+
+
सन्दर्भ : संविधान दिवस :

छोरीहरूलाई निःशुल्क प्राविधिक शिक्षा पढाइरहेको कलेज

२०७२ सालमा मुलुकमा नयाँ संविधान जारी भएपछि स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्दै केही उदाहरणीय काम गरेका छन् । जस्तो कि, तुलसीपुर उपमहानगरपालिकाले आफैं प्राविधिक शिक्षालय सञ्चालन गरेर छोरीहरुलाई निःशुल्क पढाइरहेको छ ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० असोज ३ गते १२:४५

३ असोज, दाङ । तुलसीपुरकी पूजा पुरी सानैदेखि इञ्जिनियरिङ विषय पढ्न चाहन्थिन् । तर प्राविधिक विषय खर्चिलो भएकाले अभिभावकले पढाउन सक्ने स्थिति थिएन । तर प्राविधिक विषय पढ्ने उनको त्यो सपना तुलसीपुरको मेट्रो कलेजले पूरा गरिदियो ।

तुलसीपुरको सामुदायिक विद्यालयबाट एसईई दिएकी उनी अहिले मेट्रो कलेजमा निःशुल्क मेकानिकल इञ्जिनियरिङ पढिरहेकी छन् ।

पूजाजस्तै प्राविधिक विषय पढ्ने रहर तुलसीपुरकी ललिता रेग्मीलाई पनि थियो । कृषि विषय पढेर केही गर्न चाहन्थिन् उनी । तर परिवारिक स्थितिले साथ नदिंदा पढ्न पाउँदैन कि भन्ने चिन्ता थियो उनमा । तर सामुदायिक विद्यालयबाट एसईई पास गरेपछि उनलाई पनि मेट्रो कलेजले निःशुल्क पढाइदियो । अहिले उनी कृषि विज्ञान तर्फ दोस्रो वर्षमा अध्ययनरत छिन् ।

छोरी पढाइरहेको उपमहानगर

तुलसीपुर उपमहानगरले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा वडा नम्बर १२ को हरिपौरामा अवस्थित छ । पूजा र ललिता जस्तै अरु छोरीहरुले पनि प्राविधिक विषय पढ्ने सपना पूरा गर्दैछन् ।

उपमहानगरले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसईई पास गरेका सबै छात्राहरुलाई निःशुल्क प्राविधिक विषय पढाउँदै आएको शिक्षालयका प्रमुख बसन्त आचार्य बताउँछन् । ‘प्राविधिक शिक्षामा छोरीहरुको पहुँच बढाउन तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयबाट एसईई पास भएका छात्राहरुलाई निःशुल्क पढाइरहेका छौं,’ कलेज प्रमुख आचार्य भन्छन्, ‘दुई लाख खर्च लाग्ने विषयहरु उनीहरुले यहाँ निःशुल्क पढ्न पाउँछन् । यसमा कुनै सिट संख्या पनि तोकेका छैनौं ।’

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को साझेदारीमा तुलसीपुर मेट्रो कलेजमा विभिन्न प्राविधिक विषयहरु पढाइ हुन्छन् । डिप्लोमा तहमा वन विज्ञान, बाली विज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, मेकानिकल इन्जिनियरिङ र इलेक्टि्रकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढाइ हुन्छ भने प्रि-डिप्लोमा तहमा इलेक्टि्रकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषय पढाइ हुन्छ ।

तुलसीपुर उपमहानगरभित्रका छोरीहरु बाहेक अन्यलाई डिप्लोमा तहका प्राविधिक विषय अन्यत्रभन्दा कम शुल्कमा र प्रि-डिप्लोमा तहका विषय निःशुल्क पढाइरहेको कलेजले जनाएको छ ।

‘आर्थिक अवस्था कमजोर भएकाले शिक्षामा लगानी गर्न नसक्ने अधिकांश अभिभावकका छोरीहरुले यहाँ निःशुल्क पढ्न पाएका छन्,’ आचार्य भन्छन्, ‘शिक्षालाई निःशुल्क गरेपछि प्राविधिक विषयमा छोरीहरुको आकर्षण पनि बढेको छ ।’

उनका अनुसार यो कलेजमा करिब ८०० जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये निःशुल्क पढिरहेका छात्राहरुको संख्या ३०० छ । उनीहरुको पढाइमा सहज होस् भनेर छात्रावास समेत निर्माण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले छोरी पढाउने संस्कृति विकास गर्न पनि निःशुल्क अध्यापन गराउँदै आएको बताए । ‘छोरीको शिक्षामा खर्च गर्न नसक्ने वा नचाहने परिवार अझै पनि छ,’ उनले भने, ‘छोरीहरुलाई पढ्ने कुराबाट बञ्चित नगराउन र छोरी पढाउने संस्कृति विकास गर्न निःशुल्क पढाइरहेका छौं ।’ उनले उपमहानगरले आफ्नो क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्न छोरीहरुमा लगानी गरिरहेको उनले सुनाए ।

तुलसीपुर उपमहानगरले कलेजका लागि हरेक वर्ष ५० लाख रुपैयाँ बजेट छुट्याउने गरेको मेयर खड्काले जानकारी दिए । त्यसबाहेक कलेजमा संघ र प्रदेश सरकारले समेत सहयोग गरेका छन् । प्रदेश सरकारको सहयोगमा ९ करोडको लागतमा हालै कलेजको भवन निर्माण सम्पन्न भइसकेको छ भने स्थानीय सरकारले ५ करोडको लागतमा छात्राबास निर्माण गरिदिएको छ । हालसम्म विभिन्न तहका सरकारले गरेर कलेजमा २० करोड रुपैयाँ लगानी गरिसकेको मेयर खड्काले बताए ।

०७६ सालमा तत्कालीन मेयर घनश्याम पाण्डेको पालामा तुलसीपुर उपमहानगरपालिकाबाट सञ्चालित यो कलेजलाई संघ र प्रदेश सरकारले समेत सहयोग गरेका छन् । कलेजले प्रदेश सरकारको सहयोगमा ९ करोडको लागतमा आफ्नै भवन बनाएको छ ।

कम शुल्कमा प्रविधिक शिक्षा

तुलसीपुरको मेट्रो कलेजले छोरीहरुलाई निःशुल्क शिक्षामात्र दिएको छैन, अरुलाई पनि कम शुल्कमा प्राविधिक शिक्षाहरु दिइरहेको उपमहानगरपालिकाका मेयर एवम् कलेज सन्चालक समितिका अध्यक्ष खड्का बताउँछन् । उनका अनुसार प्राविधिक विषयको तीन वर्षे डिप्लोमाका लागि १ लाख रुपैयाँ शुल्क लिने गरिएको छ । यो शुल्क अन्यत्रको भन्दा सस्तो भएको दाबी उनको छ ।

त्यस्तै प्रि-डिप्लोमा तहका इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयहरु भने कलेजले सबै विद्यार्थीहरुलाई निःशुल्क पढाउँदै आएको छ ।

परियोजनामार्फत सञ्चालन भएका यी कार्यक्रम अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३ हजार, पोसाक र बिमा सुविधासमेत कलेजले उपलब्ध गराउँदै आएको कलेज प्रमुख वसन्त आचार्यले बताए । ‘अति विपन्न वर्गका छात्रहरु, जोसँग पढ्नलाई समेत पैसा छैन, उनीहरुलाई निःशुल्क पढाउँदै आएका छौं,’ कलेज प्रमुख आचार्यले भने । निःशुल्क अध्यापनका लागि इलेक्टि्रकल इन्जिनियरिङमा ३०, मेकानिकल इन्जिनियरिङ २० र सूचना प्रविधि विषयमा ७० जनाको कोटा रहेको उनले बताए ।

प्राविधिक विषयसँगै कलेजमा २०७७ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको साझेदारीमा बीए एलएलबीको पनि अध्यापन भइरहेका छ । उक्त विषय पनि कम शुल्कमा पढाइरहेको कलेज प्रमुख आचार्यले दाबी गरे । कलेजले बीए एलएलबीको पाँच वर्षे कोर्स चार लाख रुपैयाँमा अध्यापन गराइरहेको उनले बताए । ‘विद्यार्थीले चारलाख तिरेपछि सबै सुविधा हामीले दिन्छौं, त्यो बाहेक कुनै पनि बहानामा केही शुल्क लिंदैनौं’ कलेज प्रमुख आचार्यले भने ।

तुलसीपुर मेट्रो कलेजमा बाजुरा, बैतडी, डडेलधुरा, जुम्ला, मुगु, कालिकोट, रोल्पा, रुकुम, सल्यान, बाँके, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, गुल्मी, सिराहा, बारालगायत जिल्लाका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?