+
+

जाँचबुझ आयोगले बुझायो यती एयर दुर्घटनाको अन्तिम प्रतिवेदन

अच्युत पुरी अच्युत पुरी
२०८० असोज ५ गते १९:१०
फाइल तस्वीर

५ असोज, काठमाडौं । १ माघ २०७९ का दिन काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन–एएनसी जहाज पोखरामा दुर्घटनामा परेपछि गठित जाँच आयोगले बिहीबार फाइनल प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको छ ।

मन्त्रालय र आयोग दुवैले यो प्रतिवेदन गोप्य राखेका छन् । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार यो प्रतिवेदन अझै ६० दिन गोप्य नै राखिने भएको छ । त्यस अवधिमा सरोकारवाला निकाय/मुलुकमा यो प्रतिवेदनको मस्यौदा पठाइने र प्रतिक्रिया लिइने छ । यो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड हो । त्यसपछि भने यो प्रतिवेदन सम्बन्धित निकाय तथा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिने छ ।

यसअघि आयोगले फागुन पहिलो साता दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा मानवीय त्रुटि मुख्य कारण रहेको निष्कर्ष निकाल्दै थप अध्ययन गर्ने बताएको थियो ।

जाँचबुझ आयोगका संयोजक नागेन्द्र घिमिरेले प्रारम्भिक प्रतिवेदन ककपिट भ्वाइस रेकर्डरका आधारमा निकालिएको र फाइनल प्रतिवेदनमा भने अन्य विभिन्न पक्षको समेत गहन अध्ययन गरिएको जानकारी दिए ।

यद्दपि दुर्घटना के कारणले भयो र आगामी दिनमा यस्तो हुन नदिने के सुझाव दिइयो भन्ने विषय भने अहिले सार्वजनिक गर्न नमिल्ने उनले अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

जहाज दुर्घटना अध्ययनको फाइनल प्रतिवेदन ६० दिन अगाडि सार्वजनिक गर्न नमिल्ने प्रावधान रहेको भन्दै उनले सरोकारवालाबाट सुझाव लिइसकेपछि भने मन्त्रालयले त्यो अगाडि पनि सार्वजनिक गर्न सक्ने उनले बताए । प्रारम्भिक प्रतिवेदनपछि दुर्घटनाको भग्नावशेषबाट ३ सय किलो तौलका विभिन्न उपकरण फ्रान्सको ल्याबमै पुर्‍याएर अध्ययन गरिएको भन्दै उनले त्यसले दुर्घटनाको कारण यकिन गर्न सहयोग गरेको घिमिरेले बताए ।

१ माघ २०७९ का दिन पोखरामा भएको जहाज दुर्घटनामा काठमाडौंबाट ककपिटमा प्रशिक्षक पाइलट कमल केसी र क्याप्टेन अन्जु खतिवडा थिए । जहाजको कमाण्ड भने क्याप्टेन खतिवडासँग थियो । यो जहाज १०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ५ सय फिटको उचाइमा ओर्लिसकेको थियो । ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग ‘थ्रीजीरो’बाट अवतरण गर्न अनुमति दिएका थिए ।

तर, पाइलटले उत्तरतर्फको रनवे ‘वानटू’बाट जहाज अवतरण गराउने गरी अनुमति मागेका थिए । सोही अनुसार एटीसीले अनुमति दिएका थिए । सो बेला पोखराको मौसम खुलेको थियो । बादल थिएन । जहाज १०ः५७ः३२ सेकेन्डमा भुँइमा बजारिएको थियो । त्यसको ठिक अगाडि १०ः५७ः१८ सेकेण्डमा को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख थियो ।

दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात् जहाज मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुँइमा झरेको थियो । यो अवस्था कसरी आयो भन्नेबारे विस्तृत प्रतिवेदनमा उल्लेख भएको बताइएको छ । सो दिन उही चालक दलका सदस्यको यो तेस्रो उडान थियो । जहाज भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो । दुर्घटनामा परि चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो । यो नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा विनासकारी दुर्घटना हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?