+
+

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ सेनाको गार्ड अफ अनर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते ९:३८

८ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज बिहान चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव लगायत मन्त्रीहरु पनि सहभागी छन् । उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले सलामीसहित गार्ड अफ अनर प्रदान गरेको थियो । गार्ड अफ अनरपछि द्विपक्षीय भेटवार्ता जारी छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए ।

समकक्षी ली छ्याङसँगको भेटअघि प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता भएको थियो ।

चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?