
७ असोज, जुम्ला । जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्पोरेट योजना तथा अनुगमन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लालाई पठाएको पत्र अनुसार जुम्ला विमानस्थल विस्तार गर्न ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैयाँ ६१ पैसा स्वीकृति भएको छ ।
जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीका अनुसार सो कार्यक्रम स्वीकृत भई आएको छ । विमानस्थलको जग्गा अधिकरण गरिसकेपछि विस्तार कार्यक्रम अन्तर्गत धावनमार्ग, ट्याक्सी वे र एप्रोन निर्माणको काम गरिने छ ।
प्राधिकरणले जुम्लासहित ७ वटा विमानस्थलमा भेहीकलबाट पानी भर्ने व्यवस्थाका लागि एकमुष्ट ४० लाख बजेट विनियोजन समेत गरेको छ । यो बजेटबाट प्रतिविमानस्थल ५ लाख ७१ हजार ४२८.५७ पैसा रकम प्राप्त हुनेछ ।
अहिले जुम्ला विमानस्थलमा साना ट्वीनअटर जहाज बस्न सक्छ । विमानस्थल विस्तार गरी ठूला जहाज बसाल्न सक्ने बनाउन स्थानीयले माग गर्दै आएका छन् । जुम्ला साविक कर्णालीको सदरमुकाम पनि हो ।
प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले विमानस्थल विस्तार गर्न सो बजेट स्वीकृत भई पत्र प्राप्त भएको जानकारी दिए । उनले विमानस्थल विस्तार गर्न कार्यालय, स्थानीय नागरिक र सरोकारवाला निकायको सहयोग आवश्यक रहेको समेत बताए ।
सांसद लामाले भने, ‘आफ्नो जिल्लाको विकासका लागि सबै नागरिकले चासो लिनु आवश्यक छ, सक्रियता र चासो देखाएमा यो ठाउँको विकास र उन्नति कसैले रोक्न सक्दैन ।’
उनका अनुसार गत वर्ष एक करोड रुपैयाँ रकम आएको थियो । तर, काम सुरु हुन नसक्दा फ्रिज भएको थियो ।
प्रतिक्रिया 4