेगरी मात्रै उक्त इन्डेक्स ल्याउन लागेको जनाएको छ । तर, भविष्यमा डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन र एक्सचेञ्ज ट्रेड फण्ड सञ्चालन गर्न सहयोग पुग्नेगरी ‘नेप्से ३० इन्डेक्स’ आउनेछ ।

नेप्से ३० कै आधारमा आधारमा प्यासिभ किसिमको सामूहिक लगानी योजना सञ्चालन गर्न पनि सकिने नेप्सेका अधिकारीहरूको दाबी छ । अहिले सामूहिक लगानी योजनाले लगानी गर्दा आफ्नै किसिमले अध्ययन गर्नुपर्छ । तर, भोलिका दिनमा नेप्से ३० सञ्चालनमा आउँदा त्यसको आधारमा छुट्टै म्युचुअल फण्ड पनि सञ्चालन गर्न सकिने नेप्सेले जनाएको छ ।

भोलिका दिनमा डेरिभेटिभ मार्केट सञ्चालन गर्दा अप्सन मार्केट तथा इन्डेक्स फ्युचरको रुपमा त्यसलाई पनि कारोबार गर्न सकिने नेप्सेका अधिकारीहरू बताउँछन् ।

‘नेप्से ३० इन्डेक्स’ को कम्पनीहरू कसरी छनोट हुन्छ ?

नेप्से ३० इन्डेक्सका लागि कम्पनी छनोट गर्न ६ वटा मापदण्ड तोकिएको छ । ती मापदण्ड पूरा भएको कम्पनी मात्रै नेप्से ३० इन्डेक्समा छनोट हुने व्यवस्था कार्यविधिमा छ ।

  • प्रति सेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी भएको । विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा तीन वर्ष कम्पनी खुद नाफामा रहेको हुनुपर्ने
  • अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत र सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको हुनुपर्ने
  • कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनपर्ने
  • सेयरधनीको संख्या कम्तीमा २०,००० रहेको हुनुपर्ने
  • पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५००० कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको हुनुपर्ने ।
  • पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा सेयर कारोबार भएको हुनपर्ने

नेप्सेले तोकेका ६ वटा मापदण्डहरूको प्रयोग गर्दा ३० भन्दा धेरै कम्पनी छनोट भएमा तिनको श्रेणी निर्धारण गरेर ‘उत्कृष्ट ३०’ चयन हुनेछ ।

प्रारम्भिक रुपमा कम्पनी छनोट गर्दा सूचीकृत संगठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत्, उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ ओटा क्षेत्रगत समूहमा वर्गीकरण गरिनेछ ।

यसरी ६ वटा समूहमा विभाजन गरेर कम्पनी छनोट गर्दा हरेक समुहबाट न्युनतम ८ वटा कम्पनी छनोट गर्नुपर्ने र कुनै समूहमा आठ संगठित संस्थाभन्दा कम छनोट भएमा उपलब्ध सबै संगठित संस्था छनोट हुनेछ ।

यसरी छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा बढी भएमा नेप्सेले तोकेका ६ वटा मापदण्डका आधारमा कमजोर रहेका कम्पनीहरूलाई हटाई ३० कम्पनी कायम गर्ने गर्नुपर्ने छ । तर, यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम हुनेगरी मात्रै कम्पनी हटाउन सकिने नेप्सेले जनाएको छ ।

नेप्सेले गरेको परीक्षणका क्रममा बैंक तथा वित्तीय संस्था ८ वटा, जलविद्युत समूहका ५ वटा, बीमा समूहका ५ वटा, उत्पादन तथा प्रशोधन समुहका २ वटा, व्यापार तथा सेवा क्षेत्रका ३ वटा र ७ वटा लघुवित्त कम्पनी छनोट भएका छन् ।

कार्यविधिमा इन्डेक्स सञ्चालक तथा व्यवस्थापन समिति पनि रहने उल्लेख छ । नेप्सेका एकजना सञ्चालकको नेतृत्वमा सम्बन्धित विभागमा कार्यरत कर्मचारी रहने समिति गठन हुने र आवश्यकताअनुसार सम्बन्धी क्षेत्रका आमन्त्रित सदस्य बोलाउन सकिने व्यवस्था कार्यविधिमा छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?